८९ दिनपछि मन्त्रिपरिषद्लाई पूर्णता दिइँदै : शुक्रबार ११ बजे मन्त्रिपरिषद् विस्तार, ४ बजे शपथ

काठमाडौँ । अध्यादेशबाट सरकार बनेको ८९ दिनपछि शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिइने भएको छ ।

सत्ता गठबन्धनका शीर्ष नेताहरुले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटाएका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहीबार बसेको बैठकले मन्त्रालय बाँडफाँडको टुंगो लगाएर शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटाएको हो ।

नेताहरुले कांग्रेसलाई प्रधानमन्त्रीसहित ९, माओवादी केन्द्रलाई ५, जसपा र नेकपा एकिकृत समाजवादीले ४–४ मन्त्रालय लिने सहमति गरेका छन् ।

विहीबारको सहमति बमोजिम दलहरुले आन्तरिक तयारी गरेको अवस्थामा शुक्रबार ११ बजे मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।

‘मन्त्रालय बाँडफाँडको टुंगो लाग्यो । शुक्रबार ११ बजे मन्त्रिपरिषद् विस्तार हुन्छ, ४ बजे शपथ गराउने गरी तयारी भएको छ,’ बालुवाटार श्रोतले भन्यो ।

गठबन्धनमा मन्त्रालय भागबण्डामा असन्तुष्टि राख्दै आएको नेकपा एकिकृत समाजवादीले दुई राज्यमन्त्रीसहित ४ मन्त्रालय लिने गरी सहमति जुटेको छ ।

नेताहरुको सहमतिअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित रक्षा, गृह, परराष्ट्र, सञ्चार तथा सूचना प्रविधि, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय लगायत राखेको छ ।

त्यस्तै, नेकपा माओवादी केन्द्रले अर्थ, ऊर्जा, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था तथा गरिबी निवारण र खानेपानी मन्त्रालय पाएको छ ।

जसपाले भौतिक पुर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र बन तथा बातावरण पाउने भएको छ ।

Facebook Comments