काबुलमा उपराष्ट्रपतिलाई लक्षित बम विष्फोट, कम्तीमा १० को मृत्यु

काठमाडौं । अफगानिस्तानको राजधानी सहर काबुलमा उपराष्ट्रपतिलाई लक्षित गरी बम विष्फोट भएकाे छ । उपराष्ट्रपति अमरुल्लाह सलेहलाई लक्षित गरी गराइएको उक्त विष्फोटमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । अफगानिस्तानको गुप्तचर संस्थाको प्रमुख बनिसकेका सलेहले आफू उक्त आक्रमणबाट बचेको र आफ्नो अनुहार तथा हातमा सामान्य चोट लागेको बताएका छन् ।

अहिले तालिबान र सरकारको बीचमा वार्ताको तयारी भइरहेको समयमा यो विष्फोट गराइएको हो । सलेह अफगानिस्तानमा तालिबानको विरोधीको रुपमा रहँदै आएका छन् । सलेह यसअघि भएका विभिन्न हत्याको प्रयासबाट पनि बच्दै आएका छन् । गत वर्ष पनि उनको हत्या गर्ने प्रयासले गरिएको आक्रमणमा उनको कार्यालयको २० जनाको मृत्यु भएको थियो ।

यद्यपि तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले यो आक्रमणमा संगठनको कुनै संलग्नता नरहेको बताएका छन् । अफगानिस्तानको आन्तरिक मन्त्रलयका प्रवक्ता तरेक अरेनले सलेह कामको लागि बाहिर निस्किँदै गर्दा उनलाई लक्षित गरी विष्फोट गराइएको र यो आक्रमणमा १० जनाको मृत्यु हुनुका साथै उनका बडिगार्डसहित १५ जना मानिसहरु घाइते भएको जनकारी दिएका छन् । स्रोत : बीबीसी

Facebook Comments