सरकारको कमजोरी सार्वजनिक गरेको भन्दै भारतमा ६ पत्रकार विरुद्ध जाहेरी दर्ता

नयाँ दिल्ली । कोरोना भाइरसको संक्रमण रोक्न लागू गरिएको लकडाउनको समयमा हिमाञ्चल प्रदेशका मजदुरहरुको समस्या सार्वजनिक गरेको भन्दै राज्य सरकारद्वारा ६ जना पत्रकार विरुद्ध जाहेरी दर्ता भएको छ।

राज्य सरकारको प्रशासनिक कमजोरी सार्वजनिक गरेको आरोपमा ६ जना विरुद्ध दुई महिनामा १४ एफआईआर दर्ता भएको ‘द वायर’ ले जनाएको छ। हिमाञ्चल प्रदेशको अखबार ‘दिव्य हिमाचल’का ३८ वर्षीय संवाददाता ओम शर्मा विरुद्ध राज्य सरकारले अहिलेसम्म ३ एफआईआर दर्ता गरेको छ। उनीमाथि पहिलो जाहेरी २९ मार्चमा सोलन जिल्लाको बद्दीमा प्रवासी मजदुरले गरेको विरोध प्रर्दशन सामाजिक सञ्जाल फेसवुकमा लाइभ गरेको आरोपमा दर्ता गरिएको थियो।

सो फेसवुक लाइभ भाइरल भएपछि यसलाई सनसनी बनाएको र फेक न्युज प्रशारण गरेको भन्दै उनी विरुद्ध जाहेरी दर्ता भएको थियो। यसको सुचना ह्वाट्एप मार्फत बद्दीको प्रहरी अधिक्षक रोहित मल्पानीलाई दिइएको थियो।

शर्माको विरुद्ध दोस्रो जाहेरी २६ अप्रिलमा दर्ता भएको थियो। सामाजिक सञ्जाल फेसबुकमा एक सञ्चारमाध्यमको समाचार शेयर गरेको आरोपमा उनी विरुद्ध प्रहरीले दोस्रो जाहेरी दर्ता गरेको थियो। उक्त सञ्चार माध्यममा आएको समाचार सरकारी निकायले खण्डन गरेपछि हटाइएको थियो।

उनीमाथि तेस्रो जाहेरी २७ अप्रिलमा बद्दीको बरोटीवाला र नालागढमा कर्फ्यु आदेश खुलुलो गर्ने आदेश अस्पष्ट रहेको भनी फेसवुकमा आलोचना गरेको आरोपमा दर्ता भएको थियो।

‘१६ वर्षको पत्रकारिताको दौरानमा म विरुद्ध पहिलो पटक जाहेरी दर्ता भएको छ’, शर्माले भने, ‘लक डाउनका कारण पत्रिकाको सर्कुलेसन बन्द भएपछि मैले फेसबुकमा लाइभ गर्न थालेको थिएँ तर मेरो विरुद्ध जाहेरी दर्ता गर्नुका साथै कर्फ्यु पास समेत खारेजी भएपछि अहिले घरमै रहेको छु।’

शर्मा जस्तै समाचार च्यानल ‘न्यु १८ हिमाचल’ का ३४ वर्षीय संवाददाता जगत बैसका विरुद्ध जाहेरी दर्ता भएको छ। लकडाउनको समयमा प्रशासनको कमजोरी सार्वजनिक गरेको भन्दै बैसका विरुद्ध ५० दिनमा ३ जाहेरी दर्ता गरिएको छ।

त्यस्तै मन्डीका ४४ वर्षीय पत्रकार अश्वनी सैनका विरुद्ध सवैभन्दा धेरै पाँच थान जाहेरी दर्ता भएका छन्। एक राष्ट्रिय समाचार च्यानलसँग जोडिएका डलहाउस पत्रकार विशाल आनन्दको विरुद्ध २ जाहेरी दर्ता भएका छन्। उनलाई पहिलो कमजोरी सार्वजनिक गरेको आरोपमा थियो भने दोस्रो जाहेरी दर्ताको आलोचना गरेकोमा रहेको छ।

मन्डीमा पञ्जाव केसरीका पत्रकार सोमदीव शर्माको विरुद्ध पनि एक जाहेरी दर्ता गरिएको छ। यी सबै पत्रकारलाई एकै जस्तो धाराको उल्लंघन गरेको आरोप लगाइएको छ। झुटो चेनावनीका लागि सजाय गरिने प्रावधानको दाबी गर्दै सजाय माग गरिएको छ। भारतीय दण्ड संहिताको धारा १८२ (झुटो सुचना), १८८ (सरकारी आदेश अवज्ञा) संक्रमण फैलाउन लापरबाही र व्यक्तिको सुरक्षामा खतरा पुर्‍याएको दाबी गरिएको छ।

सोलानी जिल्लाको पत्रकार संघका र प्रेस क्लबका अध्यक्ष भानु बर्माले यो सत्य लुकाउने प्रयासका लागि भइरहेको बताए। हिमाचलमा कोरोनाको संक्रमण वढेसँगै मुख्यमन्त्रीले आफ्नो कमजोरी लुकाउन पत्रकार विरुद्ध मुद्दा चलाउन थालेको उनले बताए। जिल्ला जनसूचना अधिकारी सचिव संगरले भने यस्तो अवस्थामा संयम हुन जरुरी हुने बताए। हिमाचलमा हाल ६६ संक्रमित र २ को मृत्यु भएको छ। नेपाल लाइफबाट सभार

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.