काठमाडौँ । आफूलाई सामाजिक अभियन्ता हुँ भन्दै हिड्ने ज्वाला संग्रौला दम्पतीले सरकारी कागजपत्र कीर्ते गरेको पाइएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहका अनुसार कुटपिट तथा जातीय विभेदमा पक्राउ परेका दम्पतीको अनुसन्धानका क्रममा सरकारी लिखत कीर्ते गरेको प्रमाण फेला परेको हो ।
‘पक्राउ गरेर खनतलासी लिँदा संग्रौलाबाट जन्मदर्ता र उनका पति हिमाल उपाध्यायबाट नाता प्रमाणित र सम्बन्ध विच्छेदको कागज भेटिएको थियो,’ सिंहले भने, ‘ती कागजपत्रलाई प्रमाणीकरण गर्न सम्बन्धित गाउँपालिकालाई पत्र लेख्दा फर्जी भेटिएको हो ।’
मुद्दा शाखाका डीएसपी नरेन्द्र चन्दका अनुसार संग्रौलासँग पाँचथरको शैलुङ गाउँपालिकाबाट जारी भएको जन्मदर्ताको प्रमाणपत्र भेटिएको थियो । ‘४ असार २०७४ मा जारी भएको जन्मदर्तामा गाउँ विकास समिति उल्लेख थियो,’ चन्दले भने, ‘जबकि त्यसअघि नै गाविस खारेज भएर गाउँपालिका भइसकेको थियो, यही शंका लागेर थप प्रमाणीकरणका लागि पत्र पठाएका थियौं ।’
त्यसक्रममा संग्रौलाको जन्मदर्तामा हस्ताक्षर भएका सचिवले पनि त्यसबेला गाउँपालिकामा काम गरेको नदेखिएको प्रहरी बताउँछ । उनका पति उपाध्यायले चाहिँ नाता प्रमाणीकरणको पत्र कीर्ते गरेको चन्द बताउँछन् ।
यसअघि जापानमा बसेर सामाजिक सञ्जालमा उग्र स्टाटस लेख्दै चर्चामा आएकी संग्रौलालाई ६ असारमा कुटपिटको अभियोगमा पक्राउ परेको थियो । पुरानो साथी खुश्बु (नविता) घिमिरेसँग सामाजिक सञ्जाल फेसबुकमा भएको आरोप–प्रत्यारोप पक्राउ गरेको हो
तर महाराजगञ्जमा एक प्रहरीविरुद्ध रंगभेदी अभिव्यक्ति दिएपछि पुरानो घटना पनि चर्चामा आयो र उनी पक्राउ परेकी थिइन् । हाल रंगभेदी अभिव्यक्ति दिएको भन्दै ट्राफिक प्रहरी वृत्त, महाराजगञ्जका असई मणिकान्त झाले पनि उनीविरुद्ध जाहेरी दिएका छन् ।
यस्तै, काठमाडौंका एसएसपी सिंहका अनुसार संग्रौलाविरुद्ध अभद्र व्यवहारको कसूर, जातीय भेदभाव ऐन र सरकारी लिखत कीर्ते सम्बन्धी कसूरमा छानबिन भइरहेको छ । अभद्र व्यवहारको कसूरमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुनसक्छ ।












Facebook Comments