मुम्बईबाट टेम्पोमै आए ४० नेपाली

मलंगवा । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएको र भारत सरकारले लकडाउन थप्दै गएपछि दैनिक जीवन कष्टकर बनेका ४० नेपाली टेम्पोमै चढेर भारतको मुम्बईबाट नेपाल आइपुगेका छन् ।

टेम्पो चलाएर गुजारा गर्दै आएका सर्लाहीका कविलासी नगरपालिका र बसबरिया गाउँपालिकाका अटो चालक परिवार मुम्बईबाट टेम्पोमै चढेर घर आइपुगेका हुन् ।

उनीहरु नेपाल भारत सीमा नजिकसम्म टेम्पोमा आएका थिए । शनिबार राती भारतीय क्षेत्रमा टेम्पो छोडी पैदल खेतको बाटो हुँदै नेपाल छिरे र गाउँ आइपुगे। उनीहरु अहिले आ–आफ्नो स्थानीय तहले बनाएको क्वारेन्टाइनमा आएर बसेका छन् ।

११ वटा टेम्पोमा ४० जना सवार भइ भारतको सीतामढी जिल्लाको सोनवर्षामा शनिबार बिहान आइपुगेका थिए । मुम्बईबाट ५ दिन लगाएर उनीहरु घर आएका छन् । गत मंगलबारबाट टेम्पोमा हिँडेका उनीहरु शनिबार बिहान नेपाल भारत सीमा नजिकैको सोनवर्षा बजारमा आइपुगेका थिए ।

Facebook Comments