तत्कालीन एमालेले मलाई कारबाही गरेर अन्याय गर्याे: बामदेव

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तेस्रो दिनको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली केहीबेर बसेर बाहिरिएका छन्। स्राेतका अनुसार प्रधानमन्त्री वा अध्यक्ष पद मध्ये एक पद राेज्नुपर्ने विषयमा बहस हुने चाल पाएपछि बैठकबाटै ओली हिंडेका हुन्।

प्रधानमन्त्री ओली शनिबार बैठक कक्षमा रहुन्जेल नेताहरूले कुर्सी, सोफा र बसाइको व्यवस्थापनबारेमा नै गलफती गरे । शुक्रबार नेताहरूले विरोध गरेपछि प्रधानमन्त्री एवम् अध्यक्ष ओली र अर्का अध्यक्ष दाहाल बस्ने सोफा हटाएर कुर्सी राखिएको थियो । त्यसपछि नेता लेखराज भट्टले प्रधानमन्त्रीलाई कठिन हुने भएकाले सोफाको व्यवस्था गर्नुपर्ने बताए । ‘सबैलाई निरपेक्ष समानता कहाँ हुन्छ र, प्रधानमन्त्रीज्यूलाई कुर्सीमा बस्न अप्ठ्यारो भयो,’ नेता भट्टको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘म पनि ६० वर्ष भइसकें । यो डाइनिङमा राख्ने कुर्सीले भएन अलि सजिला कुर्सीहरूको व्यवस्था गर्नुपर्‍यो ।’ भट्टको भनाइमा नेता टोपबहादुर रायमाझीले पनि सही थापेका थिए ।

रघुवीर महासेठले स्थायी कमिटी बैठकमा मन्त्री, सचिवालय सदस्यहरू र स्थायी कमिटी सदस्यहरू छिर्ने ढोका छुट्टाछुट्टै भएको भन्दै विरोध जनाएका थिए । ‘मन्त्री र सचिवालय सदस्यहरू पस्न छुट्टै ढोका छ, हामी स्थायी कमिटी सदस्यहरू आउँदा अर्काे ढोकाबाट स्क्रिनिङ गरेर भित्र पस्नुपर्छ,’ महासेठले भने, ‘कोरोना लागे त सबैलाई लाग्छ होला नि, किन यस्तो विभेद हो ?’ त्यसपछि बल्ल प्रधानमन्त्री ओलीले एक वाक्य बोलेका थिए । उनले महासठेलाई जवाफ दिँदै भने, ‘सब बराबर हुनुपर्छ ।’

त्यस्तै बैठकमा उपाध्यक्ष गौतमले आफूले २५ वर्षदेखि उठाएको कुरामा अहिले आएर सरकारले निर्णय गरेको भन्दै आफूलाई धन्यवाद दिन प्रस्ताव गरेका छन् । ‘त्यतिखेर मैले महाकाली सन्धि गलत छ, यसको मुहान पनि पहिल्याऔं भन्दा मसहित १६ जनालाई कारबाही गरियो, अहिले आएर पार्टी त्यही लाइनमा गयो,’ उनले भने, ‘त्यतिखेर तत्कालीन एमालेले मलाई कारबाही गरेर अन्याय गरेको छ, यो स्थायी कमिटीले निर्णय गरेर न्याय दिलाओस् ।’

गौतमले त्यतिखेर महाकाली सन्धिको विरोध गर्दा संसद्मा झन्डै कुटाकुट भएको स्मरणसमेत गरेका थिए । उपाध्यक्ष गौतमले अहिले लिम्पियाधुरासहितको नक्सा जारी गरेर सरकारले वाहवाही कमाएको उल्लेख गर्दै अरू विषयमा पार्टीको निर्णय मान्न सुझाव दिए । ‘पार्टीको एउटा निर्णयलाई मात्रै काँध थाप्दा पनि सरकार लोकप्रिय हुँदो रैछ, अरू पनि पार्टीको निर्णय मान्ने गर्नुस्,’ उनले भने ।

उपाध्यक्ष गौतमले कालापानीबाट सेना हट्नु नै नेपालको सफलता हुने जनाउँदै त्यसका लागि वार्ताको पहल गर्नुपर्ने बताएका थिए । गौतमसहित अरू स्थायी कमिटी सदस्यहरूले पनि भूमि फिर्ता गराउन पहल गर्नुपर्नेमा जोड दिए । स्थायी कमिटी सदस्य सुवास नेम्वाङले सीमा विवादलाई अन्तर्राष्ट्रियकरण गरिनुपर्ने कुरा आएको भन्दै त्यसका लागि अहिले नै उपयुक्त समय भने नभएको बताए । ‘यहाँ सीमा समस्यालाई अन्तर्राष्ट्रियकरण गरौं भन्ने कुरा पनि उठे, त्यसका लागि विधि र प्रक्रिया हुन्छन्,’ उनले भने, ‘अहिले बहस त्यतापट्टि मोड्नुभन्दा पनि भारतसँग जतिसक्दो छिटो वार्ता गरेर समस्या समाधानतिर लाग्नु नै उपयुक्त हुन्छ ।’ देवेन्द्र पौडेलले पनि अहिले नै अन्तर्राष्ट्रिय अदालतमा जाने कुरा गरेर उत्तेजित हुन नहुने बताएका थिए ।

जनार्दन शर्माले राष्ट्रियता, जनतन्त्र र जनजीविकामध्ये राष्ट्रियताका सवालमा सबै एकजुट भए पनि जनतन्त्र र जनजीविकाबारे चासो नराखिएको गुनासो गरे । रघुजी पन्तले भारतकै हेपाहा व्यवहारका कारण नेपालमा भारतविरोधी भावना बढेको टिप्पणी गरे ।

Facebook Comments