काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तेस्रो दिनको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली केहीबेर बसेर बाहिरिएका छन्। स्राेतका अनुसार प्रधानमन्त्री वा अध्यक्ष पद मध्ये एक पद राेज्नुपर्ने विषयमा बहस हुने चाल पाएपछि बैठकबाटै ओली हिंडेका हुन्।
प्रधानमन्त्री ओली शनिबार बैठक कक्षमा रहुन्जेल नेताहरूले कुर्सी, सोफा र बसाइको व्यवस्थापनबारेमा नै गलफती गरे । शुक्रबार नेताहरूले विरोध गरेपछि प्रधानमन्त्री एवम् अध्यक्ष ओली र अर्का अध्यक्ष दाहाल बस्ने सोफा हटाएर कुर्सी राखिएको थियो । त्यसपछि नेता लेखराज भट्टले प्रधानमन्त्रीलाई कठिन हुने भएकाले सोफाको व्यवस्था गर्नुपर्ने बताए । ‘सबैलाई निरपेक्ष समानता कहाँ हुन्छ र, प्रधानमन्त्रीज्यूलाई कुर्सीमा बस्न अप्ठ्यारो भयो,’ नेता भट्टको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘म पनि ६० वर्ष भइसकें । यो डाइनिङमा राख्ने कुर्सीले भएन अलि सजिला कुर्सीहरूको व्यवस्था गर्नुपर्यो ।’ भट्टको भनाइमा नेता टोपबहादुर रायमाझीले पनि सही थापेका थिए ।
रघुवीर महासेठले स्थायी कमिटी बैठकमा मन्त्री, सचिवालय सदस्यहरू र स्थायी कमिटी सदस्यहरू छिर्ने ढोका छुट्टाछुट्टै भएको भन्दै विरोध जनाएका थिए । ‘मन्त्री र सचिवालय सदस्यहरू पस्न छुट्टै ढोका छ, हामी स्थायी कमिटी सदस्यहरू आउँदा अर्काे ढोकाबाट स्क्रिनिङ गरेर भित्र पस्नुपर्छ,’ महासेठले भने, ‘कोरोना लागे त सबैलाई लाग्छ होला नि, किन यस्तो विभेद हो ?’ त्यसपछि बल्ल प्रधानमन्त्री ओलीले एक वाक्य बोलेका थिए । उनले महासठेलाई जवाफ दिँदै भने, ‘सब बराबर हुनुपर्छ ।’
ओलीलाई सहज होस् भनेर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा राखिएको स्थायी समिति बैठकमा शुक्रबार पनि उनी उपस्थित भएनन् । स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने बिषयमा कुरा उठ्ने भएपछि उनी अनुपस्थित भएको अड्कलबाजी पनि नेकपा बृत्तमा गरिएको छ। पहिलो दिनको बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मन्तव्य राखेर स्थगित भएको थियो । पहिलो दिनको बैठकमै अध्यक्षद्वयले एकअर्कालाई घोचपेच गरेका थिए । प्रधानमन्त्री ओलीले सरकारले राम्रा काम गरेको तर पार्टीले बिरोध गरेकोमा असन्तुष्टी प्रकट गरेका थिए ।
शुक्रबारको बैठकमा आफू उपस्थित् हुन नसक्ने र बैठक सञ्चालन गर्न अध्यक्ष दाहाललाई महासचिव विष्णु पौडेलमार्फत सन्देश पठाएका थिए ।अहिले बैठकको अध्यक्ष अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले गरिरहेका छन् । ओली बैठकबाट बाहिरिएलगत्तै अर्का अध्यक्ष दाहालले स्वास्थ्यका कारण ओली बैठकमा नबसेको कुरा नेताहरुलाई जानकारी गराएका थिए । गत बुधबारदेखि सुरु नेकपाको पाँचौं स्थायी कमिटीको बैठकमा सरकार र पार्टीको कामको समिक्षा, सिमा विवाददेखि लिएर एमसीसीका सम्बन्धमा छलफल हुँदैछ । हिजो सिमा विवादको सम्बन्धमा छलफल भएको थियो । हिजोको बैठकमा १८ जना सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए ।
Facebook Comments