महेश बस्नेतद्वारा माधव पक्षलाई भौतिक आक्रमणको चेतावनी

काठमाडौँ। पार्टीभित्रको बिबाद मिलाउन दुबै पक्षका नेताहरु वार्तामा सक्रिय रहेको बेला महेश बस्नेतले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई भौतिक आक्रमणको चेतावनी दिएका छन् ।

शनिबार काठमाडौंमा युथ फोर्सको घोषणा क्रार्यक्रममा युवा संघका इन्चार्जसमेत रहेका एमाले नेता बस्नेतले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘आममाफी’ दिने घोषणा गर्दै पार्टी एकतामा आउन आह्वान गर्दा पनि नेता नेपालले उल्टै अध्यक्षलाई कटाक्ष गरेको भन्दै सकेसम्म मुखले सम्झाउने, नमाने ‘हातगोडाले पनि सम्झाउनुपर्ने’ स्थिति आउन सक्ने भन्दै आक्रमणको चेतावनी दिएका हुन्।

‘प्रचण्डको पुच्छर बनेर, शेरबहादुर देउवाको वैशाखी बनेर कम्युनिस्ट आन्दोलनलाई धरासायी बनाउन लाग्नुहुन्छ भने माधव नेपालको विरुद्ध यो (युथ फोर्स) लाग्दैन, माधव प्रवृत्तिको विरुद्ध यो लाग्छ,’ नेता बस्नेतले भने, ‘पार्टी नेताले आममाफी दिन्छु, एकताको प्रक्रियामा आउनुहोस् भन्दा केपी कमरेडलाई बडामहाराजको संज्ञा दिनुभयो। मुखले सम्झाउँछौं, मलाई लाग्छ, मुखले सम्झाउँदै काफी हुन्छ। यदि मुखले सम्झाउँदा मानेनन् भने कहिलेकाहीं हातगोडाले पनि सम्झाउनुपर्ने हुनसक्छ।’

यसअघि अध्यक्ष ओलीले ‘आममाफी भयो, अब आउनुस् मिलेर काम गरौं’ भनेपछि वरिष्ठ नेता नेपालले ‘बडामहाराज खुसी हुनुभएछ, हामीलाई आममाफी दिनुभएछ, हामी गदगद भयौं भनेर व्यंग्य गरेका थिए।

Facebook Comments