बाँकेमा २० जनालाई कोरोना संक्रमण पुष्टि

काठमाडाैं । बाँकेमा १५ जना सशस्त्र प्रहरीसहित २० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। काेराेना भाइरस संक्रमण पुष्टि हुनेमा अन्य ५ जनामध्ये ग्लोबल आइएमइ बैंकका कर्मचारी पनि भएकाे भेरी अस्पताल, नेपालगञ्जले जनाएकाे छ ।

जानकी गाउँपालिकामा ३० गते ९२ जनाको स्वाव लिइएकाहरुमध्येबाट २० जनामा कोरोना संक्रमण पुष्टि भएकाे बताइएकाे छ । स्थानीय प्रशासनले १७ गतेदेखि जारी गरेको निषेधाज्ञा ३० गते हटाएपनि भीडभाड हुन दिएको छैन । सवारी साधनलाई जोर, बिजोर गरी सञ्चालन गरिएको छ। जानकी गाउँपालिकाले आज राती १२ बजेदेखि लागु हुने गरी भदौ ५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ ।

१७ अंकले घट्यो नेप्से

काठमाडौं । आज नेप्से परिसुचक १७ दशमलव ३३ अंकले घटेर १ हजार ३९१ दशमलव ४६ विन्दुमा पुगेको छ । आज १८५ ओटा कम्पनीको ४३ लाख ७१ हजार ८५४ कित्ता शेयरको १ अर्ब २५ करोड रूपैयाँ बरावरको शेयर खरीदविक्री भएको नेपाल स्टक एक्सचेञ्जले जनाएकाे छ ।

काराेबारकाे अघिल्लो दिन नेप्से परिसुचक १ हजार ४०७ दशमलव ८६ विन्दुमा थियो । आइतवार सबैभन्दा बढी साधना लघुवित्त वित्तीय संस्थाको शेयर ९ दशमलव ९२ प्रतिशत वृद्धि भएको छ । उक्त कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६९८ पुगेको छ । सबैभन्दा बढी कारोबार नेपाल बैंकको भएको छ । नेपाल बैंकको शेयर कारोबार ८ करोड १४ लाख रूपैयाँ बराबरकोको भएको छ ।

प्रधानन्यायाधीशबाटै कार्यविधि मिचेर सफाइ

काठमाडौँ । सर्वोच्च अदालतले तास खेल्ने क्रममा भएको विवादलाई अपहरण ठहर्‍याउन नमिल्ने भन्दै अपहरण तथा शरीर बन्धक मुद्दाका प्रतिवादीहरूलाई सफाइ दिएको खुलेको छ । अवकाश हुनुभन्दा तीन साताअघि कार्यविधि मिचेर तत्कालीन प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले मुद्दाको सुनुवाइ गरी आरोपितहरूलाई सफाइ दिएको खुलेको हो ।

दुर्गाबहादुर अधिकारीको अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दामा सुनसरी जिल्ला अदालत र तत्कालीन पुनरावेदन अदालत विराटनगरको फैसला उल्ट्याउँदै हेमकर्ण पौडेल र उनका साथीहरूलाई सफाइ दिइएको थियो । फैसला गर्दा मिश्रको साथमा न्यायाधीश केदारप्रसाद चालिसे संयुक्त इजलासमा थिए । २०७५ मंसिर २३ को फैसलाको पूर्णपाठ हालैको सर्वोच्च अदालत बुलेटिनमा प्रकाशित छ । मिश्रले त्यसअघि पनि जिल्ला र पुनरावेदन अदालतको आदेशविरुद्ध परेको निवेदनको सुनुवाइ गरी आरोपितहरूलाई साधारण तारेखमा छाड्नू भनी आदेश गरेका थिए ।

जिल्ला र तत्कालीन पुनरावेदन अदालतले अपहरण तथा शरीर बन्धकको आरोप पुष्टि गरेको मुद्दा सर्वोच्च अदालत पुगेको थियो । अधिकारीलाई अपहरणको आरोपमा हेमकर्ण पौडेल, ‘सूर्य काँडे’ भनिने सूर्य राई, अजिस श्रेष्ठ र रोशन तामाङविरुद्ध चलेको तीनवटा मुद्दा २०७३ माघदेखि २०७४ जेठसम्म दर्ता भएका थिए । पौडेल त्यतिबेला कांग्रेसका इटहरी नगर सभापतिसमेत थिए । उक्त मुद्दाको अनुसन्धानदेखि नै राजनीतिक प्रभाव देखिएको भनी इजलासमै प्रश्न उठेको थियो । कान्तिपुर दैनिकबाट

करिब २ सय ५१ किलो सुन बिक्री, कसले किन्यो दुई अर्बको सुन ?

कोभिड–१९ का कारण समग्र अर्थतन्त्र शिथिल भइरहँदा सुन बजार पनि अछूतो रहेन । अन्तर्राष्ट्रिय बजारमा भाउ बढिरहँदा यहाँ पनि दैनिक नयाँ–नयाँ रेकर्ड बनाइरह्यो । सुनको भाउ बढेर तोलामै एक लाख रुपैयाँ नाघेको थियो । भाउ अस्वाभाविक रूपमा बढेपछि बजार पनि सुनसान छ ।

सुन बजारमा किनमेल नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बजार ठप्प हुँदा असार २ सम्म वाणिज्य बैंकसँग करिब ३ सय ४० किलो सुन थन्किएको थियो ।

सिद्धार्थ, नेपाल इन्भेस्टमेन्ट, मेगा, ग्लोबल आईएमई, सनराइज, सानिमा, सिभिल, प्रभु र सेन्चुरी बैंकले उक्त परिमाण रहेको जानकारी गराएको महासंघका निर्देशक राजेन्द्र तुलाधरले जनाए । तर साउनमा पुनः जानकारी माग्दा २ सय ५१ किलो सुन बिक्री भएको जानकारी पाएको उनले बताए । ‘जिल्लाबाट साथीले सोधपुछ गरेपछि बैंकसँग सम्पर्क गरेका थियौं । साउन २६ सम्ममा ८९ किलो मात्रै सुन बाँकी रहेको जानकारी पाएका छौं,’ उनले भने । यसअनुसार यस अवधिमा २ सय ५१ किलो सुन बिक्री भएको देखिन्छ । एक किलो सुनमा ८५ तोला ७ सय ३३ लाल हुन्छ । साउन १ मा प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन २३ मा तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो । २८ गते घटेर प्रतितोला ९५ हजार ४ सय रुपैयाँ पुगे पनि पुनः साउन ३० मा बढेर ९८ हजार ६ सय रुपैयाँ पुगेको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए ।

प्रतितोला ९८ हजार रुपैयाँका दरले हिसाब गर्दा एक किलो सुनको मूल्य ९४ लाख रुपैयाँ पर्छ । यसअनुसार २ सय ५१ किलो सुनको मूल्य २ अर्ब १० करोड रुपैयाँ पर्ने देखिन्छ । करिब दुई/तीन हप्तामा साढे २ सय किलो सुन बिक्री हुनु अस्वाभाविक भएको उनको भनाइ छ । मूल्य बढ्न थालेपछि ठूला लगानीकर्ताले सुन होल्ड गर्न थालेको उनले बताए । ‘भाउ बढेपछि बजार ठप्प छ । गहना बिक्री भएकै छैन । तर बैंकबाट एक्कासि सुन उठेको देखिन्छ,’ पूर्वअध्यक्ष शाक्यले भने ।

नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले पनि बजार ठप्प हुँदा अस्वाभाविक रूपमा सुन बिक्री भएकोमा आश्चर्य माने । ‘साउन १ सम्म ३ सय २०/३० किलो सुन मौज्दात थियो । त्यसको दुई सातापछि करिब १ सय ८० किलो मात्रै बाँकी थियो,’ उनले भने, ‘बजारमा बिक्री भएको छैन भन्छन् । तर, बैंकबाट धमाधम उठेको देखिन्छ ।’

व्यापारीहरूले नै बैंकबाट सुन खरिद गरेको उनको दाबी छ । संघका अनुसार बैंकहरूले आयात गरेको १५ दिनसम्म दुई महासंघ (सुनचाँदी व्यवसायी महासंघ र रत्न तथा आभूषण महासंघ) को सिफारिसमा मात्रै सुन बिक्री हुन्छ । त्यसपछि महासंघको सिफारिस चाहिँदैन । बैंकहरूले सिधै व्यवसायीलाई बिक्री गर्न सक्छन् । बैंकले प्यान/भ्याट नम्बर भएका सुन व्यवसायीलाई मात्रै बिक्री गर्न पाउँछन् । वाणिज्य बैंकले मात्रै सुन आयात गर्न पाउँछन् । बिक्री नभएपछि ती बैंकहरूले फागुनबाटै आयात गरेका थिएनन् ।

०७६ पहिलो साता प्रतितोला सुन ७५ देखि ७७ हजार रुपैयाँसम्ममा कारोबार भएको थियो । सरकारले चैत ११ देखि लकडाउन घोषणा गर्‍यो । त्यसपछि महासंघले चैत १० देखि मूल्य तोकेन । चैत १० मा प्रतितोला ७७ हजार रुपैयाँ मूल्य थियो । महासंघले जेठ २५ मा पुनः मूल्य तोक्ने निर्णय गर्‍यो । नेपाली बजार खुलेलगत्तै मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँ पुग्यो । बजार खुले पनि बजार सुनसान नै थियो । मूल्य बढ्न थालेपछि बजार ठप्प भयो । तर बैंकबाट किलोका किलो सुन उठ्नु स्वाभाविक नभएको महासंघका अधिकारी बताउँछन् ।

‘सुनको गलत प्रयोग उचित होइन,’ शाक्यले भने, ‘गहना व्यवसायीकै हातमा परे/नपरेको विषयमा राष्ट्र बैंकमार्फत सुपरिवेक्षण गर्नु जरुरी छ । जाँच गर्नुपर्छ ।’ रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको भनाइ पनि उस्तै छ । प्रतितोला १ लाख पुग्दा थप बढ्ने आकलन गर्दै सामान्य कारोबार भए पनि २ सय ५१ किलो बिक्री अस्वाभाविक भएको उनले बताए । ‘विश्व अर्थतन्त्र र डलरका कारण भाउ अझै बढ्ने हल्ला भयो । गहना किनेर राख्न सक्नेले खरिद गरेको हुन सक्छ,’ उनले भने, ‘तर उक्त परिमाणमा उठ्नु स्वाभाविक होइन ।’

लगानीकर्ताहरूले सुनलाई सुरक्षित लगानीका रूपमा हेर्छन् । अन्तर्राष्ट्रिय बजारमा आर्थिक संकट र अस्थिरता हुँदा लगानीकर्ता सुनमा आकर्षित हुन्छन् । कोरोनाको भ्याक्सिन बजारमा आइनसकेकाले लगानीकर्ता सुनतर्फ केन्द्रित थिए । जसले गर्दा सुनको भाउ उच्च भएको थियो । रसियामा कोभिड भ्याक्सिन तयार भएका समाचार सार्वजनिक भएसँगै बुधबार अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको थियो । रुसले भ्याक्सिन बनाए पनि युरोपियन र अमेरिकी बजारले त्यसलाई नपत्याउँदा बजार पुनः बढ्न थालेको व्यवसायी बताउँछन् । कान्तिपुर दैनिकबाट

निधिको दाबीले झस्किए देउवा

काठमाडौँ । कांग्रेसको आसन्न महाधिवेशनमा संस्थापन पक्षबाटै उपसभापति विमलेन्द्र निधिले सभापतिमा उठ्न तयारी थालेका छन् । यसले संस्थापन पक्षभित्र हलचल मात्रै मच्चाएको छैन, सभापति शेरबहादुर देउवालाई समेत अप्ठ्यारोमा पारेको छ ।

भित्रभित्रै तयारी गरिरहेका निधिले गत बिहीबार सभापति देउवासँग चौधौं महाधिवेशनमा आफूलाई सहयोग गर्न प्रस्ताव गरेका हुन् । १३ औं महाधिवेशनमा दिएको बचन स्मरण गराउँदै निधिले बूढानीलकण्ठस्थित निवासमा देउवालाई संस्थापन पक्षबाट सभापतिको उम्मेदवारमा आफूलाई अघि बढाउन प्रस्ताव राख्दा उनले भने आफैं उठ्ने जवाफ दिएका थिए । देउवानिकट स्रोतका अनुसार निधिले ‘आगामी महाधिवेशनमा तपाईंकै क्यान्डिडेट हुन चाहन्छु, तपाईंको साथ र सहयोग मलाई चाहियो’ भनेर प्रस्ताव गरेका थिए । देउवाले विधानमा दुई कार्यकालभन्दा बढी सभापति बन्न नपाउने व्यवस्था सम्झाउँदै १५ औं महाधिवेशनमा सघाउने बचन दिएका थिए । उनले यस्तै बचन १३ औं महाधिवेशनका बेला पनि दिएका थिए । त्यसलाई कार्यान्वयन गर्नुपर्ने निधिको दलिल छ ।

‘अर्कोपटक म हुन पाउन्न, तपाईंबाहेक मेरो अर्को यो उचाइको नेता पनि छैन, यसबीचमा तपाईंले मधेसमा मात्रै नभएर पहाड र हिमालमा समेत आफ्नो प्रभाव बढाउनुहोस्, अर्कोपटक तपाईंलाई नै सघाउने हो,’ देउवाको भनाइ उद्धृत गर्दै बूढानीलकण्ठस्थित स्रोतले भन्यो, ‘तर निधिजीले उमेरको फ्याक्टर र आफूपछि आक्रामक ढंगले अघि बढेको पुस्ताको कारण देखाउँदै यसैपटक उम्मेदवार बन्ने चाहना राखेर जानुभयो ।’ कान्तिपुर दैनिकबाट

ओली-मोदी फोनवार्ता : दुवै देशले निकाले यस्ताे विज्ञप्ति

काठमाडौं । नेपाल र भारतका प्रधानमन्त्रीबीच दुई पक्षीय सम्बन्धमा निकट भविष्यमा छलफल हुने सहमति भएको छ ।

भारतको ७४ औं स्वतन्त्रता दिवसको अवसरको अवसरमा टेलिफोन गर्दै प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग दुई पक्षीय सम्बन्धमा निकट भविष्यमै छलफल गर्ने सहमति गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

‘दुई देशका प्रधानमन्त्रीले निकट भविष्यमै दुई पक्षीय सम्बन्धका बारेमा छलफल गर्ने सहमति भएको छ’, परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । कुराकानीमा ओली र मोदीले १० अप्रिल २०२० मा भएको संवादको समेत सम्झना गरेका छन् ।

शनिबार बिहान भएको टेलिफोन कुराकानीका क्रममा ओली र मोदीबीच विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को असर काम गर्ने विषयमा छलफल भएको छ ।

कुराकानीका क्रममा दुई देशले कोरोना संक्रमण रोकथामका लागि गरिरहेको कामका बारेमा आफ्नो अनुभवसमेत साटेका छन् । दुई प्रधानमन्त्रीबीच कोरोना असर नियन्त्रणका लागि मिलेर अगाडि बढ्ने सहमतिसमेत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले भारतसहित विश्वका वैज्ञानिकले कोरोनाविरुद्धको खोप बनाउने र यसले कोरोना नियन्त्रणमा लिन सक्ने आशा व्यक्त गरेका छन् ।

त्यसैगरी भारतीय विदेश मन्त्रालयले दुई प्रधानमन्त्रीबीचको कुराकानीमा नेपालका प्रधानमन्त्री ओलीले भारतको सहयोग निरन्तर राखिराख्न अनुरोध गरेको जनाएको छ ।

कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाको विश्वास

एजेन्सी। कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाले विश्वास व्यक्त गरेको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी खोप प्रभावकारी र उपयोगी हुने विश्वास शुक्रबार व्यक्त गर्नुभएको हो ।

“मलाई रुसले बनाएको भनिएको खोपका बारेमा धेरै थाहा छैन, तर त्यो प्रभावकारी, उपयोगी हुन्छ र त्यसले काम गर्छ भन्ने मलाई विश्वास छ,” उहाँले भन्नुभयो । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसमा भएको पत्रकार सम्मेलनमा बोल्ने क्रममा उहाँले रुसी खोपका बारेमा सकारात्मक धारणा राख्नु भएको हो । कोरोनाभाइरस विरुद्धको खोप तयार पार्न रुस विश्वको पहिलो राष्ट्र हुने पनि उहाँको भनाई छ ।

“मलाई जानकारी भएसम्म कोरोनाभाइरसविरुद्धको खोप तयार पार्न रुस विश्वकै पहिलो मुलुक भएको छ, यो दर्ता भइसकेको पनि मैले थाहा पाएको छु,” उहाँले बताउनुभयो । उहाँले चाडै नै ठूलो मात्रामा सो खोपको उत्पादन र प्रयोग हुन थाल्ने विश्वास पनि व्यक्त गर्नुभयो । राष्ट्रपति ट्रम्पले यो साह्रै नै महत्वपूर्ण रहेको पनि बताउनुभयो ।

आधारभूत प्रक्रियाहरु पूरा गर्ने र परीक्षण सवै सफल भएपछि आधिकारीक निकायले त्यसको प्रयोगका लागि स्विकृति दिने उहाँको भनाई छ । नयाँ खोप प्रक्रियामा गएको छ र अहिलेसम्म सकारात्मक नतिजा आएको थाहा पाउँदा आफूहरुलाई अन्त्यन्त धेरै खुशी लागेको उहाँले बताउनुभयो ।

उहाँले अमेरिकमा पनि केही बैज्ञानिकहरुले तीन ओटा खोपलाई परीक्षण गरिरहेको र त्यो अहिले तेस्रो चरणमा पुगेको जानकारी दिनुभयो । अहिलेसम्म औषधीको औपचारिक प्रयोग गर्न नपाएर विश्वभरी महामारीको रुपमा फैलिएको कोरानोभाइरसविरुद्ध विश्वभरी धेरै बैज्ञानिकहरुले औषधी बनाइरहेको दाबी गरेका छन् । तर ती सवै परीक्षणका क्रममा रहेका छन् भने अहिलेसम्म विश्वस्वास्थ्य संगठनले कसैलाई पनि कोरोनाको औषधीको मान्यता दिएको छैन ।
–––

‘भारतमा कोरोनाका तीन खोप परीक्षणको चरणमा छन्’

एजेन्सी। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोरोनाका तीन ओटा खोप परीक्षणको चरणमा रहेको जानकारी दिएका छन्। कोरोनाविरुद्धको खोप बनाएका बैज्ञानिकहरुले सकारात्मक संकेत दिएको र प्रमाणित भएपछि व्यापक रुपमा खोपको उत्पादन गरिने पनि मोदीले बताए ।

देशको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा सम्वोधन गर्दै उनले प्रयोगशाला र औषधी उत्पादन गर्ने क्षमता बृद्धि गर्न लागिएको जानकारी दिए । उनले प्रतिरक्षात्मक सामग्रीहरुको उत्पादनमा पनि व्यापक बृद्धि भइरहेको बताए। खोप उत्पादनका लागि बैज्ञानिकहरुले कडा मेहनत गरिएको उनको भनाई छ ।

“अहिले भारतमा एउटा हैन, दुईटा हैन, तीन ओटा खोपको परीक्षणको चरण चलिरहेको छ, चाडै नै सकारात्मक नतिजा सार्वजनिक हुने बैज्ञानिकहरुले बताएका छन्, त्यो परीक्षण सफल भएपछि ठूलो मात्रामा औषधीको उत्पादन गर्ने तयारी पनि भइरहेको छ,” उनले भने ।

भारतमा कोरोनाको महामारी शुरु हुदाँ एउटा मात्रै प्रयोगशाला रहेको स्मरण गर्दै प्रधानमन्त्री मोदीले अहिले त्यो संख्या बढेर १४ सयभन्दा बढी प्रयोगशाला बनिसकेको बताए । उनले कोरोनाविरुद्धको खोप तथा उपचारका लागि १०३ करोड भारतीय रुपैया कोषमा राखिएको बताए।

कोरोनाविरुद्धका खोप उत्पादन सम्वन्धी महत्वकांक्षी सपना चाडै नै व्यवहारमा देख्न सकिने पनि उनले विश्वास व्यक्त गरे । प्रधानमन्त्री मोदीले केही महिनामा ठूलो मात्रामा एन ९५ मास्क, पिपिई भेन्टिलेटरलगायतका सामग्रीहरु भारतले विश्व बजारमा निर्यात गर्ने दाबी गरे।

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच फोनवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज (शनिबार) टेलिफोन वार्ता भएको छ ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईका अनुसार भारतीय स्वतन्त्रता दिवसको शुभकामना दिन प्रधानमन्त्री ओलीले मोदीलाई टेलिफोन गरेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन संवाद भएको बताउँदै थप जानकारी दिनका लागि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्ने बताए ।

भारतले अतिक्रमण गरेका कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्र समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि पहिलोपटक ओली र मोदीबीच वार्ता भएको हो । यसअघि मार्चमा कोभिड रोकथामका विषयमा मोदीले गरेको भिडियो छलफलमा ओली सहभागी भएका थिए ।

भारतमा आज ७४ औँ स्वतन्त्रता दिवस मनाइँदै

एजेन्सी। भारतमा आज ७४ औँ स्वतन्त्रता दिवस मनाइँदैछ । भारतभर आज अगष्ट १५ का दिन स्वतन्त्रता दिवस मनाउने गरिन्छ । यसै क्रममा आज बिहान ७ः१५ बजे प्रधानमन्त्री नरेन्द्र मोदी भारतको लालकिल्लामा पुगेर भारतीय स्वतन्त्रता दिवसको सामान्य समारोहलाई सम्बोधन गरेका थिए ।

आज बिहान भारत लालकिल्लास्थित इन्डिया गेटमा उहाँ पुग्दा भारतका रक्षामन्त्री राजनाथ सिंहले स्वागत गरेका थिए । उनलाई लालकिल्लामा आयोजित एक विशेष समारोहमा भारतीय उच्च अधिकारीहरुले स्वागत गरेका थिए ।

त्यसक्रममा भारतीय प्रधानमन्त्री मोदीले भारतको झण्डाको झण्डोत्तोलन गरेका थिए। उनलाई त्यस क्रममा भारतीय सेनाले गार्ड अफ अनर प्रदान गरेको थियो । उनलाई सेनाले सम्मानस्वरुप गार्ड अफ अनर दिएपछि डायसमा पुगेर बसेका थिए। त्यस क्रममा भारतको स्वतन्त्रता दिवसका अवसरमा प्रस्तुत गरिने सम्मान स्वरुपका विविध कार्यक्रमहरु हेरेका थिए।

भारत सन् १९४७ को अगष्ट १५ मा बृटिश साम्राज्यबाट मुक्त भएको थियो । भारतमा शासन गरिरहेको बेलायती सरकार सन् १९४७ मा आजकै दिन भारत छोडेर भागेपछि भारत बेलायती साम्राज्यबाट मुक्त भएको थियो ।

सोही मुक्तिको स्मरणमा आज भारतीय नागरिकले स्वतन्त्रता दिवस मनाउने गरेका छन् । यस अवसरमा भारतको लालकिल्लामा विशेष समारोहको आयोजना गर्ने गरिन्छ । यस अवसरमा प्रधानमन्त्री मोदीले गरेकाे सम्बोधनमा भारतले छिमेकी मुलुकहरुसँग सामाजिक, आर्थिक तथा सांस्कृतिक सम्बन्ध राम्रो बनाएको बताएका थिए ।

स्वतन्त्रता दिवसका अवसरमा आज दिल्लीको लालकिल्लामा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले दक्षिण एसियाली मुलुकका नेताहरुले यस क्षेत्रको विकासमा मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याए ।