विराटनगर । विराटनगर महानगरपालिका-१० मधुमारामा आइतबार बिहान एकजना औषधि व्यवसायीको शंकास्पद मृत्यु भएको छ । घटनाको प्रकृति हेर्दा उनको स्वभाविक मृत्यु नभइकन हत्या भएको हुनसक्ने आशंका गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका-१२ खनार घर भई विराटनगरमा औषधिको डिलर सञ्चालन गर्दै आएका ३३ वर्षीय देवीप्रसाद दुलालको मृत्यु शंकास्पद देखिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।
दुलालले मधुमारामा घर भाडामा लिएर देवी माँ पाथीभरा फर्मा नाम दिएर औषधिको डिलर सञ्चालन गर्दै आएका थिए । सुतेकै ओछ्यानमा बेहोस अवस्थामा भेटिएको भन्दै उनलाई उपचारका लागि आइतबार बिहान ३ बजे कोसी अस्पताल पुर्याइएको थियो ।
प्रहरीका अनुसार श्रीमती मीना श्रेष्ठ दुलाल, छिमेकी कल्याण राजवंशी र अर्का औषधि व्यवसायी धनबहादुर काफ्ले मिलेर उपचारका लागि पुर्याउना साथ अस्पतालले मृत घोषित गरेको थियो।
डीएसपी राईले घटनास्थल मुचुल्का उठाउँदै गम्भीर ढंगबाट अनुसन्धान अघि बढाइएको बताए । प्रहरीले दुलालकी श्रीमती मीना, विराटनगरकै औषधि व्यवासायी धनबहादुर काफ्ले र हरिमोहनश्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।
उनीहरुमाथि सोधपुछ गर्दै घटनाको अनुसन्धान गर्ने काम भइरहेको जानकारी राईले दिए ।
Facebook Comments