लकडाउनले गरिब जनताका लागि निम्त्यायाे भाेकमरी, कसले सुन्ला वेदना?

जनकपुरधाम । जनकपुरधाम उपमहानगर–१९ बेंगाशिपुरका बद्री महराको तेस्रो पुस्ता हुर्किसकेको छ। तर, कसैले शिक्षा पाएका छैनन्। एक छोरा ४ छोरीमध्ये दुई छोरीको बिहे भइसकेको छ। दुई छोरी घरमै आमाबुबासँगै बनिबुतो गरेर दुई÷चार पैसा आर्जन गर्छन्। छोरा भने बरालिएर हिँड्छन्। सम्पत्तिको नाममा गाउँ ब्लकको जग्गामा ५ धुरमा बनेको घर छ, दिनभरि कमाए राति घरमा चुलो बल्छ, काम नपाए खान पुग्दैन।’

महराले भने, ‘अरूको काम नगरी हामीलाई खान पुग्दैन, बाहिर निस्कने वातावरण छैन, घरमा बसेर खाने अन्न छैन, राति भोकभोकै सुत्नुपरेको छ, नगरपालिकाले दिएको राहत १० दिनमै सकियो, लकडाउन भएदेखि कसैले काम दिँदैन। मालिकको घरमा गए तिमीहरूलाई कोरोना लाग्या होला जा भन्दै घृणा गर्दै लखेट्ने गरेको उनले बताए। ‘लकडाउनमा दिएको राहतले मात्रै गुजारा नचल्ने भएपछि भोकभोकै कतिदिन बस्नु भनेर तीन रुपैयाँ सेयकडामा ५ हजार ऋण ल्याएर गुजारा गर्दै छु’, उनले भने।

जनकपुर–७ का चलितर सदाले हातगोडा बलियो हुँदा अरूकै खेतमा काम गरेर ५ छोरी र एक छोरा हुर्काए। श्रीमती र छोरीहरूले पनि सघाउँथे, पछि दुई छोरीको बिहे भएपछि परिवारमा थोरै समस्या हटे पनि थप दुई छोरीको बिहेबारीका लागि उनी चिन्तित छन्। सदाले भने, ‘लकडाउनमा परिवार पाल्न धेरै गाह्रो भो, राहत त दियो तर त्यो १५ केजी चामल कति दिन चल्थ्यो, परिवारमा समस्या भएपछि अरूसँग मागेर घर चलाएँ, अब कसरी ऋण चुक्ता गर्नु कि पेट पाल्नु चिन्ता छ।’

उनको घरबाहेक सम्पत्तिको नाममा केही छैन। स्थानीय विनोद सदाले फुसको घर देखाउँदै भने, ‘यी हेर्नुहोस्, वर्षौंदेखि हाम्रो घर यस्तै छ, शीत छल्नै मुस्किल हुन्छ।’

जनकपुर उप–महानगरपालिका–७ जानकीनगरका विपन्न र दीनहीन मुसहर बसेको ३० औँ वर्ष भयो। तर, कसैको आँखा परेको छैन। न गतिलो ओत छ न त आङ ढाक्ने कपडा नै ! अझ अढाई महिनाको लकडाउनमा काम नपाएर चुलो बल्न सकेको छैन, भोकै सुत्न विवश छन्। ‘छोराछोरीलाई स्कुल पठाउन सकेको छैन, पैसा भए पो पठाउनु, बालबच्चालाई खुवाउन त पैसा हुँदैन, फेरि विद्यालय पठायो, शिक्षक पनि आउँदैनन्,’ पुलकित सादले दुखेसो पोखिन्।

साहुले उधारो पत्याउँदैनन्, काम बन्द नहँुदा काम गरेर पनि तिर्छन् भनेर उधारो दिन्थे, अहिले उधारो पत्याउन छाडे, रोगभन्दा पनि भोकले मरिने डर लागिरहेको छ’, स्थानीय धनकला सदाले भनिन्। बजार खुल्दा माछा, घोंघी बेचेर दैनिक २ सय रुपैयाँसम्म कमाउने उनी बजार नै बन्द भएपछि छाक टार्ने समस्या भएको बताउँछिन्।

प्रदेश २ का ८ जिल्ला समथर र सुगम भएर पनि भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारीको मामिलामा पछि परेको छ। प्रदेशको नीति तथा योजना आयोगका अनुसार बहुआयामिक गरिबी दर ४७ दशमलव ९ प्रतिशत छ। समग्र नेपालको २८.६ प्रतिशत बहुआयामिक गरिबी रहेकामा प्रदेश २ मा मात्र झण्डै ४८ प्रतिशत गरिबी छ। बहुआयामिक गरिबीमा प्रदेश २ सातै प्रदेशमा दोस्रो छ। बहुआयामिक गरिबी भन्नाले हरेक दृष्टिकोणबाट पछि परेको समूहलाई गरिबलाई जनाउँछ। बस्ने, खाने, लगाउनेदेखि बिरामी हुँदा उपचारसम्म गराउन नसक्ने अवस्थालाई बहुआयामिक गरिबको सूचीमा राखिएको छ।

आर्थिक गरिबी दर प्रदेशमा २७.७ प्रतिशत छ। यो प्रतिशत पनि समग्र नेपालको भन्दा बढी हो। समग्र नेपालको आर्थिक गरिबी २५.२ प्रतिशत छ। आर्थिक गरिबी दरमा प्रदेश २ सातै प्रदेशमा तेस्रो नम्बरमा छ। यो प्रदेश मानव विकास सूचकांकमा भने सातै प्रदेशको तल्लो पुछारमा छ। प्रदेश नीति आयोगका अनुसार समग्र नेपालमा शून्य.४९० मानव विकास सूचकांकको दर रहे पनि प्रदेश २ को ०.४२१ प्रतिशत छ। नीति आयोगको तथ्यांकअनुसार प्रदेश नै गरिब छ। तर, प्रदेश २ का ८ जिल्लामध्ये सबैभन्दा बढी बहुआयामिक गरिबी रौतहटमा रहेको तथ्यांकले देखाएको छ। प्रदेशको जनसांख्यिक स्थिति पुस्तिकामा रौतहट जिल्लामा सबैभन्दा बढी ४६.४३ प्रतिशत गरिबी छ। अन्नपुर्ण पाेष्टबाट

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.