सांसदले कोरोना निको हुन सक्ने भन्दै प्रधानमन्त्रीलाई दिए हिमाली मह

काठमाडौं । मुस्ताङका सांसद प्रेमप्रसाद तुलाचनले कोरोना संक्रमितको उपचारका लागि उपयोगी हुन सक्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिमाली क्षेत्रमा पाइने मह दिएका छन् ।

हिमाली र उच्च पहाडी क्षेत्रमा पाइने मह कोरोना संक्रमितको उपचारका लागि प्रभावकारी हुन सक्ने भन्दै मह परीक्षणका लागि प्रधानमन्त्रीलाई दिएका हुन् । आफूलाई मुस्ताङका धर्मगुरुले पठाएको मह परीक्षणका लागि प्रधानमन्त्रीलाई पठाएको सांसदले आइतबार प्रतिनिधिसभा बैठकमा जानकारी गराए ।

‘धर्मगुरुले संक्रमित कोही भए हिमाली र उच्च पहाडी क्षेत्रमा पाइने मह सेवन गराउनुस् त्यसले उपचार हुन सक्छ भन्ने सुझाव आयो, त्यस अनुसार मैले सम्माननीय प्रधानमन्त्रीलाई लिखित रुपमा नै परीक्षणका गरिदिनुस् भनेर स्वास्थ्यमन्त्रीलाई पनि बोधार्थ दिएको छु’ उनले भने ।

यसको सकारात्मक नतिजा आएमा नेपालको प्राकृतिक महले विश्वबजार ढाकिने र मानिसहरु कोरोना संक्रमणबाट मृत्युवरण गर्न नपर्ने सांसद तुलाचनले दावी गरे ।

केही महिनादेखि संसारभरि कोरोनाभाइरसको महामारी छ। अहिलेसम्म सरूवा रोग विशेषज्ञ र भाइरोलोजिस्टले कोरोनाभाइरस के गर्‍यो भने निको हुन्छ भन्ने मेसो पाउन सकेका छैनन्। संसारका एकसेएक वैज्ञानिक कोरोनाविरूद्धको खोप बनाउन लागिरहेका छन्।

कुनै पनि वैज्ञानिक खोज/अनुसन्धानले मह खाए कोरोनाभाइरसबाट निको हुने प्रमाणित गरेका छैनन्।

वैज्ञानिक हिसाबले कुनै प्रमाण नै नभएको विषयमा सांसद तुलाचनले संसदमै किन कुरा उठाए त?

‘मलाई एक जना धर्मगुरुले मह खाए कोरोना निको हुन्छ भन्नुभएको हो। निको हुन्छ कि हुँदैन परीक्षण गरिदिनुपर्‍यो भनेर प्रधानमन्त्रीकहाँ मह पुर्‍याउन गएको हुँ,’ सांसद तुलाचनले भने।

घरपालुवा मौरीको मह आफूले प्रधानमन्त्रीकहाँ पुर्‍याएको तुलाचनले बताए। ‘मुस्ताङकै दक्षिणी भेग, सम्धीको घरबाट ल्याएको मह परीक्षणका लागि दिएको हुँ,’ उनले भने।

उनले आउँदो बजेटमा हिमाली क्षेत्रमा जडिबुटीको अनुसन्धान केन्द्र खोल्नुपर्ने बताए ।

Facebook Comments