जाजरकोटमा समुदाय स्तरमै कोरोना पुष्टि

जाजरकोट । जाजरकोटको बारेकोटमा ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । बारेकोट ५ का ती पुरुष लामो समयदेखि घरमै बसिरहेका थिए । भारत लगायत तेस्रो मुलुक नगएको र क्वारेन्टाइनमा पनि नबसेका उनमा कोरोना संक्रमण देखिएपछि समुदाय स्तरमा कोरोना फैलिएको आशंका गरिएको छ । स्थानियमा त्रास फैलिएको छ ।

त्यस्तै छेडागाडमा कोरोना संक्रमण देखिएका दुई पुरुष पनि लामो समय देखि जिल्लामै रहेका थिए । क्वारेन्टाइनमा बसेकाको रिपोर्ट नेगेटिभ आउने तर समुदायमा रहेकाको परीक्षण गर्दा कोरोना पुष्टि हुनुले समुदाय स्तरमा फैलिसकेको डाक्टर भुपेन्द्रप्रकाश मल्लले बताए । कोरोना समुदाय स्तरमा फैलिएको हुन सक्छ । यस्तो बेला लापरवाही गरियो र परीक्षणको दायरा बढाइएन भने खतरा हुन सक्छ । बारेकोट र छेडागाडमा कोरोना पुष्टि भएकाको सम्पर्कमा गएकाको कन्ट्रयाक ट्रेसिङ्ग गरेर परीक्षण गर्नु पर्ने उनको भनाइ छ ।

हालै भारतबाट आएका चार हजारमध्ये करीव दुई हजारको परीक्षण गरिएकोमा ११ जनाको रिपोर्ट मात्र पोजिटिभ आएको छ । त्यसमध्ये पनि चार जना जिल्लामै रहेका र तीन जना बाँकेको कोहलपुरबाट आएका थिए । कोहरपुरबाट आएका ती संक्रमित एक मस्जिद जाने गरेको खुलेको छ । एकै घरका तीन जनामा संक्रमण देखिएको थियो ।

कोरोना जितेर आइतबार मात्र अस्पतालबाट फर्किएका बारेकोटका एक प्रहरी अधिकृत पनि जिल्लामै रहेका थिए । बारेकोटमा दुई जना संक्रमितले कोरोना जितेर घर फर्किएका छन् । त्यस्तै छेडागाडका एक बैक मेनेजर र वडाध्यक्षको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि होम क्वारेन्टाइनमा बस्ने गरि घर पठाइएको छ । उनीहरुको सम्पर्कमा को-को आए अहिलेसम्म कन्ट्रयाक ट्रेसिङ्ग नभएकोले स्थानीय त्रासमा छन् ।

गाउँमा आइसोलेशन नभएको, कोरोनाको पिसिआर परीक्षण गर्ने ठाँउ नभएको, सुर्खेत पठाउँदा हप्तौ समय लाग्ने, चेतनाको अभाव लगायतका कारण कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको स्वास्थ्यकर्मीको आशंका छ ।

Facebook Comments