कार्यकर्ता भेलामा माधव नेपालका ‘छ कुरा’

काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी फुटाउने कि एकताबद्ध बनाउने भन्ने अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीमा भरपर्ने बताउनुभएको छ । विधि, पद्धति र संस्थागत प्रणालीअनुसार पार्टी सञ्चालन गर्न ओली तयार भए एकताबद्ध भएर जान सकिने सम्भावना अझै रहेको उहाँको भनाई छ । उहाँले पार्टी एकता जोगाउन छ वटा उपायसमेत सुझाउनु भएको छ ।

बुधबार ललितपुरस्थित हेरिटेज गार्डेनमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले अदालतको अप्रत्याशित निर्णयले एमाले पुरानै अवस्थामा पुगेपछि त्यहि विन्दुबाट पार्टी सञ्चालन गरिनुपर्नेमा आफ्नो पहिलो जोड रहेको बताउनुभयो । ओलीले एकलौटी ढङ्गले फागुन २८ गते बालुवाटारमा गरेको निर्णय अदालतको फैसला विपरित रहेको भन्दै नेपालले त्यसलाई फिर्ता लिन ओलीपक्ष तयार नहुँदा समस्या आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले ६ वटा कुरा गर्यौं । एमालेलाई बलियो बनाएर समग्र कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन हामीले भनेका थियौँ, तर ओलीले मान्नुभएन । आज पनि हाम्रो कुरा त्यहि छ । हामीले विभाजन चाहेका छैनौँ ।’

नेपालले अघि सार्नुभएको छ वटा बुँदामा माओवादी केन्द्रसँग एकता हुनुपूर्वको एमालेको संगठनात्मक संरचना, राजनीतिक वैचारिक मान्यता, सबै पदाधिकारी र सदस्य यथावत रहनुपर्ने भन्ने छ । त्यस्तै, पार्टीलाई विधि र पद्धतिका आधारमा चालाउनुपर्ने कुरालाई उहाँले विशेष जोड दिनुभएको छ ।
उहाँले पार्टीका बैठकहरू नेताको निजी निवासमा नभई पार्टी कार्यालयमा बस्नुपर्ने, कम्युनिष्ट पार्टीहरूबीचको एकतामा जोड दिनुपर्ने, वामपन्थी नेतृत्वमा सरकार बनाउने र सरकार सञ्चालन गर्दा पार्टीको नीति र विधिमा रहेर गर्नुपर्ने कुरा आफूले उठाएको बताउनुभयो ।

ओलीले सुटुक्क आफूलाई मन पर्नेहरूलाई मात्र बोलाएर गरेको गुटको भेलालाई केन्द्रीय कमिटीको बैठकको जामा भिराएको भन्दै उहाँले आक्रोश पोख्नुभयो । ‘आफ्ना मान्छेलाई बोलाएर बालुवाटारमा गुटको भेला गरेर आफूखुशी विधान संशोधन गरि आफ्ना मान्छे भर्ति गर्नुभएको छ, हामीले त्यो स्वीकार गरेका छैनौँ । कम्युनिष्ट पार्टी सञ्चालनको विधि यो होइन,’ उहाँले भन्नुभयो ।

नेता नेपालले २८ गतेको निर्णयले आफूहरू चिन्त्तित भएको र ओलीसँग सम्वाद चाहेको कुरा कार्यकर्तालाई सुनाउनुभयो । धुम्बाराहीमा अध्यक्ष ओली पक्षसँग भएको वार्ताको कुरा सुनाउँदै उहाँले भन्नुभयो, ‘ओलीले विधान विपरित निर्णय गरेपछि हामीलाई धेरै चिन्तित बनायो । हामीले सम्वाद चाह्यौं । उनैले फोन गरेर भेट्न प्रस्ताव गरेका हुन् । मैले भेट्ने तर कहाँ ? भनेर सोधेपछि उनले बालुवाटार भने । मैले बालुवाटार आउँदिन भनेँ । उनले म बाहिर आउन मिल्दैन, तपाइँ यता नआउने भए कहाँ भेट्ने त भनेर सोधे, मैले धुम्बाराहीमा भेटौँ भने । त्यसपछि छलफल भएको हो ।’

एक आपसमा खेल्ने र अन्तरबिरोध चर्काउने ओलीको शैली बुझेकाले आफूले एक्लै नभेट्ने प्रस्ताव गरेको पनि नेपालले कार्यकर्तामाझ बताउनुभयो । उक्त भेटमा पनि ओलीमा उस्तै दम्भ आफूले पाएको नेपालले भन्नुभयो । आफूले २८ गतेको गुटको निर्णय फिर्ता लिए भेला रोक्न तयार छौं भन्दा पनि ओलीले नमानेको नेपालले बताउनुभयो । यताको भेला रोक्ने तर आफ्नो गुट झन् क्रियाशील बनाउने ओलीको रणनीति आफूले बुझेको उहाँको भनाई छ । ‘ओलीको अहंकार र दम्भले पार्टी विभाजनको आधार बनिरहेको छ,’ नेपालले भन्नुभयो । सभार जनआस्था

Facebook Comments