भारतले नेपालका ५६ वटा उच्च माध्यमिक विद्यालयको पुनःनिर्माण गर्ने

काठमाडौं । भारत सरकार द्वारा नेपालका ५६ वटा विद्यालयका भवन पुनःनिर्माण गरिने भएको छ ।

नेपालमा भूकम्प गए पश्चातको पुनःनिर्माण कार्यक्रम अन्तर्गत भारत सरकारद्वारा दुई अर्ब ९५ करोड रुपैयाँको आर्थिक सहयोगमा ५६ वटै विद्यालयहरुको पुनःनिर्माण गरिने बताइएको छ ।

पहाडी र हिमाली जिल्ला दोलखा , काभ्रेपलाञ्चोक , रामेछाप र सिन्धुपालचोक , गोरखा , नुवाकोट , धादिङ का ५६ वटा विद्यालय भवन पुनःनिर्माण हुने भएको छ । भारतीय राजदूतावास तथा शिक्षा मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजनामा कार्यान्वयन एकाइ बनाइ सात वटा सम्झौता पत्रमा दुबै पक्षको हस्ताक्षर गरिएको छ ।

भारतीय दूतावासले आज जारी गरेको विज्ञप्ति अनुसार भूकम्प प्रतिरोधी संरचना पुनःनिर्माणको क्षेत्रमा भारतकै एक प्रमुख संस्थान केन्द्रीय भवन अनुसन्धान संस्थान , रुड्कीले यी विद्यालयहरुको पुनःनिर्माणको लागि प्राविधिक सहयोग गर्ने छ ।

विज्ञप्तिमा बताइए अनुसार भूकम्प प्रतिरोधी क्षमताको लागि यी विद्यालयहरु नेपाल सरकारले तोकेको मापदण्ड अनुसारनै पुनःनिर्माण हुने छ र विद्यालयमा शैक्षिक भवन , फर्निचर , कक्षाकोठा , छात्र तथा छात्राका लागि छुट्टै सरसफाइको सुविधा लगायत पूर्वाधारमा निर्माण गरिने भएको छ ।