चीनले भूमि मिचेको विरोधमा जनकपुरमा प्रदर्शन

काठमाडाैँ । हिन्दूवादी नेता विनय यादव नेतृत्वको राष्ट्रिय एकता अभियानले चीनले नेपाली भूमी मिचेको विरोध गर्दै शुक्रबार जनकपुरमा प्रर्दशन गरेको छ ।

चीनले नेपालको रुइ गाउँ कब्जा गरेको र सगरमाथा आफ्नो भएको दाबी गरेको खबर सार्वजनिक भएपछि त्यसका विरुद्ध अभियानले देशव्यापी विरोध प्रर्दशन शुरु गरेको छ । गत हप्ता अभियानले चीनलाई उक्त भुमी छोड्न दबाव दिदैं काठमाडौँ र विरगञ्जमा पनि प्रदर्शन गरेको थियो ।

अभियन्ता मनिष हिन्दूको नेतृत्वमा जनकपुरको जनक चौकमा शुक्रबार भएको प्रदर्शनमा चिनियाँ दलाली बन्द गर, रुइ गाउँ फिर्ता गर, देश बेच्न पाईदैन, गैरजिम्मवार अभिव्यक्ति दिने परराष्ट्रमन्त्री मुर्दाबाद लगायतका नारा लागेको थियो । प्रदर्शनकारीहरुले चीनले नेपालको सिमा मिच्दा र पूरै गाउँ कब्जा गर्दा पनि गैर जिम्मेवार अभिव्यक्ति दिएको भन्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको तस्विरसमेत जलाएका थिए ।

प्रदर्शनकारीहरुले सगरमाथा नेपालको भएको भन्दै सगरमाथा आफ्नो देशमा भएको दाबी गर्ने चीनविरुद्ध चर्का नाराबाजी गरेका थिए । कार्यक्रममा प्रदर्शनकारीहरुले परराष्ट्रमन्त्री चीनको एजेन्डामा चलेको भन्दै उनको बर्खास्तीको समेत माग गरेका थिए । उनीहरुले प्रदीप ज्ञवालीलाई बर्खास्त नगरे आफ्नो आन्दोलन अझै चर्को बनाउँदै लैजानेसमेत बताएका थिए ।

Facebook Comments