काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक चल्दै गर्दा नेकपा एमालेका नेता भीम रावल माओवादी मुख्यालय पेरिसडाँडा पुगेका छन् ।
पार्टी मुख्यालय पेरिसडाँडामा शनिबार बिहान ९ बजेदेखि माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु भएको थियो ।
माओवादी केन्द्रकोे स्थायी कमिटी बैठक चल्दै गर्दा ९ः३० बजेतिर एमाले नेता भीम रावल पेरिसडाँडा प्रवेश गरेका थिए ।
माओवादी केन्द्रका एक नेताका अनुसार रावल बैठकस्थलमा समेत पुगेका थिए । तर, त्यहाँ उनले के कुरा गरे भन्नेबारे माओवादी केन्द्रका ती नेताले कोही बताउन चाहेनन् ।
आधा घण्टापछि (१० बजेतिर) रावल त्यहाँबाट बाहिरिएका थिए । बाहिरिने क्रममा उनले सञ्चारकर्मीसँग कुनै प्रतिक्रिया दिन मानेनन् ।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुस ५ गते विभाजित भएपछि नेता रावल पुष्पकमल दाहाल (प्रचण्ड) र माधव कुमार नेपाल नेतृत्वको समूहमा थिए ।
सर्वोच्च अदालतले नेकपा नाम विवादमा गरेको फैसला पछि एमाले र माओवादी केन्द्र ब्यूँतिए पछि प्रचण्ड-माधव समूहका नेताहरुले आ-आफ्नो साबिक पार्टीमै रहने निणर्य गरेका थिए ।
तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार एकलौटी रुपमा पार्टीका अध्यक्ष र महासचिव बाहेक पद खारेज गर्ने निणर्य गरेपछि माधव नेपाल समूहका नेताहरु छुट्टै रणनीति निर्माणमा जुटेका छन् ।
यसैबीच रावल शनिबार माओवादी पार्टी कार्यालय पुग्नुलाई पनि अर्थपूणर् रुपमा हेरिएको छ ।
Facebook Comments