महिला स्वास्थ्यकर्मीमाथि कुटपिट

बैतडी । बैतडीमा महिला स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका–३ स्थित न्वादेउ स्वास्थ्यचौकी अन्र्तगतको नकाली नगरस्वास्थ्य केन्द्रमा कार्यरत २५ वर्षीया अनमी जानकी भट्टमाथि कुटपिट भएको हो ।

स्वास्थ्य केन्द्रमै बिरामीको उपचार गरिरहेका बेला आफूमाथि स्थानीय दुई युवकले कुटपिट गरेको भट्टले बताए । पुर्चौडी नगरपालिका–३ का २४ वर्षीय मोहन कुँवर र २१ वर्षीय वीरेन्द्र कुँवरले कुटपिट गरेको हो ।

स्थानीय एक बृद्धा बिरामीलाई स्लाईन चढाइरहेका र सोही बेला ती युवकले कुटपिट गरेको उनले बताए । उनले भने, “बृद्धा आमा कान नसुन्ने र उहाँसँग ठूलो स्वरले बोल्दा स्वास्थ्यकर्मीले सेवा दिने तरिका यही हो भनेर गालीगलैच गर्दै कुटपिट गरे ।” ती युवाको कुटपिटबाट जानकीको हातको औला भाचिँएको, मुख, छाति र टाउकोमा चोट लागेको छ । उनको उपचार भइरहेको छ ।

आफू अहिले न्यायको खोजीका लागि नगरपालिकामा पुगेको जानकीले बताइन्। कुटपिट गर्ने ती युवकले स्वास्थ्यकेन्द्रमा कार्यरत स्वीपर(कार्यालय सहयोगी) बिमला कुँवरमाथि पनि हातपात गर्नुका साथै कार्यालयमा रहेका कागजात पनि च्यातेको बताइएको छ । कुटपिटपश्चात जानकीले ती युवालाई पक्राउ गरी आवश्यक कार्वाहीका लागि प्रहरी चौकी पुरघाटमा निवेदन दिएकी छन्

स्वास्थ्यकर्मीमाथि स्वास्थ्य संस्थामै कुटपिट र दुव्र्यवहार भएकोले आफू असुरक्षित रहेको न्वादेउ स्वास्थ्य चौकीका इञ्चार्ज गणेश धानुकले बताए । उनले भने “स्वास्थ्य कर्मीमाथि कुटपिट गर्ने जोसुकैलाई पनि कानूनी कार्वाही हुनुपर्छ, स्वास्थ्यकर्मीलाई काम गर्ने वातावरण बन्नुपर्छ ।”

कहाँबाट ल्याइएकाे थियाे सुटकेश भित्र भेटिएकाे शव ?

काठमाडौं । आइतबार गोंगबुमा सुटकेश र झोलामा फेला पारिएको शव ५० मिटर पर रहेको घरबाट ल्याइएको खुलेको छ । शवको सनाखत भएसँगै अपराध भएको स्थान पनि प्रहरीले फेला पारेको हो ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार टाउको र खुट्टाविनाको शव रहेको सुटकेश भेटिएको स्थानबाट ५० मिटरको दुरीमा दाङका कृष्णबहादुर बोहोराको हत्या भएको खुलेको हो ।

अहिले अपराधस्थललाई प्रहरीले घेरा हालेको छ भने अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिपक थापा, काठमाडौं प्रहरी प्रमुख श्यामलाल ज्ञवाली, काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौर लगायतको टोली घटनास्थलमा छ ।

हालसम्म प्रहरीले घटनामा कसैलाई पक्राउ गरिसकेको छैन । हत्याको कारणबारे पनि खुलाइएको छैन । यसअघि शवको पहिचान हुन नसकेपछि प्रहरीले तस्वीर सार्वजनिक गरेको थियो । तस्वीर सार्वजनिक गरिए लगत्तै मृतकको सनाखत भएको हो ।

सुटकेशमा भेटिएको शवको पहिचान खुल्यो

ठमाडौं । गोंगबुमा विभत्स अवस्थामा फेला पारिएको शव दाङका कृष्णबहादुर बोहराको भएको खुलेको छ । उनी नयाँ बजार क्षेत्रको एक उद्योगमा काम गर्ने प्रहरी स्रोतले बतायो ।

मृतकको सनाखत भएसँगै काठमाडौं प्रहरी परिसर र अपराध अनुसन्धान महाशाखाको टोली अहिले गोंगबु पुगेको छ । शवको सनाखत नहुँदा अनुसन्धानले गति लिन नसकेपछि प्रहरीले शवको तस्वीर सार्वजनिक गरेको थियो।

त्यसपछि शव बोहराको भएको खुलेको हो । आइतबार गोंगबु चोकनजिकै सुटकेशभित्र टाउको र खुट्टाविनाको शव भेटिएको थियो । कुकुरको सहयोगमा प्रहरीले त्यसको तीन सय मिटर पर टाउको र खुट्टा भेटेको थियो ।

कोरोना संक्रमण मुक्त हुनेकाे संख्या १६ हजार ४९३ पुग्याे

काठमाडौं । पछिल्लाे २४ घण्टामा थप १४० जना कोरोना संक्रमण मुक्त भएका छन् । देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

नेपालमा हालसम्म १६ हजार ४ सय ९३ उपचारपछि निको भएका छन्। धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला गरी ६ जिल्लामा संक्रमित शून्य भएका छन् । त्यस्तै २४ घण्टामा ८ हजार ४ सय ३२ जनाको पिसिआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले बताए।

हाल १० हजार ७ सय ५९ जना क्वारेन्टाइनमा छन्। आइसोलेसनमा ६ हजार ७ सय ३८ जना रहेका छन्। हालसम्म नेपालमा ७९ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ७९ पुगेकाे छ । साेमबार थप ४ जनाकाे काेराेनाबाट मृत्यु भएकाे पुष्टि भएसँगै मृतककाे संख्या ७९ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मृत्यु हुनेमा काठमाडौंका २ जना साथै बाँके र पर्साका एक/एक जना रहेका छन् ।

काठमाडौं जिल्ला का.म.न.पा. १०, मध्य बानेश्वर वस्ने ७६ वर्षिय एक पुरुष को मिति २०७७ साउन २६ गते विहान १०ः१५ बजे मेडिकेयर अस्पतालमा निधन भएको छ । श्वास प्रश्वासमा कठिनाई तथा जिउ दुख्ने समस्या भई साउन २३ गते राती १०ः१५ बजे भेन्टीलेटरमा राखी आइ सियुमा उपचाररत रहेका छन्। निजमा निमोनिया, उच्चरक्तचाप तथा मधुमेहको समस्या रहेको थियो। निजको गत साउन २४ गते स्वाव संकलन गरी परिक्षण गर्दा आज साउन २६ गते कोरोना पुष्टी भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै काठमाडौं जिल्ला किर्तिपुर न.पा. ट्याडलाफांट वस्ने ६४ वर्षिय एक पुरुषको मिति २०७७ साउन २६ गते विहान ५स्४२ वजे मेडिसिटी अस्पतालमा निधन भएको छ । मृगौलाका दीर्घरोगी निज मिति २०७७ आषाढ ३१ गते निमोनिया तथा सेप्टीक सक भई अस्पताल भर्ना हुनु भएको थियो । निजको गत साउन ५ गते कोरोना पुष्टी भएको ।

त्यस्तै जिल्ला बांके कोहलपुर नगरपालिका वडा नं २ वस्ने ७० वर्षिया एक महिलाको नेपालगंज मेडिकल कलेज, कोहलपुरमा मिति २०७७ साउन २५ गते दिउंसो ३ः१० बजे निधन भएको छ ।उच्च रक्तचाप तथा पारालाइसिसकी विरामी निज निमोनियां तथा सेप्टीक सक भई गत साउन २३ गते नेपालगंज मेडिकल कलेजमा भर्ना भएकी र सोही दिन स्वाव नमुना संकलन गरी भेरी अस्पताल नेपालगंजमा परिक्षण गर्दा साउन २५ गते सांझ बजे कोरोना पुष्टी भएको ।

यस्तै पर्सा जिल्ला वेदियाही गाउँपालिका वडा नं १५ वस्ने वर्ष ४५ की एक महिलाको मिति २०७७ साउन २५ गते विहान ४ बजे नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा निधन भएको छ । उच्च रक्तचाप तथा हाइपोथाइराडिजमकी विरामी निजमा श्वास प्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएको हो । मृत्यु पश्चात साउन २५ गते स्वाव नमुना संकलन गरी परिक्षण गर्दा कोराना पुष्टी भएको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा ४३ जनामा कोरोना संक्रमण

काठमाडाैं । सोमबार काठमाडौं उपत्यकामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यससँगै उपत्यकाका जिल्लाहरू काठमाडौंमा मात्रै कोरोना संक्रमितको संख्या ९४६ जना, ललितपुरमा १४३ जना र भक्तपुरमा हालसम्म ८८ जना पुगेको छ। सरकारले कोरोना संक्रमित बढ्न थालेपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरेको छ भने साँझ ७ बजेदेखि बिहान ७ बजेसम्मको आवागमनलाई बन्द गराएको छ।

साथै सवारी साधनमा जोर बिजोर र राति ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन समेत बन्द गरेको छ। त्यस्तै उपत्यकाका तीनै जिल्लामा आइतबारदेखि लागू हुनेगरी अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्द गरिएका छन्।

थप ३३८ जनामा संक्रमण पुष्टि, १४० जना डिस्चार्ज, मृतककाे संख्या ७९ पुग्याे

काठमाडौं । नेपालमा आज थप ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २३ हजार ३१० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ३३८ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा थप १४० जना कोरोना संक्रमण मुक्त भएका छन् । याेसँगै कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १६ हजार ४९३ पुगेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ७९ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेकाे छ ।

पुतलीसडकमा आगलागी

काठमाडौं । काठमाडौँको पुतलीसडकमा आगलागी भएको छ । काठमाडौँ महानगरपालिका–३१ पुतलीसडकस्थित कृष्णशङ्कर कसजुको घरको दोस्रो तलामा आज अपराह्न आगलागी हुँदा कन्सल्टेन्सीमा क्षति पुगेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता सोमेन्द्रसिंह राठौरले आगलागी हुँदा स्टाण्डर्ड एजुकेशन कन्सल्टेन्सीको एक कोठामा क्षति पुगेको जानकारी दिए ।

विद्युत् चुहिएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ । कन्सल्टेन्सी बन्द रहेका बेलामा एक्कासि धुवाँको मुस्लो बाहिर निस्केपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले काठमाडौँ महानगरपालिकाको दमकलको सहायतामा अहिले उक्त आगो नियन्त्रणमा लिइसकेको छ । आगलागीबाट के कति क्षति भयो भन्नेबारे तथ्याङ्क सङ्कलन भइरहेको प्रहरी उपरीक्षक राठौरले बताए। रासस

कांग्रेसका १२ विभागमा ४६४ जना मनोनित (सूचीसहित)

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकैपटक ठूलो संख्यामा विभागका उपप्रमुख, सचिव र सदस्य मनोनित गरेका छन्। सभापति देउवाले कांग्रेसमा रहेका १२ विभागमा ४६४ जनालाई मनोनित गरेको केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम हिजो केन्द्रीय विभागमा उपप्रमुख, सचिव, सदस्य मनोनयन गरिएको पौडेलले उल्लेख गरेका छन्।

उपत्यकाका ४० प्रतिशत संक्रमित कतै यात्रा नै नगरेका

काठमाडाैं । काठमाडौं उपत्यकामा कोरोना महामारीको जोखिम प्रतिदिन बढ्दै गएको छ । शुक्रबार र शनिबार फेला परेका अधिकांश सङ्क्रमितको यात्रा विवरण उपत्यका बाहिर देखिँदैन । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएकाले स्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना गर्न आग्रह गरिएको बताउँछन् । सर्वसाधारणको लापरबाहीका कारण सङ्क्रमण टोल, गल्ली र बस्तीमा फैलिइसकेको आशङ्का बढेकाले उच्च सतर्कता जरुरी भएको हो ।

पीसीआर परीक्षण गर्दा ‘पोजेटिभ रिपोर्ट’ आएकाको यात्रा विवरण हेर्दा बाहिरबाट आउनेको सङ्ख्या ६० प्रतिशत र कहीँ कतै नगएको विवरण उल्लेख गर्नेहरूको सङ्ख्या ४० प्रतिशत छ । बन्दाबन्दी हटेसँंगै असुरक्षित आवागमनका कारण सङ्क्रमण फैलिएको बुझाइ सुरक्षा अधिकारीको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।