कुशल र रोहित चम्किँदा नेपालको शानदार जीत

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ क्रिकोणान्तमक शृङ्खला अन्तरगतको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको छ । अमेरिकाले प्रस्तुत गरेको २ सय ३१ रनको लक्ष्य नेपालले ६ बल बाँकी छँदै सफलतापूर्वक पछ्यायो । यसअघि नेपाल र अमेरिकाबीच सन् २०२० को फेब्रुअरीमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्धा भएको थियो । नेपालले दुवै खेलमा अमेरिकालाई पराजित गरेको थियो ।

नेपाललाई जीत दिलाउन प्लेयर अफ द म्याच घोषित कुशल भुर्तेलले सर्वाधिक ८४ रनका योगदान दिए । ३ चौका र ३ छक्का हिर्काएका उनले ओपनर आशिफ शेखसँग मिलेर नेपाललाई राम्रो शुरुवात दिलाए । शेखले २३ रन बनाउँदै अर्धशतकीय साझेदारी गरे । त्यस्तै, रोहित पौडेलले नटआउट रहँदै ६२ रन बनाएर नेपाललाई लक्ष्यसम्म पुर्याए । उनलाई विनोद भण्डारीले ३७ रन बनाउँदै राम्रो साथ दिए ।

यसअघि ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ रोजेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३० रन बनाएको थियो । अमेरिकाका लागि विकेटकिपर मोनाङ्क पटेलले सर्वाधिक १ सय रनको पारी खेले । ९ चौका र एक छक्काको मद्दतले शतक बनाए लगत्तै उनी विक्रम सोबको बलमा क्याच आउट हुन पुगे । निसर्ग पटेलले २१ तथा सुशान्त मोदानी र कसरमा गोरले १६–१६ रन बनाए । नेपालका लागि विक्रम सोब, सन्दीप लामिछाने र सुशन भरीले २–२ विकेट लिए । कुशल मल्लले १ विकेट लिए ।

आइसिसी विश्वकप क्रिकेट लिग–२ मा नेपालसहित ओमान, स्कटल्याण्ड, नामिबिया, अमेरिका, पपुवा न्युगिनी र संयुक्त अरब इमिरेट्स (युएई) गरी सात राष्ट्रबीच खेल भइरहेको छ । सातै राष्ट्रले सन् २०२३ सम्म प्रतिस्पर्धा गर्नेछन् । शीर्ष तीन टोली सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपका लागि ग्लोबल छनोटमा सोझै स्थान बनाउने छन् । पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

Facebook Comments