काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि सरकारले लकडाउनमा कडाई गर्ने संकेत देखाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नै लकडाउनमा कडाइ नगरे परिस्थिति नियन्त्रण बाहिर जाने बताइ सकेका छन्। प्रधानमन्त्री ओलीले काठमाडौं उपत्यकामा लकडाउन कडाइका साथ कार्यान्वयन गर्न निर्देशन समेत दिए। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले जारी लकडाउनलाई कडा पार्न निर्देशन दिएका हुन् ।
दिनहुँ कोरोना भाइरस संक्रमित भेटिरहेको बेला जारी लकडाउनलाई खुकुलो बनाउन नसकिने निर्देशन प्रधानमन्त्री ओलीले दिएको एक मन्त्रीले बताए । ‘प्रधानमन्त्रीले लकडाउन कडा बनाउन निर्देशन दिनुभयो,’ ती मन्त्रीले भने । प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै उनले भने, ‘काठमाडौंमा लकडाउन छ र ? यसलाई लकडाउन भनिँदैन । सुनको बाकसमा मान्छे राखेर के गर्नु, मरेपछि त सकियो नि ।’
केही मान्छे र मिडियाले भन्दैमा लकडाउनलाई खुकुलो बनाउन नमिल्ने बताउँदै उनले आर्थिक गतिविधि र व्यवसाय सिद्धिने आशंकामा लकडाउन खुकुलो बनाउन नहुने बताए । जीवन रहे अर्थतन्त्र जोगाउन सकिने बताउँदै उनले पहिला मान्छेलाई बचाउन आवश्यक रहेको र सोहीअनुसार काम गर्न निर्देशन दिए ।
प्रधानमन्त्री ओलीले कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै लकडाउन खुकुलो पार्दा अवस्था भयावह हुन सक्ने भएकाले लकडाउन कडा पार्नुको विकल्प नभएको बताए । संक्रमितको संख्या बढ्दै गएको बताउँदै यस्तो बेलामा हेलचेक््रयाइँ गर्न नमिल्ने बताए ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठन भएको उच्चस्तरीय समन्वय समितिको सिफारिसका आधारमा काठमाडौं उपत्यकामा शुक्रबारबाट लकडाउन खुकुलो पारिएको थियो । लकडाउन खुकुलो पारिएसँगै राजधानीमा चहलपहल बढेको छ भने यति नै बेला कोरोना संक्रमितको संख्या बढेको छ । राजधानी दैनिकबाट
Facebook Comments