गगन थापाले भने-कांग्रेसको नेतृत्वमा चाँडै नयाँ सरकार बन्छ

File Photo

नवलपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कांग्रेसको नेतृत्वमा माओवादी र जनता समाजवादी पार्टीको स‌ंयुक्त सरकार चाँडै बन्ने बताएका छन् । त्यस्तो संयुक्त सरकारको प्रधानमन्त्री शेरबहादुर देउवा नै हुने उनले ठोकुवा गरे ।

‘यो बेला देशलाई ओलीकरणबाट जोगाउने हो । कांग्रेस पार्टीभित्र प्रधानमन्त्री को हुने भनेर झगडा गर्ने बेला होइन । प्रधानमन्त्री हाम्रा सभापति देउवा नै हो त्यसमा विवादै गर्न हुन्न र विवाद छँदै छैन,’ उनले भने ।

पूर्वी नवलपरासीको हर्कपुरमा चौधरी ग्रुपले सञ्चालनमा ल्याएको उन्नति कल्चरल भिलेजको शनिबार निरिक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता थापाले प्रधानमन्त्रीबाट ओलीलाई हटाउन जति ढिला गर्‍यो त्यति देशमा संकट गहिरिदै जाने उनको दाबी छ ।

ओलीले अख्तियार र संवैधानिक अंगहरु ध्वस्त पारेका छन् देशलाई ओलीकरणबाट जोगाउनका लागि उनलाई फाल्न एक दिनपनि ढिला गर्न नहुनेमा सत्ता साझेदारीको नजिक पुगेका तीनवटै दल एक भएको उनले बताए ।

‘ओलीमा बदनियतै बदनियत छ । ४० वर्ष एउटै पार्टीमा संघर्ष गरेका आफ्नै साथी सिध्याउन अख्तियारसहित संवैधानिक अंग परिचालन गरेर ठेगान लगाउने मान्छेबाट देश जोगाउन पर्ने छ,’ उनले भने । ओलीले अख्तियार,अदालत र संवैधानिक अंगहरु ध्वस्त पारेर देश ओलीकरण गर्न खोजेको थापाको दाबी छ । देशलाई ओलीकरण हुनबाट जोगाउने जिम्मेवारी कांग्रेसको काँधमा आएको उनले बताए ।

पार्टी झगडा मिलाउन नसकेर ओलीले संसद विघटन गरेर आफ्नै साथी तह लगाउन संवैधानिक अंगको चरम दुरुपयोग ओलीले गरेको थापाले आरोप लगाए ।

Facebook Comments