कांग्रेसको नीति : गठबन्धनभन्दा एमसीसी प्राथमिकतामा, ‘मुभ’ बढाउँदै प्रधानमन्त्री

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) का विषयमा पाँच दलीय सत्ता गठबन्धनमा विभाजन देखिँदै गर्दा सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेस भने गठबन्धन जोगाउनेभन्दा एमसीसी पास गर्ने नीतिमा अघि बढेको छ ।

सत्तामा बस्ने र सरकारकै निर्णयका विपक्षमा नेता कार्यकर्ता उतार्ने सत्ताधारी सहयात्री दलहरूको व्यवहारबाट आजित बनेको कांग्रेस गठबन्धन जोगाउनेभन्दा एमसीसीलाई जसरी पनि संसद्बाट पास गर्ने नीतिसहित अघि बढेको हो ।

सोही नीतिअनुसार मंगलबार प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसहितका नेताहरूसँग भेटघाट गरेका हुन् । प्रधानमन्त्री देउवालाई भेट्न ओली आफ्ना पार्टीका नेताहरूसहित बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री देउवाले आन्तरिक रूपमासमेत एमसीसी पास गर्ने गृहकार्यका लागि नेताहरूलाई खटाएका छन् भने उनले बालुवाटारमा दैनिकजसो गठबन्धनमा आबद्ध दलका नेताहरूलाई छुट्टाछुट्टै संवादसमेत जारी राखेका छन् ।

सरकारले गत ८ फागुनमा प्रतिनिधिसभा बैठकमा एमसीसीसम्बन्धी प्रस्ताव टेबल गरिसकेको छ । तर, टेबल गर्ने विषयमा सहमति दिएका दल र ती दलका शीर्ष नेतृत्व नै अहिले एमसीसीको विपक्षमा मतदान गर्ने भन्दै सरकारी नीतिकै विरोधमा छन् ।

प्रधानमन्त्रीनिकट रहेका कांग्रेसका एक नेता भन्छन्, ‘सरकारमा पनि बस्ने, सरकारको नीतिविरुद्ध पनि लाग्ने र गठबन्धन पनि जोगाउने भन्ने हुँदैन, कांग्रेसले अब विकल्पसहित अघि बढ्ने नीति लिन्छ, त्यो अवस्था बन्दै छ ।’ राजधानी दैनिकमा समाचार छ ।

Facebook Comments