चिनियाँ ठेकेदारको चरम लापरवाहीले राजमार्गको बिजोग

कावासोती (नवलपरासी) । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणघाट सडक विस्तारको ठेक्का पाएको चिनियाँ कम्पनीको ढिलासुस्तीले राजमार्गको अवस्था नाजुक भएको छ । सडक विस्तारको क्रममा दर्जनौँ ठाउँमा सडक भत्काइएको छ तर काम भएको छैन । ठेकेदार कम्पनीले अनेक समस्या देखाएर ढिलासुस्ती गर्दै आएको छ ।

सडक विस्तारका क्रममा पुल निर्माणका लागि विभिन्न ठाउँमा बनाइएका डाइभर्सन भत्किएर बाटो अवरुद्ध हुने गरेको छ । ठाउँ ठाउँमा खोतल्दा सडक कमजोर भई भत्किन थालेको छ। यसले अत्यावश्यक सवारी साधनहरू समेत घण्टौँसम्म रोकिनुपर्ने बाध्यता आइलागेको छ । बुटल–नारायणघाट खण्डको ११३ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का चिनियाँ कम्पनी ‘चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशन’ ले पाएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ८ गते बुटवलमा उक्त सडक खण्ड स्तरउन्नतिका लागि शिलान्यास गरेका थिए । यसपछि गैँडाकोट–दाउन्ने ६५ किलोमिटर र दाउन्ने–बुटवल ४८ किलोमिटर गरी दुई खण्डमा सडक स्तरोन्नति शुरु गरिएको थियो । सम्झौता अनुसार हालसम्ममा ७० प्रतिशत काम भइसक्नुपर्नेमा ६ प्रतिशतमात्रै काम सम्पन्न भएको छ ।

वर्षा शुरू भएसँगै गैँडाकोट र सुनवल खण्डमा डाइभर्सनहरू पटक पटक भत्किएर यातायात अवरुद्ध हुने गरेको छ। बुधबार रातिदेखिको वर्षाको कारण जङ्गलबाट आएको खोल्सोको भेलले बिहीबार बिहान नवलपरासीपूर्वको सदरमुकामस्थित राजमार्गको जग भत्काउँदा ३० घण्टा यातायात बन्द भयो । बाढीले कावासोती नगरपालिकाको थानाचोक नजिकै कल्भर्ट भत्किएको छ । बिहीबार बिहान ८ बजेदेखि अवरुद्ध सडक खुलाउन ढिलो गर्दा सयौँ गाडी अलपत्र परेका छन् । साना गाडीहरू कावासोतीबाट उत्तर वा दक्षिणतर्फको करिब किलोमिटर भित्री बाटो घुमेर वारपार गरिरहेका छन् ।

सडकको जग नै बगाएकोले मर्मतको काम भइरहेको र अस्थायी डाइभर्सनबाट हलुका गाडी पार भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले बताए । एक साताअघि गैँडाकोटमा एकै पटक चार वटा डाइभर्सन भत्किँदा यातायात चालु हुन दुई दिन लागेको थियो ।

Facebook Comments