कहिले सकिँदैछ आइजीपी ज्ञवालीको कार्यकाल?

काठमाडौं । अबको ८ दिनपछि नेपाल प्रहरीले नयाँ कमाण्डर पाउँदैछ । हालका प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले २४ असारपछि ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकाश पाउनेछन् ।

ज्ञवाली घर गएसँगै २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका अधिकृतको समूहबाट एक जनाले २८ औं महानिरीक्षक बन्ने अवसर प्राप्त गर्नेछन् । प्रहरी नियमावलीले प्रहरी अतिरिक्त महानिरीक्षक–एआईजी वा प्रहरी नायब महानिरीक्षक–डीआईजी (एआईजी नभएको अवस्थामा) मध्येबाट आईजीपीमा बढुवा गर्न सक्ने व्यवस्था गरेको छ ।

जानकारहरुका अनुसार संगठनमा करियर प्लानिङको अभाव भएकै कारण प्रकाश अर्याल, सर्वेन्द्र खनाल र हालका आईजीपी ज्ञवाली डीआईजीबाटै आईजीपी भए । एआईजीको अनुभवविनै आईजीपी हुँदा संगठन हाँक्ने विषयमा परिपक्वता नदेखिएको कतिपय पूर्वप्रहरी अधिकृतहरुले टिप्पणी गर्दै आएका छन् ।

तर, चार वर्षपछि अब एआईजीबाट आईजीपी छनोट हुँदैछ । हाल नेपाल प्रहरीमा तारिणी लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) छन् ।
उनीहरुमध्ये लम्साल आईजीपी ज्ञवालीकै ब्याचका अधिकृत हुन् । त्यसैले क्षेत्री र पाल अब महानिरीक्षक बन्ने दौडमा छन् । उनीहरुमध्ये एक जनाले १८ वैशाख २०७९ सम्म नेतृत्व सम्हाल्नेछन्।

आईजीपी नियक्तिको समय नजिकिँदै गर्दा एआईजीद्वयले आ–आफ्नो पक्षमा लबिङ तीब्र बनाएका छन् । यद्यपि, विगतमा जस्तो एकअर्काविरुद्ध दोषारोपण नगर्ने सहमति भएको दुवैले बताउने गरेका छन् । सरकारले भने हालसम्म आईजीपी नियुक्तिबारे निष्कर्ष निकालिसकेको छैन । गृह मन्त्रालयका एक अधिकारीका अनुसार हालसम्म महानिरीक्षक नियुक्तिबारे ठोस छलफल नै भएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि त्यसबारे कुनै संकेत नदिएको उनले बताए ।

Facebook Comments