देउवाले गरे यी दश नेतालाई केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।

देउवाले नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित गरेका हुन् ।

त्यस्तै केन्द्रीय सदस्यमा मनोनित हुनेमा डा प्रकाशशरण महत, डा नारायण खड्का, सुजाता कोइराला, उमा रेग्मी र मीनबहादुर विश्वकर्मा रहेको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

नेता पौडेल, पूर्वमहामन्त्री सिटौला, परराष्ट्रमन्त्री रहेका खड्का, मन्त्री रेग्मी र विश्वकर्माले महाधिवेशनमा प्रतिस्पर्धा गरेका थिएनन् । पौडेल महाधिवेशनको निर्वाचन प्रक्रियामै सहभागी भएनन् । कांग्रेसभित्र तेस्रो धारको नेतृत्व गर्दै आएका सिटौलाले महाधिवेशनमा देउवालाई सहयोग गरेका थिए ।

निधि र सिंह सभपातिका उम्मेदवार थिए । पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि तेस्रो र चौथो मत पाएका निधि र सिंहले दोस्रो चरणको निर्वाचनमा देउवालाई समर्थन गरेका थिए । दोस्रो चरणमा देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा भएको थियो ।

नेता गच्छदार र कोइराला उपसभापतिमा पराजित भएका हुन् । गच्छदार महाधिवेशनमा दुई मतले पराजित भएका हुन्। उनी देउवा समूहका उम्मेदवार थिए भने कोइराला सभापतिका उम्मेदवार सिंहको समूहबाट उपसभापतिमा प्रतिस्पर्धा गरेकी थिइन् । महत पनि देउवा समूहबाटै महामन्त्रीमा पराजित भएका थिए ।

कांग्रेसमा विधानमा ३३ जना केन्द्रीय सदस्य सभापतिले मनोनित गर्ने प्रावधान छ । मसिर २४–२७ सम्म भएको महाधिवेशनबाट १३४ जना निर्वाचित भएका हुन् भने सभापतिका निकटतम प्रतिस्पर्धी स्वतह केन्द्रीय सदस्य हुने विधानको व्यवस्था अनुसार शेखर केन्द्रीय सदस्य भएका हुन् । कांग्रेस केन्द्रीय कार्यसमिति १६८ सदस्यीय हुनेछ । देउवाले कोषाध्यक्ष मनोनित गर्न बाँकी छ ।

Facebook Comments