म्यान्मारमा सैन्य कूविरुद्ध प्रदर्शन, जलाइन थाले चिनियाँ होटल तथा कारखाना!

एजेन्सी । गत फेब्रुअरी १ देखि सैनिक शासन लागू भएकाे म्यान्मार शान्त छैन।

सेनाले लोकतान्त्रिक नेतृ आङ साङ सुची, राष्ट्रपति विन मिन्टसहित देशका शीर्ष नेताहरुलाई हिरासतमा लिएर सत्ता हत्याएका हुन्।

त्यसयता लगातार म्यान्मारमा लोकतन्त्र पुनर्स्थापनाको माग गर्दै त्यहाँका नागरिकले आन्दोलन चर्काएका छन्।

सो क्रममा आन्दोलनमा होमिएकालाई नियन्त्रणमा लिन सेना तथा प्रहरीले गोली चलाउँदा हालसम्म १२० भन्दा बढी प्रदर्शनकारीको ज्यान गइसकेको छ।

प्रदर्शनमा उत्रिएकाहरु सेनाविरुद्ध मात्र सडकमा उत्रिएका छैन्। उनीहरुमा चीन विरोधी भावना पनि उत्पन्न भएको देखिएको छ।

चीनले म्यान्मारका सेनालाई साथ दिएको प्रदर्शनकारीहरुको बुझाई छ। जसका कारण उनीहरुले चिनियाँ दूतावास अगाडि समेत प्रदर्शन गरेका छन्।

चीन विरोधी भावना बढ्दै जाँदा यसैहप्ताको आइतबार यांगोन शहरमा त प्रदर्शनकारीले ३२ चिनियाँ होटल तथा कारखानामा आगजनी र तोडफोड नै गरे।

यसरी म्यान्मारमा चिनियाँ लगानीमा खोलिएका होटल तथा उद्योगहरुमा तोडफोड र आगजनी भएपछि चीन चिन्तित बनेको छ।

म्यान्मारका नागरिकले चिनियाँ उत्पादनहरु समेत प्रयोग नगर्ने बताएका छन्। यस क्रममा म्यान्मार हुँदै बनाइने चीनको ग्यास–पाइप लाइन परियोजनाको पनि विरोध भइरहेको छ।

धाँधली गरेर सुचीको पार्टीले चुनाव जितेको भन्दै सेनाले सत्ता हातमा लिएका हुन् र एकवर्ष पछि आम निर्वाचन गराएर मात्र सत्ता हस्तान्तरण गर्ने जुन्ता शासकको भनाइ छ।

अमेरिका, संयुक्त राष्ट्रसंघ लगायत विश्वभरबाट सैन्य कूको विरोध भइरहेको छ। तर रुस र चीनले भने म्यान्मारको सैन्य कूको कडा शब्दमा विरोध गरेका छैनन्।

त्यसकारण म्यान्मारमा चीन विरोधी भावना उत्पन्न भएको हो। सोही क्रममा आइतबार चिनियाँ कारखाना र होटलमा तोडफोड हुनुका साथै केही चिनियाँ व्यवसायीमाथि आक्रमण समेत भएको थियो।

त्यसबीचमा याङ्गुनको धेरै भागमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको थियो।

झडपका क्रममा औद्योगिक क्षेत्रमा सुरक्षा फौजले प्रदर्शनकारीमाथि गोली प्रहार गरेका थिए। त्यसदिन कम्तीमा ५० प्रदर्शनकारीको मृत्यु भएको बीबीसीले जनाएको छ। एससीएमपी र बीबीसीको सहयोगमा

Facebook Comments