राष्ट्रपति भण्डारीद्वारा मेलम्ची खानेपानीको उद्घाटन

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार भृकुटीमण्डपमा धारा खोलेर मेलम्ची खानेपानी आयोजनाको खानेपानी वितरण कार्यक्रम‍ उद्घाटन गरेकी छन् ।

केही दिन अगाडिदेखि नै काठमाण्डू उपत्यकाका विभिन्न स्थानमा परीक्षणको रूपमा उक्त आयोजनाबाट पानी पठाउन थालिएको थियो । यसले राष्ट्रिय गौरवको मेलम्ची आयोजना अब भने फत्ते भएको सर्वसाधारणले पत्याउन थालेका छन् । तर खानेपानीको निम्ति वर्षौँदेखि काठमाण्डू उपत्यकावासीले बेहोरेको सङ्कटसँग तुलना गर्ने हो भने मेलम्ची आयोजनालाई सफलभन्दा पनि आयोजना व्यवस्थापनको मापदण्डबाट नाप्दा यसलाई ‘अनुकरणयोग्य उदाहरण नभएको’ मान्ने मानिसहरू पनि छन् ।

काठमाण्डूको उत्तरपूर्वमा रहेको सिन्धुपाल्चोक जिल्लाको मेलम्ची खोलाको पानीलाई लामो सुरुङमा पठाएर त्यसलाई सुन्दरीजलमा झारिएको छ। सुन्दरीजलमा ठूलो अनि उपत्यकाका विभिन्न स्थानमा निर्माण गरिएका पोखरीमा जम्मा गरेर मेलम्चीको पानीलाई उपत्यकाका विभिन्न स्थानमा वितरण गरिँदैछ।

अहिले मेलम्ची खोलाको पानीलाई अस्थायी बाँध बनाएर सुरुङमा पसाइएको छ। स्थायी रूपमा व्यवस्थित पानी पसाउनका निम्ति जारी ‘हेडवर्क्सू भनिने निर्माणकार्य एक महिनामा सकिने अधिकारीहरूको अपेक्षा छ। राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त समारोहमा बोल्दै मेलम्ची आयोजनाका ‘परिकल्पनकारू भन्दै तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई स्मरण गरिन्।

उनले भनिन्, ‘यस अवसरमा म मेलम्ची आयोजनाका परिकल्पनाकारलाई हार्दिक धन्यवाद दिन चाहन्छु। मुलुकमा प्रजातन्त्रको पुनर्स्थापनापछि तत्कालीन प्रधानमन्त्री श्री कृष्णप्रसाद भट्टराईले सार्वजनिक रूपमा मेलम्चीको पानी काठमाण्डू उपत्यका ल्याई वितरण गर्ने सार्वजनिक प्रतिबद्धता जाहेर गरेपछि यस आयोजनाले थप महत्त्व र प्रचार पायो।’

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले दैनिक ८.५ करोड लिटर पानी वितरण भइरहेको र चाँडै पूर्ण क्षमतानुरूप १७ करोड लिटर पानी वितरण गरिने बताए। ओलीले केही वर्षभित्र थप ३४ करोड लिटर पानी पनि ल्याउन सकिने आशा व्यक्त गरेका छन्। ‘मलाई लाग्छ सायद ८१ साल नयाँ वर्ष सुरु गर्दा, अब तीन वर्षपछि याङ्ग्री र लार्केको पानी पनि काठमाण्डूमा झार्न सफल हुनेछौँ। त्यसपछि काठमाण्डूको वितरण कार्य पूरा हुनेछ,’ उनले भने ।

उनले सरकारले कोभिडको महामारीका बेलामा पनि विकास निर्माणलाई जारी राखेको बताए। एउटा प्रसिद्ध कविता उद्धृत गर्दै उनले भने, ‘ढुङ्गाको काप फोरेर पनि पीपल उम्रन्छ, पहरो फोरेर पनि मेलम्चीको पानी ल्याइन्छ। याङ्ग्री र लार्केको पानी पनि ल्याइन्छ।’-बीबीसी

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.