बिहान, साँझ र रातिको समयमा फोन गर्नुपरे के गर्नु ?

काठमाडौँ । “टेलिफोनको टावर नहुँदा मान्छे भिरबाट खस्यो भनेर कसैलाई खबर गर्न तथा कोही आकस्मिक बिरामी भएमा एम्बुलेन्स बोलाउन पाउँदैनौँ, के यो सेवा प्रदायकले नागरिकप्रति गरेको अपराध होइन ?”, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा मङ्गलबार आयोजित ‘दूरसञ्चार सेवाको पहुँच, प्रवाह र गुणस्तर’सम्बन्धी अन्तक्र्रियामा डोल्पाबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसद सत्या पहाडीले व्यक्त गरेको उक्त भनाइबाट प्रष्ट हुन्छ कि-दुर्गमका नागरिकमाझ अझै पनि दूरसञ्चार सेवाको सहज पहुँच छैन ।

डोल्पा मात्र होइन, कर्णाली र सुदूरपश्चिम प्रदेशका दुर्गम जिल्लामा अझै पनि टेलिफोन सेवाको भरपर्दो व्यवस्था हुनसकेको छैन । अझै पनि दुईरचार मिनेट टेलिफोन कुराकानी गर्न रुख चढ्नुपर्ने वा पहाड उक्लनुपर्ने बाध्यता कायमै छ । संविधानले सबै नागरिकलाई समानताको हक हुने भन्ने व्यवस्था गरेको छ तर भौगोलिक विकटताका नाममा अझै पनि सुगम र दुर्गम क्षेत्रका नागरिकबीच दूरसञ्चार सेवाको उपलब्धतामा ठूलो असमानता छ ।

भूगोललाई चटक्कै बिर्सेर जनसङ्ख्यालाई मात्रै आधार मानेर दूरसञ्चार सेवा विस्तार गर्ने यसअघिका सरकारका गलत रणनीतिले गर्दा विकासका दृष्टिले पछाडि परेका कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली जिल्लाका नागरिकले पछिल्ला प्रविधिको स्वाद चाख्न नपाएको जनप्रतिनिधिको भनाइ छ । “नेपालको संविधानले समाजवादको दिशा अँगालेको छ तर हाम्रो विकास उल्टो गतिमा हिँडेको छ”, पहाडी भन्नुहुन्छ, “अध्ययन गरेर काम गर्ने हाम्रो सोच छैन, हामी अध्ययन पनि गर्दैनौँ, भूगोल पनि हेर्दैनौँ, पहुँचको भरमा काम गर्न खोज्दा जनताले सुविधा पाउँदैनन् ।”

कर्णाली र सुदूरपश्चिमका अधिकांश स्थानमा टेलिफोन टिप्दैन। नेटवर्क टिपेका ठाउँमा पनि राम्रोसँग काम गर्दैन । कतिबेला टावर आउँछ र कुरा गरुँला भनेर कुरेर बस्नुपर्ने बाध्यता छ । बझाङका केही स्थानीय तहमा त टेलिफोन गर्न घाम पर्खनुपर्ने अवस्था रहेको सांसद आशाकुमारी विक बताउनुहुन्छ । “बर्खामा पानी परेका बेला र हिउँदमा हिउँ परेका बेला टावर आउँदैन”, उहाँले भन्नुभयो, “१० नबजी घाम लाग्दैन, घाम नलागी टावर आउँदैन, साँझ घाम अस्ताएसँगै टावर पनि अस्ताउँछ । बिहान, साँझ र रातिको समयमा फोन गर्नुपरेको खण्डमा के गर्नु ?”

जुम्लाका सांसद गजेन्द्र महतको मनमा बेलाबेला घोचिरहन्छ– ‘निजी क्षेत्रको सेवा प्रदायको टावरले काम गरिरहँदा किन सरकारी स्वामित्वको नेपाल टेलिकमको टावरले काम गर्दैन ?’ सरकार डिजिटल नेपाल बनाउने अभियानका साथ अगाडि बढिरहेको वर्तमान सन्दर्भमा प्रविधिका कारण जनताले झन् दुःख पाएको उहाँको अनुभव छ ।-रासस

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.