माओवादी महाधिवेशन : अध्यक्षमा प्रचण्ड, वरिष्ठ उपाध्यक्ष र महासचिवमा कसले मार्ला बाजी ?

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवशेनअन्तर्गतको जारी बन्दसत्रबाट विधान मस्यौदा सर्वसम्मतिले पारित भएको छ ।

बन्दसत्रमा विधान मस्यौदा पेश गरेका स्थायी समिति सदस्य देव गुरुङले मस्यौदामाथि उठेका जिज्ञाको जवाफ दिएपछि विधान सर्वसम्मतिले पारित भएको हो ।

विधानलाई आगामी केन्द्रीय समितिले अन्तिम रुप दिने गरी विधान मस्यौदा पारित गर्न गुरुङले आग्रह गरेका थिए । विधानअनुसार अब पार्टीको केन्द्रीय समिति ५० प्रतिशत खुला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ। केन्द्रीय समिति २९९ सदस्यीय हुनेछ । यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकामा बढाएर १५ प्रतिशत पुर्याइएको छ ।

महाधिवेशनले केन्द्रीय समिति, केन्द्रीय समितिले पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी चयन गर्नेछ । पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछन् । ५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपाङ्गता, पिछडिएको क्षेत्र, महिला र युवाको ‘क्लस्टर’ बनाइएको छ । केन्द्रीय समितिमा सबै क्लस्टर र खुलाबाट गरी ३५ प्रतिशत महिला तथा २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व हुनेछ ।

यस्तै, माओवादीले बहुपदीय अवधारणा अगाडि सारेको छ । सोही अवधारणाका आधारमा नेतृत्व चयन गर्ने तयारी गरेको छ । हालसम्म अन्य नेताले अध्यक्षमा दाबी गरेका छैनन्, त्यसैले अध्यक्षमा प्रचण्ड नै दोहोरिने पक्कापक्की छ । वरिष्ठ नेतालाई उपाध्यक्षमा समेट्न लागिएको छ । यस्तै वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको बलियो सम्भावना छ । महासचिवमा पनि विभिन्न नेताहरूले दाबी गरेका छन् । यस्तै दुई उपमहासचिव, सचिव र कोषाध्यक्षसमेतमा विभिन्न वर्ग, क्षेत्र मिलाएर निर्वाचन गर्ने तयारी गरिएको छ ।

आफ्ना दुई खास सहयोगी र विश्वासपात्र जनार्दश शर्मा र वर्षमान पुन मध्ये कसलाई वा त्यसबाहेक पम्फा भुसाल वा अन्य कसैलाई भन्ने निर्णय प्रचण्डले गर्नु पर्ने भएको छ ।

दुबैलाई मिलाएर लैजाने चुनौतीको व्यवस्थापन प्रचण्डले कसरी गर्लान् भन्ने चासो व्याप्त रहँदा पुनले चीनबाटै प्रचण्डमाथि दबाब बढाएका छन् । उपचारका क्रममा रहेर महाधिवेशनमा सहभागी हुन नपाएका पुनले चीनका शक्तिशाली नेतालाई भेटेर प्रचण्डमाथि दबाब बढाएको कतिपयले अनुमान गरेका छन् ।

यता जनार्दन प्रचण्डमाथि दबाब दिन सक्ने क्षमता राख्छन् । महासचिवमा कुरा मिलेन भने चुनावमै जानु पर्नेमा उनको जोड रहेको स्रोतको दाबी छ ।

Facebook Comments