लकडाउन सुरु भएपछि सप्तरीमा तीन बालिका बलात्कृत

राजविराज : लकडाउन सुरु भएदेखि सप्तरीमा अपाङ्गता भएकी समेत तीन बालिका बलात्कृत भएको उजुरी दर्ता भएको छ ।

सप्तरीमा बोल्न नसक्ने १२ वर्षीया बालिकालाई बलात्कार गरेको स्थानबाटै एक २० वर्षीय युवकलाई गाउँलेहरुले पक्राउ गरेका थिए । उनीविरुद्ध शुक्रबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

अग्नीसाइर कृष्णसवरण गाउँपालिका ३ मटिगढाका २० वर्षीय आशाराम रामलाई गाउँलेहरुले बिहीबार नियन्त्रणमा लिइ प्रहरी चौकी पकरीलाई बुझाए पछि पकरीले जिल्ला प्रहरी कार्यालयमा बुझाएको हो ।

पीडित बालिकाकी आमाले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी दर्ता गरी अनुसन्धान सुरु गरेको डिएसपी तिलक भारतीले बताए । गाईबस्तु चराइरहेकी बालिकालाई बलात्कार गरिरहेको अवस्थामा गाउँलेले देखेपछि घेरा हालेर नियन्त्रणमा लिएको स्थानीय दीपक चौधरीले जानकारी दिए ।

काठमाडौंमा मजदुरी गरिरहेका राम लकडाउन अघि घर आएका हुन् । बलात्कार गरेको स्वीकारेका आरोपितले गाउँलेहरुको घेरा तोडी भागेकोमा गाईवस्तु चराइरहेका गोठालाहरुले नियन्त्रणमा लिइ गाउँलेलाई बुझाएका थिए ।

गाउँलेहरुले दुई घण्टासम्म निर्घात कुटपिट गरेर पकरी प्रहरीको जिम्मा लगाएको आरोपितले बताए । बोल्न नसक्ने अपाङ्ग बालिकालाई नदीको किनार झाडीमा बलात्कार गरेको देखेपछि एक गाउँलेले आसपासमा रहेका अन्य गाउँलेहरुलाई बोलाएका थिए । बालिका अर्थनग्न र अचेत अवस्थामा फेला परेकी थिइन् । पीडितको स्वास्थ्य परीक्षण र उपचार भइरहेको छ । आरोपित युवक पक्षका आफन्तहरुले कुटपिट गर्ने विरुद्ध उजुरी गर्न जिल्ला प्रहरी कार्यालयमा डेलिगेशन आएका थिए ।

यसअघि १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा घटनास्थलबाटै राजगढ गाउँपालिका–४ बेल्ही चपेना छातापुर टोलका २५ वर्षीय शम्भुकुमार राम पक्राउ परे । घरमा सुतिरहेका बेला वैशाख २१ गते राति तीन जना प्रवेश गरेकोमा अपरिचित दुई जना फरार भएको र आरोपितले बलात्कार गरेको पीडितले बताइन् । आरोपितले भने आपसी सहमतिमा एक्लै गए पनि बलात्कार नगरेको बताएका छन् । घटनास्थलबाटै पक्राउ परेका आरोपितलाई गाउँलेहरुले नियन्त्रणमा लिइ कुटपिट गरेर सुरक्षा बेस क्याम्प पत्थरगाढाको जिम्मा लगाएको थियो ।

यस्तै १२ वर्षीया बालिकालाई वैशाख ३ गते राति बलात्कार गरेको आरोपमा राजगढ गाउँपालिका–२ कमलपुरका २० वर्षीय रामजिवन यादव पुर्पक्षका लागि थुनामा परेका छन् । पिसाब फेर्न राति घर बाहिर निस्किएका बेला आरोपितले जवरजस्ती नियन्त्रणमा लिइ नजिकैको चौरमा लगी बलात्कार गरेको पीडितले बताइन् ।

Facebook Comments