३ गोलको अग्रता जोगाउन नसक्दा बार्सिलोना बराबरीमा रोकियो

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा क्याटलान क्लब बार्सिलोनाले सेल्टा भिगोसँग बराबरी गरेको छ। शनिबार भएको खेलमा दुई टोलीले ३–३ गोलको बराबरी गरेका हुन्।

सेल्टा भिगोको मैदानमा पहिलो हाफमा ३–० को अग्रता बनाएको बार्सिलोनाले त्यसलाई जोगाउन सकेन। खेलको पाँचौ मिनेटमा नै बार्सिलोनाले शुरुवाती अग्रता बनाएको थियो। युवा फरवार्ड अन्सु फातीले जोर्डी अल्बाको पासमा गोल गरेका थिए।

१८ औं मिनेटमा सर्जियो बुस्केट्सले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गोल गर्दै अग्रता दोब्बर पारे। ३४ औं मिनेटमा अल्बाकै क्रसमा मेम्फिस डिपाएले गोल गरेपछि बार्सिलोना पहिलो हाफमै ३–० ले अघि बढेको थियो। तर दोस्रो हाफमा घरेलु टोलीले सानदार पुनरागमन गर्यो। चोटका कारण फाती दोस्रो हाफमा मैदान उत्रेनन्। बार्सिलोना केहि रक्षात्मक भएको फाइदा उठाउँदै इयागो आसपासले ५२ औं मिनेटमा पहिलो गोल गरे।

७४ औं मिनेटमा डिएगो नोलिटोले सर्भिको पासमा हेडरमार्फत गोल गरेपछि खेल ३–२ मा आइपुग्यो। इन्ज्युरी समयको छैटौं मिनेटमा आसपासले पहिलो टचमा सुन्दर गोल गर्दा खेलमा ३–३ को अवस्थामा आइपुग्यो।

यससँगै बार्सिलोनाले लिगको पछिल्ला ४ खेलमा जित दर्ता गर्न सकेको छैन। बार्सिलोना १२ खेलमा १७ अंक जोड्दै नवौं स्थानमा छ। रियल मड्रिड समान खेलबाट २७ अंक जोड्दै शीर्षस्थानमा छ। २५ अंकका साथ रियल सोसिडाड दोस्रो स्थानमा छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.