बस्नेत, श्रेष्ठ र खनालविरुद्ध अपहरणकाे उजुरी दर्ता

काठमाडौँ । नेपाल प्रहरीका पूर्व आइजीपी सर्वेन्द्र खनालसहित ४ जनाविरुद्ध काठमाडौं प्रहरीमा अपहरण तथा शरीर बन्धक अभियोगमा उजुरी दर्ता भएको छ । समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवको अपहरणमा संलग्न भएको अभियोगमा पूर्व आईजीपी खनालसहित सत्तारुढ नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) तथा नवीन बस्नेतविरुद्ध शुक्रबार अपहरण कसुरमा उजुरी दर्ता भएको हो ।

यसैगरी अपहरण आरोपित चारैजनाले पीडित भनिएका सांसद यादवसहित पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र विश्वदीप पाण्डेविरुद्ध साईबर अपराध अभियोगमा दिएको उजुरी पनि परिसरमै मुद्दा दर्ता भएको छ । वैशाख १० गते राति महोत्तरीबाट पूर्वआइजीपी खनाल तथा सांसदद्वय बस्नेत र श्रेष्ठ तथा अर्का व्यक्ति नवीन बस्नेतले जबर्जस्ती यादवलाई काठमाडौं ल्याएको भन्दै काठमाठौं सरकारी वकिलका कार्यालयमा अपहरण तथा शरीर बन्धक अपराधमा मुद्दा दर्ता भएका थियो ।

सरकारी वकिलको कार्यालयले त्यही मुद्दा अनुसन्धानका लागि शुक्रबार काठमाडौं प्रहरीलाई पठाएको हो । परिसरका एसएसपी श्यामलाल ज्ञवालीले पूर्वआइजीपी खनालसहित चारजना विरुद्ध अपहरण तथा शरीर बन्धक अभियोगमा मुद्दा दर्ता भएकोले अनुसन्धान अघि बढाइएको बताए । यसैगरी अपहरणकारी भनिएका चारैजनाका तर्फबाट पीडित भनिएका यादव, पूर्वप्रधानमन्त्री भट्टराई र पाण्डेविरुद्ध पनि साइबर अपराधको कसुरमा मुद्दा दर्ता भएको एसएसपी ज्ञवालीले बताए ।

‘दुवैले एकअर्कालाई अभियुक्त बनाएर गरेको उजुरी प्रहरीमा दर्ता भएको छ,’एसएसपी ज्ञवालीले भने, ‘अब प्रमाण जुटाउने काममा लाग्छौं, आवश्यकताअनुसार हिरासतमा लिएर वा बाहिरै राखेर के–कसरी हुन्छ, कसुरबारे सुक्ष्म अनुसन्धान गर्छौं ।’

प्रहरीले पूर्वआइजीपी खनाल र सांसदद्वय बस्नेत र श्रेष्ठ विरुद्धको मुद्दा दर्ता गर्न मानेको थिएन । त्यसपछि यादव मुद्दा लिएर सरकारी वकिल र राष्ट्रिय मानवअधिकार आयोग पुगेका थिए । त्यसैगरी आरोपित बनाइएको पक्ष पनि आफ्नो मानहानी गरेको भन्दै साइबर अपराधको कसुरमा यादवसहित ३ जना विरुद्ध कारबाहीको माग गर्दै आयोग र सरकारी वकिलकै कार्यालयमा पुगेर उजुरी दर्ता गराएका थिए। कान्तिपुर दैनिकबाट

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.