काेराेनाकाे सन्त्रास: काठमाडौं प्रशासनले लगायाे नयाँ, के-के गर्न पाइदैन?

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले कोरोना भाइरस (कोभिड-१९) संक्रमणको दर बढ्दै गएपछि कडाई गर्ने निर्णय गरेको छ। शुक्रबार प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले काठमाडौंमा तत्काल गर्न नहुने कामको सूची सार्वजनिक गरेका हुन्।

दाहालले सार्वजनिक गरेको आदेश विपरीत गतिविधि भए स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) अनुसार कारबाही हुने बताएका छन्।

कोरोना संक्रमण बढ्दै जाँदा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै संक्रमण रोकथाम तथा नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउन सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउन भन्दै जिल्ला प्रशासनले यस्तो आदेश जारी गरेको हो। यो आदेश शुक्रबार राति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्मका लागि काठमाडौं जिल्लाभर लागू हुने आदेशमा उल्लेख छ।

निशेष गरिएका गतिविधि
-खुला स्थानमा मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न,
-भीडभाड हुने गतिविधि जस्तै जात्रा, महोत्व सञ्चालन गर्न,
-दैनिक हुने नित्य पूजाबाहेकका सम्पूर्ण धार्मिक गतिविधि,
-उद्योग व्यापार व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरितका क्रियाकलाप,
-चाडपर्व लगायतका धार्मिक सांस्कृतिक कार्य गर्नका लागि हुने जमघटहरु,
-शैक्षिक संस्थाहरु सञ्चालन गर्न,
-सबै प्रकारका सभा गोष्ठी तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, शैलुन, ब्यूटी पार्लर, स्पा, स्वीमिङ पुल, जिमखाना समूहमा खेलिने खेलकुद र खेल प्रस्तुति, पुस्तकालय, संग्रहालय, चिडियाखाना सञ्चालन गर्न,
-फुटपाथ, खुला ठाउँ र ठेला गाडा साइकल सञ्चालन हुने विभिन्न व्यवसाय, कवाडी संकलन गर्न,
-उद्योग व्यवसाय सञ्चालका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिक कामदारको ओसार पसार गर्न,
-टेक वे बाहेक होटल रेष्टुराँ सञ्चालन गर्न।

ओली र प्रचण्डको वार्ता डोनाल्ड ट्रम्प र सी चिनफिङको जस्तो

गोरखा : नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को वार्ता हुने भनेको डोनाल्ड ट्रम्प र सी चिनफिङको वार्ता हुने जस्तो रहेको पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आरोप लगाएका छन्।

गृहजिल्ला गोरखा पुगेका जनता समाजवादी पार्टीका वरिष्ठ नेतासमेत रहेका भट्टराईले शुक्रबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कोरोना महामारी व्यवस्थापन गर्नुपर्ने बेला सत्तासीन पार्टीका दुई नेताको भेटघाट र वार्ता नै दुर्लभ हुने गरेको टिप्पणी गरे।

‘हामीले यस्ता नेता छानेका छौं, जुन नेता यस्तो कोरोनाको बेलामा आफ्नै पार्टीभित्रको झगडामा रुमल्लिरहेका छन्’, उनले भने, ‘उहाँहरुको झगडा महिनौँसम्म चलिरहन्छ। केपी र प्रचण्डको वार्ता हुनु भनेको चाहिँ डोनाल्ड ट्रम्प र सी चिनफिङको वार्ता भए जस्तो, नरेन्द्र मोदी र केपी ओलीको वार्ता हुनु जस्तो गरेर कहिले वार्ता हुन्छ होला भनेर पर्खेर बस्नु पर्छ।’

कोरोना परीक्षणको दायरा बढाउनु पर्ने, स्वास्थ्य उपकरण जुटाउने, दातृ निकाय खोज्ने, राहतको व्यवस्था गर्नुपर्ने बेलामा सरकार मजाक गरेर बसेको उनको आरोप छ।

‘अहिले कोरोना महामारीको समाधान खोज्ने बेला हो कि अयोध्याखोज्ने बेला हो ? राममन्दिर बनाउने बेला हो कि अस्पताल बनाउने बेला हो ?’, उनले भने, ‘हुन त उहाँहरुलाई सुझाव दिनु भनेको भालुलाई पुराण सुनाए जस्तो हो। यसको कुनै अर्थ छैन।’ अहिले सरकारबिहिनताको अवस्था रहेको उनको टिप्पणी छ।

‘जहिलेसम्म केपी ओली जस्ता मान्छे सत्तामा रहन्छन्, कुनै स्पष्ट नीतिबिना लहडको भरमा देश चलिरहन्छ’, उनले भने, ‘सुझबुझ, स्पष्ट नीति, शृङ्खलाबद्ध योजना केही पनि छैन। यस्तो मान्छे प्रधानमन्त्री रहेसम्म देशले दुःख मात्र पाउनेवाला छ।’ यसलाई नेकपाको आन्तरिक मामिला हो भनेर सहेर बस्ने अवस्था नरहेको भन्दै उनले नेतृत्व परिवर्तनका लागि जनस्तरबाट आवाज उठाउनु पर्ने बेला आएको बताए।अन्नपुर्ण पाेष्टबाट

आज साउन ३१ गते शनिवारको राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबिचको सम्बन्धमा सुधार भएर जानेछ । शुभ समाचार सुन्न पाईएला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पठनपाठनमा प्रगति हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) श्रमको उचित मुल्याङ्कन हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । कलकारखाना र बन्दव्यापारमापनि राम्रै हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मन सम्हाल्न आवश्यक हुनेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । दाम्पत्य जीवनपनि सुखमय नै हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मन खिन्न हुने स्थिति आउनेछ । कार्य सम्पादनमा सहजता नमिल्ला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्यप्रति सजक रहनु होला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) इनाम र प्रतिष्ठा कमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । अधुरो काम बन्नेछ । धार्मिक र सांस्कृतिक कार्यमा सरिक भाईनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रेमीको सहयोग प्राप्त हुनेछ । छोटो यात्रापनि होला । – ज्यो.प. नारायणप्रसाद दुलाल

कोरोना संक्रमण मुक्त हुनेकाे संख्या १७ हजार ७७ पुग्याे

काठमाडौं । नेपालमा शुक्रबार थप २४० जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ डस्चार्ज हुनेको संख्या १७ हजार ७७ जना पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार कुल संक्रमितहरु मध्ये ६६.८ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यसैबीच नेपालमा आज थप ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २५ हजार ५५१ पुगेको छ । नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा पछिल्लाे २४ घण्टामा ५९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ ।

धनुषाका एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडाैं । नेपालमा थप एक जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा धनुषाको जनकनन्दनी गाउँपालिका-४ का ५० वर्षीय पुरुष रहेका छन् ।

श्वास प्रश्वासमा समस्या देखिएका ती पुरुषलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको थियो । तर, यहाँबाट बिहीबार काठमाडौं रेफर गर्दा बाटोमै उनको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका वरिष्ठ प्रशासक विजय झाले जानकारी दिए । उनलाई बिहीबार दिउँसो १ बजे रेफर गरेको र ३ बजे नै मृत्यु भएको झाले बताए ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मोरङ र सिरहाका १–१ तथा बाराका २ जनाको गरी ४ जनाको निधन भएको जानकारी दिए ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ११९ सहित देशभर ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २५ हजार ५५१ पुगेको छ।

काेराेना अपडेट : पछिल्लाे २४ घण्टामा थप ५९४ मा संक्रमण पुष्टि, २४० जना डिस्चार्ज

काठमाडौं । नेपालमा आज थप ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ५९४ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा थप २४० जना कोरोना संक्रमण मुक्त भएका छन् । याेसँगै कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १७ हजार ७७ पुगेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ९९ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेकाे छ ।

त्रिविबाट पक्राउ परेका विद्यार्थी नेताहरुलाई रिहा गर्न माग

काठमाडौं । नेपाल विद्यार्थी संघ(नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयबाट पक्राउ परेका विद्यार्थीहरुलाई तत्काल रिहा गर्न माग गरेको छ । नेविसंघका अध्यक्ष राजीव ढुंगानाले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी साउन २७ गते विश्वविद्यालय परिसरबाट पक्राउ गरेका विद्यार्थीहरुलाई तत्काल रिहा गर्न माग गरेका हुन् ।

प्रहरीले साउन २७ गते विश्वविद्यालयमा तोडफोड गरेको आरोप लगाउँदै विद्यार्थी नेताहरु सम्झना खत्री, श्यामराज ओझा, हरि जोशी, विष्णु पौडेल, गणेश थानी, रमेश कुँवरलगायत आठ जनालाई पक्राउ गरेको थियो ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति र प्रहरीका केही अधिकारीले संघका कार्यकर्तालाई झुठो मुद्दा लगाएर फसाउन खोजेको संघले आरोप छ ।

रुपन्देहीका ११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं । रुपन्देहीमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेशनल प्याथ ल्याब बुटवलमा भएको समुदायस्तरको परीक्षणमा बुटवल उपमहानगरपालिकाका ५ जना र सिद्धार्थननगर नगरपालिका भैरहवाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देही भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए ।

उनीहरू सबैले स्वेच्छाले निजी प्रयोगशालामा शुल्क तिरेर पीसीआर परीक्षण गराएका थिए । बुटवलका पाँच जनामध्ये बुटवल–११ देवीनगरका ४ जना र वडा नंं. १६ का एक जना रहेका छन् भने सिद्धार्थनगरका ६ जनामध्ये वडा नं. ४ का ४ जना र देवकोटा चोकका २ जना रहेका शाहले बताए । योसंगै रुपन्देहीमा कोरोना भाइरस संक्रमितको संख्या ४ सय १७ पुगेको छ । रुपन्देहीमा ७७ जना संक्रमित अस्पतालमा उपचाररत छन् भने ३ सय २८ जना निको भएर घर फर्केका छन् ।

वडा अध्यक्षकै मोटरसाइकल चोरी

परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा–९ का अध्यक्ष कन्हैया थारुको घरबाट उनी चढ्ने सेतो नम्बर प्लेटको मोटरसाइकल राति चोरी भएको छ । कार्यालय प्रयोजनको लागि नगरपालिकाले वडा अध्यक्ष थारुलाई दिएको उक्त मोटरसाइकल राति घरको कम्पाउण्डमा राखिएको अवस्थामा चोरी भएको होे ।

नगरपालिकाले सबै वडा अध्यक्षहरुलाई कार्यालय प्रयोजनको लागि सेता प्लेटको मोटरसाइकल उपलब्ध गराएको छ । वडा अध्यक्ष थारुले पाएको लु १ ब १९२९ नम्बरको होण्डा साईन सरकारी मोटरसाइकल उनको घरबाट राती चोरी भएपछि खोजी कार्य भैरहेको वडा अध्यक्ष थारुले जानकारी दिए । ‘‘घरको कम्पाउण्डमा कार, व्यक्तिगत मोटरसाइकल भएपनि चोरले सरकारी मोटरसाइकल नै चोरेर लगेको अध्यक्ष थारुले जानकारी दिए ।