महासचिव पौडेलको संयोजकत्वमा नेकपा विवाद मिलाउने कार्यदल गठन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद समाधानका लागि सुझाव पेश गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको छ । शुक्रबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटमा कार्यदल गठन गर्ने सहमति भएको हो ।

कार्यदलमा भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे सदस्य छन् । केपी ओली, प्रचण्ड र माधव नेपाल समूहका दुई दुई जनाको प्रतिनिधित्व हुने गरी कार्यदल गठन भएको हो । कार्यदलले चाँडोभन्दा चाँडो पार्टीभित्रका समस्या समाधानका लागि एकीकृत सुझाव दिने महासचिव पौडेलले बताए ।

राष्ट्रिय एकता अभियानद्वारा पाकिस्तानी दुतावास अगाडि प्रदर्शन

काठमाडौँ। राष्ट्रिय एकता अभियानले काठमाडौँको महाराजगंज स्थित पाकिस्तानी दुतावास अगाडि शुक्रबार प्रदर्शन गरेको छ।

पाकिस्तानको ७४औं स्वतन्त्रता दिवसको अवसरमा दुतावास अगाडि पुगेर राष्ट्रिय एकता अभियानका सदस्यहरुले हिन्दु र बौद्ध धर्मावलम्बिहरुमाथि भइरहेको हिँसा बन्द गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन्।

राष्ट्रिय एकता अभियानका संयोजक विनय यादवका अनुसार शुक्रबार दिउँसो एक बजे पाकिस्तानी राजदुतावास महाराजगंज पुगेर विरोध प्रदर्शन गरिएको हो। पाकिस्तानी सरकारले हिन्दु, बौद्ध र क्रिष्टियनहरुमाथि भइरहेको ज्यादती र हिँसालाई रोक्न कुनै पनि कदम नचालेको अभियानका संयोजक यादवको भनाई छ।

संयोजक यादवले भने, ‘पाकिस्तानले आज आफ्नो ७४औं स्वतन्त्रता दिवस मनाई रहेको छ। यसै अवसरमा हामीले उक्त देशमा रहेका हिन्दु,, बौद्ध र क्रिष्टियनहरुमाथि मुसलमानहरुले हिँसा गरिरहेका छन्। मन्दिरहरु तोडफोड गरिरहेका छन्। छोरीचेलीहरुमाथि बलात्कार र हत्या गरिरहेका छन्। बलजफ्ति बिबाह गर्ने र धर्म परिवर्तन गराउने काम गरिरहेका छन्। तर, पाकिस्तानी सरकार मौन छ। मानवता हराइरहेको बेलामा पनि सरकार मौन बसेको छ।’

उनले अगाडि भने, ‘करिब ४० वर्ष पहिले पाकिस्तानमा ३० प्रतिशत हिन्दुहरु थिए। आज एक प्रतिशत पनि हिन्दु धर्मावलम्विहरु छैनन्। यति धेरै हिन्दु धर्ममान्ने मान्छेहरु कहाँ गए? विश्वलाई थाह छ कि पाकिस्तानमा बहुसंख्यक रुपमा रहेका मुसलमानहरुले अन्य धर्म मान्ने मान्छेलाई देख्नै सक्दैनन्। कुट्ने, पिट्ने, मार्ने, बलात्कार गर्ने जस्ता अपराधिक कामहरु गर्छन्। यस्ता अपराधहरुलाई रोक्नका लागि हामीले नेपालस्थित पाकिस्तानको दुतावास अगाडि प्रर्दशन गरेका हौं।’

उनले विरोध प्रदर्शनका क्रममा नेपाल प्रहरीले आफूहरुमाथि धरपटक गरेको समेत जानकारी दिएका छन्। पाकिस्तानले शुक्रबार अर्थात अगष्ट १४ मा स्वतन्त्रता दिवस मनाएको छ। त्यस्तै भारतले शनिबार अगष्ट १५ तारेकमा आफ्नो ७४औं स्वतन्त्रता दिव मनाउने तयारी गरिरहेकाेछ।

ओली-प्रचण्डवीच चारघण्टाकाे छलफलमा भयाे यस्ताे निर्णय

काठमाडौं । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विहीबार करिब चारघण्टाको छलफल सकारात्मक निष्कर्ष नजिक पुगेको नेताहरुले दाबी गरेका छन् ।

दुई अध्यक्षबीच एक्ला एक्लै छलफलमा के कुरा भयो भन्ने जानकारी भने नदिइएको महासचिव विष्णु पौडेलले बताए ।

तर स्राेतका अनुसार नेकपाभित्र अहिलेको विवाद समाधान गर्न महाधिवेशन आयोजक समिति गठन गर्ने नयाँ प्रस्ताव ओली पक्षले अगाडि सारेको छ । हालको केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको तर्फबाट प्रचण्डसमक्ष लगिएको स्रोतले जनाएको छ ।

बुधबार प्रचण्डलाई महासचिव बिष्णु पौडेल र स्थायी कमिटी सदस्य शंकर पोखरेलले भेटेका थिए । महाधिवेशन आयोजक समितिको प्रस्ताव बालुवाटारबाटै आएको प्रचण्डनिकट नेताहरुले बताएका छन् । यद्यपि त्यसबारेमा दुई अध्यक्षबीचको पछिल्लो छलफल कस्तो भयो भन्ने खुलाइएको छैन ।

नेकपा स्रोतका अनुसार केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्ने र चैतमा महाधिवेशन गर्ने प्रयोजनबाहेक त्यसले अरु कुनै निर्णय गर्न नपाउने गरी आयोजक समितिको संयोजक प्रचण्डलाई बनाउन ओली लचिलो बनेका छन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा ९ दिनपछि दुई अध्यक्षबीच सम्वाद भएको हो । दुई अध्यक्षबीचको छलफलमा महासचिव बिष्णु पौडेल र नेताहरु शंकर पोखरेल तथा जनार्दन शर्मा पनि सहभागी भएको बताइएको छ । तर, पौडेलले भने दुई अध्यक्षबीच एक्लाएक्लै छलफल भएको बताए ।

बालुवाटार स्रोतका अनुसार एक्लाएक्लै र सामुहिक छलफलमा पार्टीमा उत्पन्न गतिरोध अन्त्य गर्ने उपाय खोजिएको छ । त्यसमा विभिन्न विकल्पहरु प्रस्तुत भए पनि दुई अध्यक्षबीचको एक्ला एक्लै कुराकानी परिणाममा नआउन्जेल सबै विकल्प अनुमानका लागिमात्र काम लाग्ने एक नेताले बताए ।

असार १० बाट शुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी ओलीको राजीनामा माग भएपछि र ओलीले बैठकलाई पटक-पटक बेवास्ता गरेपछि चर्किएको सत्तारुढ नेकपाभित्रको विवाद मिलाउन दुई अध्यक्षवीच पुनःवार्ता गराउन नेताहरुले दौडधूप गरेका थिए ।

यसबीचमा ओली र प्रचण्डबीच झलनाथ खनाल तथा सुवास नेम्वाङलाई समेत राखेर छलफल भएको थियो । सहमतिका विभिन्न विकल्पहरु आए पनि दुई अध्यक्षले केही दिनभित्रै सबैलाई मान्य हुने गरी निकास निकाल्ने संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

गहना किनेर नक्कली चेक दिने महिला पक्राउ

काठमाडाैं । महानगरीय अपराध महाशाखाले ४ लाख ३६ हजार रुपैयाँ बराबरका सुनचाँदीका गहना किनेर पैसा नतिरी भाग्ने झापाकी शारदा मगरलाई पक्राउ गरेको छ ।

नयाँ बानेश्वरकी रमिता रञ्जित श्रेष्ठको उजुरीकाे आधारमा मगरलाई पक्राउ गरिएको महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो । उनले सिक्री, सुनको लकेट, बाला, सुन र हिराको औँठी लगायतका गरगहना बनाएको र एक सहकारी संस्थाको नक्कली चेक दिएर ठगेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी शारदाले डेढ तोलाकाे सुनको सिक्री १ थान, ५४ लालको सुनको लकेट १ थान, १ तोला ५२ लालको सुनको ब्रासलेट १ थान, हिराको औठी १ थान, र ३५ लालको सुनको औठी १ थान किनेर नक्कली चेक दिएर फरार भएकाे प्रहरीले जनाएकाे छ।

२९ वर्षीया शारदा मगरले अन्य व्यक्तिलाई पनि ठगेको हुन सक्ने भएकाले ठगीमा परेकाहरुलाई उजुरी दिन पनि अपराध महाशाखाले अनुरोध गरेको छ ।

काठमाडाैं उपत्यकामा थपिए १२७ जना काेराेना संक्रमित

काठमाडाैं । पछिल्लाे २४ घण्टामा काठमाडाैं उपत्यकामा थप १२७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । पछिल्लाे २४ घण्टामा देशभर थप ५२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा काठमाडाैं उपत्यकाभित्र १२७ जनामा संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमले दिएकाे जानकारी अनुसार उपत्यकामा थपिएका संक्रमितमा काठमाडौंका १११, ललितपुरका ११ र भक्तपुरका ५ जना छन् ।

देशभर कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । पछिल्लो अध्यावधिक विवरणअनुसार १०९ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १६ हजार ८३७ जना पुगेको मन्त्रालयले जनाएकाे छ ।

आज साउन २९ गते बिहिबारको राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ नयाँ कार्यको अवसर मिल्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अनावस्यक खर्चबाट बच्न सकिन्छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज विचार गरेर बोल्नु पर्नेछ । गरेको काममा ढिलासुस्ती हुनेछ । दबाब र तनाव बढेको महसुस होला । चोटपकको भयपनि रहनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । गरेको कार्यबाट सफलता मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ । शत्रुपक्ष हावी हुन सक्नेछन् ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्, तर विद्या र बुद्धिमा ह्रास आउन सक्छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज सरुवा र बडुवाको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । रोकिएको धन हातलागी हुनसक्छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । मन प्रसन्न रहला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज आकस्मिक धनलाभ हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । दाई भई वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज भाग्यमा वृद्धि हुनेछ । सन्तान सुखको योग छ । नयाँ र शुभ समाचार सुन्न पाइनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज पारिवारिक सद्भाव बढ्नेछ । भौतिक सुख मिल्नेछ । आफन्तको साथ र सहयोग मिल्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज भाग्यमय वृद्धि हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट राम्रो हुनेछ व्यापार र व्यवसायपनि फस्टाउनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज अकस्मात सफलता पाईन सकिन्छ तर अपमानको सम्भावनापनि रहनेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ । शैक्षिक क्षेत्र राम्रै रहला । – ज्यो.प. नारायणप्रसाद दुलाल

ताेलामा ६ हजार २०० रुपैयाँले घट्याे सुनकाे मूल्य

काठमाडौं । आज सुनको मूल्य ६ हजार २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य अघिल्लो दिनकाे तुलनामा तोलामा ६ हजार २०० रुपैयाँ घटेर ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको हो ।

गत साउन २३ मा तोलामा १ लाख ३ हजार ५०० रुपैयाँसम्म पुगेको सुनको मूल्य त्यससता भने क्रमशः घट्दै गएको हो । यस्तै तेजावी सुन तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यस्तै बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १४३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १२१० रुपैयाँमा कारोबार भएको हो ।

काेराेनाकाे कहर: राति हिँडडुल गर्न प्रशासनको रोक

चितवन । कोरोना भाइरसको संक्रमण बढेसँगै जिल्लामा रातको समयमा हिँडडुलमा रोक लगाइएको छ । जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले मंगलवारबाट राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो ।

बैठकले रातको समयमा सवारीसाधन र मानिसहरूको पैदल आवागमनमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार राजनीतिक दल संघसंस्था लगायत सबैले २५ जनाभन्दा बढी मानिस भेला भएर गरिने बैठक, आमसभा, साधारणसभा लगायतका कार्यमा रोक लगाइएको छ ।

चियापसलमा बसेर चिया खाने प्रवृत्तिलाई निरुत्साहित गर्ने र खाजाघर तथा राजमार्ग क्षेत्रका पसललाई प्याकेटमा खाना खाजा प्याक गरी प्रदान गरिने ‘टेक अवे’ सेवा सञ्चालन गर्ने, राति ९ बजेपछि बिहान ५ बजेसम्म सेवाग्राहीलाई दिने सेवा बन्द गर्ने निर्णय भएको छ ।

अन्य जिल्ला तथा छिमेकी मुलुकबाट अनुमति विना जिल्लामा प्रवेश गर्न सक्ने मानिसका कारण कोभिड–१९ को संक्रमणको जोखिम बढेको देखिएको बैठकको निष्कर्ष छ । त्यसरी प्रवेश गर्न नदिन जिल्ला प्रवेश गर्ने नाकाहरूमा हुने गरेको जाँचलाई थप प्रभावकारी बनाई निरन्तरता दिने र विदेशबाट आउने नेपालीलाई होल्डिङ सेन्टरमार्फत सम्बन्धित स्थानीय तहसँग समन्वय गरी क्वारेन्टीनमा पुर्‍याउने व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले आफ्नो क्षेत्रमा मानिसले मास्क लगाए नलगाएको, सार्वजनिक स्थानमा भौतिक दूरी कायम गरे नगरेको, बैंक तथा वित्तीय संस्था, चिया पसल, होटल, सार्वजनिक यातायात, व्यापारिक मल, सरकारी कार्यालयमा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरे नगरेको कडाइका साथ अनुगमन गर्ने निर्णय गरेको छ । यीसँगै उद्योग तथा व्यापारिक प्रतिष्ठानमा बाहिरबाट कामदार ल्याए/नल्याएको र कामदारको स्वास्थ्य सुरक्षामा उचित ध्यान दिए नदिएको अनुमगन गर्न स्थानीय तहमा सम्बन्धित वडाका वडाध्यक्षको संयोजकत्वमा प्रहरीको समेत सहभागिता रहने गरी अनुमगन समिति बनाई अनुगमन गर्ने निर्णय गरिएको प्रजिअ भट्टराईले जानकारी दिए ।

यसैगरी साविकदेखि नै व्यवस्थापन हुँदै आएका सार्वजनिक क्वारेन्टीनहरूलाई थप व्यवस्थित बनाउने निर्णय गर्दै सार्वजनिक क्वारेन्टीनमा बस्न नसक्ने बिरामी, ज्येष्ठ नागरिक, ५ वर्षमुनिका बालबालिका र अशक्त व्यक्तिलाई मात्र घरमा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न सक्ने अवस्था भएको सुनिश्चित गरी होम क्वारेन्टीनमा राख्न दिइने भएको छ ।

बैठकले जिल्ला स्वास्थ्य कार्यालयसँगको समन्वयमा कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलन गर्ने, कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय रेडियोबाट सूचना सम्प्रेषण, माइकिङ लगायतका कार्य गरी जनचेतना अभिवृद्धि गर्ने निर्णय गरेको छ । सबै उद्योग तथा व्यापारिक प्रतिष्ठानलाई अर्को सूचना नभएसम्मका लागि स्थानीय तह र प्रशासन कार्यालयको पूर्व स्वीकृति बिना बाहिरबाट कामदार नल्याउन, हाल कार्यरत रहेका अन्य जिल्ला र छिमेकी मुलुकका कामदारको यथार्थ विवरण फरक नपर्ने गरी ३ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा अनिवार्यरूपमा पेश गर्न निर्देशन दिने निर्णय गरेको प्रजिअ भट्टराईले जानकारी दिए ।

कपिलवस्तुका २ जनाको बुटवलको कोरोना अस्पतालमा मृत्यु

काठमाडाैं । बुटवलको कोरोना विषेश अस्थायी अस्पतालमा कपिलवस्तुका २ जनाकाे मृत्यु भएकाे छ । आइसोलेसनमा भर्ना भएर उपचार गराइरहेका कपिलवस्तु नगरपालिका वडा नंं. २ तौलिहवाका ४२ वर्षीय कृष्णकुमार गुप्ता र कृष्णनगरका २५ वर्षीय प्रदीप तेलीको गएराति मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।

गुप्ता साउन २५ गते र तेली साउन २७ गते अस्पतालमा भर्ना भएका थिए । गुप्तामा कोरोना संक्रमण पुष्टि भए पनि तेलीको स्वाब परीक्षण हुन बाँकी छ । तेलीको स्वाबको पीसीआर परीक्षण अब गर्ने तयारी भएकाे बताइएकाे छ।

डोटीमा बस दुर्घटना : तीनको मृत्यु, ३२ घाइते

डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार कैलालीबाट अछामका लागि जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन सकेको छैन । नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले घाइतेहरुको अहिले उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेले बताए। उनले भने, “हामी घटनास्थलमै घाइतेको उद्धार गरिरहेका छौँ, घाइतेको सङ्ख्या अधिक छ, जिल्ला अस्पताल पठाउने तयारीमा छौँ ।” बस सडकबाट ३० मिटर तल खसेको थियो । वर्षाका कारण सडक चिप्लो भएकाले गाडी दुर्घटना भएको हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ ।