काठमाडाैँ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई हेलिकप्टर चढेर ससुराली पुगेका छन् । केही समयअघि आफूभन्दा आधा उमेर कान्छी युवतीसँग विवाहबन्धनमा बाँधिएका नेकपा एमालेको नेतासमेत रहेका मुख्यमन्त्री राई श्रीमतीका साथ हेलिकप्टर चार्टर गरेर आज ससुराली गएका हुन् ।
मुख्यमन्त्री राईकी श्रीमती जाङ्ग्मु इन शेर्पाले हेलिकप्टर अगाडि मख्ख परेर उभिएको तस्वीर सार्वजनिक गरेकी छन् । उनले फेसबुकमा तस्वीर शेयर गर्दै हेलिकप्टर चढेर माइती पुगेको जानकारी गराएकी छन् ।
उनल लेखेकी छन्, ‘भर्खरै आफ्नो जन्मस्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको भ्रमण मेरो श्रीमान माननीय शेरधन राई र सबै सपरिवारका साथ गर्न पाउँदा असाध्यै खुशी लाग्यो ! म त जन्मिएको मात्रै, मेरो गाउँ अति नै सुन्दर रहेछ !! सबैले न्यानो स्वागत र सत्कार गर्नुभयो, धेरै खुशी लाग्यो!।’
हेलिकप्टर लिएर पुगेकी उनले गाउँको विकास नभएकोमा दुखेसो गरेकी छन् । शेर्पाले अगाडि लेखेकी छन्, ‘मेरो गाउँ र ठाउँको लागि केही गर्नुपर्ने महसुस गरें, किनकि त्यहाँ सडक, बिधुत, शिक्षा,स्वास्थ्य र सञ्चारलगायतको पहुँचले जनतालाई जोड्न बाँकी रहेछ, अवश्य नै म र मेरो श्रीमान माननीय मुख्यमन्त्री शेरधन राईको ध्यानाकर्षण भएको छ !!!! सबैप्रति हार्दिक आभार ब्यक्त गर्दछु !!! ।’
आजै प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा चियापान कार्यक्रम राखेका थिए । चियापानमा प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, सांसदहरु, पार्टीका केन्द्रीय सदस्य तथा नेताहरु सहभागी भएका थिए । तर ओली निकट राई भने चियापानमा सहभागी नभएर हेलिकोप्टर लिएर ससुराली पुगेका छन् ।
Facebook Comments