काठमाडौँ । एनसेलले क्याम्पस र कक्षा कोठाबाट टाढा भएका विद्यार्थीहरूका लागि अनलाइन सिकाइसँग जोडिन मोबाइल क्लास डाटा प्याक ल्याएको छ ।
देशकै ठूलो र अग्रणी त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरी एनसेल प्राइभेट लिमिटेडले विद्यार्थीका लागि मोबाइल क्लास डेटा प्याक ल्याएको हो ।
लकडाउनको समयमा घरमै बसिरहेका विद्यार्थीहरू अनलाइन शिक्षा र इन्टरनेट सेवाको सहजीकरणलाई मध्येनजर गर्दै १६ जिबी डेटा भोलुम रहेको प्याक बुधबारबाट सञ्चालनमा ल्याइएको एनसेलले जनाएको छ ।
विद्यार्थीले १ सय ५० (कर सहित १ सय ९१ रुपैयाँ ५४ पैसा) मा उक्त प्याक सुचारु गर्न सक्ने एनसेलले विज्ञप्ति मार्फत जनाएको छ । यो प्याक अन्तर्गतको डेटा भोलुमको समयसिमा ७ दिनको रहनेछ।
मोबाइल क्लास प्याक अन्तर्गत विद्यार्थीले ४ जिबी अल टाइम डेटा (थ्रिजी, फोरजी) र २ जिबी भिडियो डेटाको फाइदा लिन सक्नेछन् । विद्यार्थीले यो ४ जिबीको अल टाइम डेटा प्याक कुनै पनि नेटवर्कमा प्रयोग गर्न सक्नेछन् भने २ जिबी भिडियो प्याक अन्तर्गत विद्यार्थीले युट्युब, आइफिल्क्स र अन्य गुगल सर्भिसहरु प्रयोग गर्न सक्नेछन् । माइक्रोसफ्ट टिम्स् प्रयोग गर्न १० जिबी डेटा रहेको छ । विद्यार्थीले माइक्रोसफ्ट टिम्स् मार्फत शिक्षकसँग अनलाइन शिक्षा लिन वा आफ्ना साथीहरुसँग समुहमा बसी अध्ययन गर्न सक्छन्।
विद्यार्थीहरूले *१७१२३*२०# डायल गरी वा अंग्रेजीको सानो अक्षरमा ईडीयु टाइप गरी १७१२३ मा एसएमएस पठाई यो प्याक सुचारु गर्न सक्नेछन् । साथै एनसेल एपबाट पनि यो प्याक लिन सकिने कम्पनीले जनाएको छ ।
Facebook Comments