वेस्ट ह्यामसँग लिभरपुल पराजित

एजेन्सी : इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा वेस्ट ह्याम युनाइटेडले बलियो टोली लिभरपुललाई हराएको छ। घरेलु मैदानमा भएको खेलमा वेस्ट ह्याम लिभरपुलविरुद्ध ३–२ गोलले विजयी भएको हो। लिभरपुलले पराजित हुँदा शीर्षस्थानको चेल्सी सँग अंकको दुरी घटाउने अवसर गुमाएको छ। लिभरपुलको लागि यो सिजनको पहिलो हार पनि हो।

खेलको चौथो मिनेटमा नै गोलरक्षक एलिसन बेकरको आत्मघाती गोलमा वेस्ट ह्यामले अग्रता लिएको थियो। पहिलो हाफकै ४१ औं मिनेटमा लिभरपुलले बराबरी गोल फर्कायो। ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डले फ्रिकिकमा सुन्दर गोल गरेका थिए।

दोस्रो हाफको ६७ औं मिनेटमा फोर्नाल्सले गोल गर्दै वेस्ट ह्यामलाई अग्रता दिए। उनले काउन्टर अट्याकमा जेरोड बोवेनको पासलाई गोलमा परिणत गरेका थिए। त्यसको ७ मिनेटपछि बोवेनको कर्नरमा कर्ट जौमाले हेडरमा गोल गर्दै वेस्टह्यामलाई ३–० ले अघि बढाए।

खेलको ८३ औं मिनेटमा डिभोक ओरिगीले गोल गर्दै लिभरपुल खेलमा फर्कने संकेत दिए। तर थप गोल गर्न नसक्दा लिभरपुलले हार टार्न सकेन।

यस जितसँगै वेस्ट ह्याम लिभरपुललाई उछिन्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। वेस्ट ह्यामले ११ खेलमा ७ जित, २ बराबर र २ हारसहित २३ अंक जोडेको छ। लिभरपुलले २२ अंक जोडेको छ। शीर्षस्थानको चेल्सीको २६ अंक छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.