विपक्षी दलद्वारा सरकारको कडा आलोचना, बाबुराम भट्टराईले मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले शासन गर्ने नैतिक र राजनैतिक आधार गुमाइसकेको बताएको छ । कोरोना संक्रमणको विषम परिस्थितिमा पनि भ्रष्टाचारका विषय सार्वजनिक हुनु, सरकार लोकतान्त्रिक मुल्य मान्यता र संविधानको भावना विपरित क्रियाकलापमा संलग्न हुनु तथा सांसद जस्तो आवाञ्छित र अपराधिक गतिविधिमा संलग्न हुनुले सरकारको नैतिक र राजनैतिक आधार गुमेको निष्कर्ष कांग्रेसको छ ।

त्यसैगरी कांग्रेसले सकरारको अधिनायकवादी नियत विरुद्ध निरन्त लड्ने चेतावनी पनि दिएको छ । संघीय संसदको छटौ अधिवेशन अर्थात बजेट अधिवेशनको पहिलो दिन शुक्रबारको प्रतिनिधिसभा बैठकमा शुभकामना मन्तव्य दिदै प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले सरकारले शासन गर्ने नैतिक र राजनैतिक आधार गुमाईसकेको बताएका हुन्।

उनले भने “विषम परिस्थितिमा भ्रष्टाचारका विषय सार्वजनिक हुनु, सरकार लोकतान्त्रिक मुल्य मान्यता र संविधानको भावना विपरित क्रियाकलापमा व्यस्त हुनु , सांसद को अपहरण हुनु, आवाञ्छित र अपराधिक गतिविधि कुनैपनि रुपले स्वीकार्य हुन सक्त्तैनन् । यी विषयमा नेपाली कांग्रेसले गम्भीरता पुर्वक लिनुको साथै अत्यन्त शुक्ष्म ढंगले विशेष गरी यो सरकारले शासन गर्ने राजनैतिक र नैतिक आधार गुमाईसकेको ठहर गरेको छ । ”

समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले केपी ओली नेतृत्वको सरकारले लोकतन्त्रको छवि बिगार्ने काम गरेको बताएका छन्। संसदको बजेट अधिवेशनको पहिलो बैठकमा बोल्दै भट्टराईले सरकारले कोरोना संकटको बेला केन्द्रीकृत भएर काम गर्नु पर्नेमा पार्टी विभाजन र सांसद अपहरणजस्ता कार्यमा संलग्न भएको भन्दै यसले सरकारकै छवि बग्रिएको बताए।

उनले कुर्सीमा बसेर सत्ताको प्रयोग गर्दैमा ठूलो नहुने भन्दै उनले प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर आफ्नो उचाइ यथावत् राख्न सुझाएका छन्।

अनावश्यक गतिविधिमा संलग्न हुँदा तपाईं आफैंमाथि अन्याय भएको छ। तपाईं रोगले जीर्ण भएको व्यक्तिलाई आराम दिनुपर्छ, भट्टराईले भने, त्यसैले आफ्नै छविलाई पनि बचाएर अघि बढ्न तपाईंले राजीनामा दिनु नै उपयुक्त हुन्छ।

जनता समाजवादी पार्टीका सांसद डा. बाबुराम भट्टराईले राहतको विशेष प्याकेज ल्याउन माग गरेका छन् । उनले लकडाउनका कारण संसद बन्द भएपनि सांसदहरुले तलब भत्ता लिने तर श्रमिकहरुले उद्योगधन्दा बन्द हुँदा तलब नपाउने अवस्था आउनु लाजमर्दो भएको बताए ।

“हामीलाई लाज लाग्‍नुपर्दैन ? लकडाउनको बेलामा संसद बन्द गरेर बस्यौं । तपाईं हामीले पुरै तलब भत्ता खाने तर श्रमिकलेचाहीँ नपाउने ?,” भट्टराईको प्रश्न थियो ।

जर्मनमा बन्द भएका उद्योगका श्रमिकको सबै ज्याला सरकारले तिरिदिएको उदाहरण दिँदै उनले नेपालमा उद्यमीसँग कुरा गरेर सरकार र उद्योगीले ५०(५० दिएर पनि श्रमिकको पेट पाल्न सक्नुपर्ने बताए ।

राजपा नेपालका सांसद राजेन्द्र महतोले दुई तिहाईको सरकारले जनतालाई कोरोनाबाट जोगाउन दुई कौडीको काम समेत नगरेको टिप्पणी गरेका छन्। उनले शक्तिकाली सरकारले जनतालाई बचाउन नखोजेको बताए। उनले १०१ जनामा कोरोना पनि जाँच नभएका कारण भएको उल्लेख गरे।
एकै परिवारका १७ जनालाई देखिएको छ, महतोले भने,दलका नेताले भन्दियो १०१ न हो संक्रमित। कति गर्‍यो जाँच? विदेशबाट आएका जतिको जाँच गर्‍यो? छैन। एउटा परिवारबाट १७ निस्कन्छ। कछुवाको गतिमा कोरोना टेस्ट गर्ने अनि छैन भनेर पीठ थपथपाउने। यो धन्दा ठिक भएन। व्यापक परीक्षण गराउनुपर्छ।

उनले सरकार कोरोनाको विषयमा ध्यान नदिएर पार्टी फूटाउने धन्दामा लागेको बताए।

उनले सरकारले अपहरणकारीलाई कारवाही गर्न निवेदन दिदाँ नलिएर हुकुमी शासन लागू गरेको बताए।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकार कुनै पनि प्रकारको आपराधिक कार्यको पक्षमा नरहेको स्पष्ट पारेका छन्। प्रतिनिधिसभा बैठकमा शुभकामना मन्तव्य दिदै उपनेता नेम्वाङले सरकार संविधान कार्यान्वयनमा प्रतिवद्ध रहेको र आपराधिक कार्यको पक्षमा नरहेको बताए ।

प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका नेता शेरबहादुर देउवाले बैठकमा बोल्दै सांसद अपहरण जस्तो अवाञ्छित र आपराधिक गतिविधिमा सरकार संलग्न रहेको आरोप लगाएपछि उपनेता नेम्वाङले सरकारको बचाउ गरे । उनले, सांसद अपहरण’को यथार्थ यसै अधिवेशनमा आउने पनि बताए ।

उनले भने “सांसदको अपरहणको कुरा विवादै छैन । कुनै पनि नाममा यस्ता खालका कामहरु हुनु हुदैन । तर भएको के हो ? यथार्थ के हो ? त्यस सम्बन्धी कुराहरु पनि यही संसद चल्दा चल्दैको अवस्थामा यथार्थ कुरा आउँछ भन्ने मलाई विश्वास छ । हामी कुनै प्रकारका आपराधिक कार्यहरुको पक्षमा छैनौ । ”

उनले घुमाउरो शैलीमा सरकार जवाफदेही र पारदर्शी भएको दाबी पनि गरे । उनले भने “यो अधिवेशनले एउटा राम्रो निष्कर्षमा हामीलाई पुराउन सकोस् । देशलाई जवाफदेहीता र पारदर्शीताको टुंगोमा, निष्कर्षमा पुर्याउन यो अधिवेशनले महत्वपुर्ण भूमिका निर्वाह गर्न सकोस् । यसमा हाम्रो भुमिका रहन्छ । हाम्रो सहयोग रहन्छ । ”

Facebook Comments