चिनियाँ कन्फ्युसियस संस्थानमा काम गर्न ताइवानको प्रतिबन्ध

एजेन्सी । ताइवानले चिनियाँ कन्फ्युसियस संस्थानमा काम गर्न ताइवानी नागरिकमाथि प्रतिबन्ध लगाएको छ । यसअघि चिनियाँ राजनीतिक, सैन्य र पार्टी संस्थाहरूको लागि काम गर्न ताइवानी नागरिकलाई प्रतिबन्ध लगाएको ताइवानले अब कन्फ्युसियस संस्थानमा काम गर्नेमाथि पनि प्रतिबन्ध लगाएको ताइवानको मेनल्यान्ड अफेयर्स काउन्सिल (एमएसी)ले बिहीबार घोषणा गरेको हो ।

चिनियाँ संस्कृतिलाई विश्वव्यापी रूपमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ स्थापना भएको कन्फ्युसियस संस्थानमाथि पछिल्लो समय चिनियाँ सरकारी प्रोपागान्डामा सहभागी भएको आरोप छ । यस्तै, विदेशमा चिनियाँ विद्यार्थीहरूलाई लक्षित गरी जासुसी गतिविधिमा संलग्न भएको आरोप पनि लागेको छ ।

एमएसीले प्रतिबन्ध लम्ब्याउने निर्णयले राष्ट्रिय पहिचान, बफादारी र ताइवानको राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने मानिने सबै चिनियाँ संगठनहरूलाई समेटेको जनाएको छ ।

कन्फ्युसियस इन्स्टिच्युट बाहेक, प्रतिबन्धमा उल्लेख गरिएका अन्य संस्थाहरूमा ताइवानसँग सम्बन्ध व्यवस्थापन गर्न जिम्मेवार चीनको अर्ध–आधिकारिक निकाय एसोसिएसन फर रिलेसनस एक्रोस द ताइवान स्ट्रेट (एआरएटीएस) समावेश छ । अलचाइना फेडेरेसन अफ ताइवान कम्प्याट्रियट्स र अल चाइना युथ फेडेरेसनलाई पनि प्रतिबन्ध लगाइएको एमएसीले जनाएको छ ।

चीन र ताइवानको सम्बन्धका कारण धेरै ताइवानीहरु चीनमा कार्यरत छन् । तर, यी दुई पक्षबीच पछिल्लो समय तनाव बढेको छ । यसबीचमा ताइवानले प्रतिबन्ध लगाइएका चिनियाँ संस्थाहरुको सूची बढाएको हो । ताइवानले चीनमा रोजगारीमा रहेका आफ्ना नागरिकलाई ताइवानको हित र राष्ट्रिय सुरक्षासँग सम्झौता गर्न सक्ने गतिविधिहरूमा संलग्न हुनबाट जोगिन सल्लाह दिएको छ ।

प्रतिबन्धको विस्तारले चिनियाँ प्रभाव र जासुसी गतिविधिहरूमा बढ्दो चिन्ताको बीचमा आफ्नो सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षाको रक्षा गर्न ताइवानको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ । ताइवान र चीनबीच तनाव जारी रहँदा, यो कदमले बाह्य दबाबको सामना गर्दै आफ्नो स्वायत्तता कायम राख्ने र आफ्ना नागरिकहरूको हितको रक्षा गर्ने ताइवानको संकल्पलाई जोड दिएको जनाइएको छ ।

Facebook Comments