भारतले नेपाललाई उपलब्ध गरायो १ सय ५० आईसीयू बेड

काठमाडौं । भारतले नेपाललाई १ सय ५० आईसीयू बेड सहयोग गरेको छ ।

भारतले नेपालसँग कोभिड–१९ सहकार्यका लागि गरेको प्रतिद्धता अनुरुप नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित एक समारोहबीच १५० वटा आइसीयु बेड हस्तान्तरण गरेका छन्।

हस्तान्तरण समारोहमा राजदूत क्वात्राले अत्यावश्यक स्वास्थ्य पूर्वाधारमा भारतले नेपाललाई सहयोग गर्ने र महामारी व्यवस्थापनमा समग्र रूपमा भारतको निरन्तर सहयोग रहने प्रतिद्धता जनाए।

त्यस्तै मन्त्री कार्कीले भारत सरकारको यो कदमको सराहना गरे । उनले भने,‘ यो सहयोग कोभिड–१९ बिरूद्धको लडाईमा एक महत्वपूर्ण कोसेढुंगा हो ।’

महामारी सुरु भएयता अत्यावश्यक औषधि, आरटी–पीसिआर टेस्ट, भेन्टिलेटर लगायत अन्य स्वास्थ्य सामाग्री उपलब्ध गराइ भारतले नेपाललाई ६.५ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहयोग प्रदान गरिसकेको छ ।

Facebook Comments