नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ । आज सोमबार बिहान ०९ :३० बजे बैठक बस्ने भएको छ । नेकपाका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वयको सहमतिमा बैठक बस्न लागेको जानकारी दिएका छन्।

नेकपा भित्र केही महिनादेखि वरिष्ठ नेताहरूबीच वादविवाद चलिरहेकाे छ। साेही विवाद सुल्झ्याउन नेकपाले सचिवालय बैठक बोलाइएकाे हाे ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीको विवादमा समाधान खोज्न कार्यदल गठन गरेपछि वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले विधि पद्धतिको मुद्दा उठाएका थिए।

नेतात्रयले शनिबार पार्टी अध्यक्ष प्रचण्डलाई भेटेर पार्टी सचिवालयको बैठक राखेर कार्यदल गठन गर्नु उपयुक्त हुने धारणा राखेका थिए । बैठकले कार्यदललाई औपचारिकता दिने सम्भावना छ ।

आज भाद्र १ गते सोमवारको राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको राम्रो वातावरण बन्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रेमीको सहयोग प्राप्त हुनेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । स्वास्थ्यमा सुधार आउला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज साना तिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । दबाब र तनाव बढेको महसुस हुनेछ । आफ्नो व्यवसायमापनि मन्दी आउला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । जागिर र कर्म प्रति रुचि बढ्नेछ । रोकिएका र आधुरा काम पुनः सुरु हुन सक्छन् ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । रोकिएका र चिताएको कामले तीव्रता लिनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । रमाइलो यात्राको योग रहेको छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । विद्या र सन्तानबाट सुख मिल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ कार्यको थालनी हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रमाइलो यात्राको योग रहेको छ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । शुभ कार्यको चर्चा चल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । प्रेमिले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

फेरी बढ्याे पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १ रुपैयाँ बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको जनाउँदै निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर १/१ रुपैयाँ बढाउने निर्णय गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

‘इण्डियन आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्यसूचीअनुसार मूल्य केही हेरफेर भएको छ । पेट्रोल, डिजेल र मटितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १/१ रुपैयाँ बढाउने निर्णय भएको छ,’ उनले भने, ‘मूल्य समायोजनपश्चात् पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ५ रुपैयाँ, डिजेल र मटितेल ९१/९१ रुपैयाँ कायम गरिएको छ ।’ निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।

एकै परिवारका ४ जनाको खोलाले बगाएर मृत्यु

काठमाडौं । खाेलाले बगाएर अछाममा एकै घरका चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पन्चदेवल विनायक नगरपालिका-९ तानकोटका ३३ वर्षीया देवा बोहरा, उनकी छोरी १४ वर्षीया बिपना बोहरा, एक वर्षीया आकृति बोहरा र छोरा ७ वर्षीय हेमन्त बोहरा रहेका छन् ।

अछाम र कालीकोटको सिमानामा पर्ने नरहरिनाथ खोलाले बगाउँदा एकै घरका चारजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनीहरुको खोला तर्ने क्रममा शनिबार साँझ बगेर मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

कपिलवस्तुमा भदौ ७ गतेसम्म निषेधाज्ञा थप गरिने

ताैलिहवा । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले समुदायस्तरमा कोरोना देखिएपछि जारी गरिएको निषेधाज्ञा थप गर्ने निर्णय गरेकाे छ । बिभिन्न स्थानमा कोरोना भाइरसका संक्रमित बढेपछि जारी निषेधाज्ञाको समय थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ । समुदायस्तरमा कोरोना देखिएपछि जिल्लामा साउन २७ गतेबाट आज ३२ गते राती १२ बजेसम्म जारी गरिएको निषेधाज्ञाको समयअवधि थप गरिएको जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर जनाएको छ ।

आज राति १२ बजेबाट लागुहुने गरी भदौ ७ गते १२ बजेसम्म निषेधाज्ञाको समय थपिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए। कपिलवस्तुमा अझै पनि कोरोनाको जोखिम उच्च भएको विश्लेष गर्दै निषेधाज्ञाको समय थपिएको पौडेलको भनाई छ ।

निषेधाज्ञाको समयमा अत्याबश्यकका सवारी साधन चलाउन रोक लगाइएको छ । त्यस्तै बैंक, वित्तिय संस्थाहरु, होटेल रेष्टुरेन्टहरु पनि पूर्णरुपमा बन्द हुनेछन् । तरकारी किन्नका लागि भने विहान ८ बजेदेखि १० बजेको समयमा छुट गरिएको छ ।

चितवनका ६ पालिकामा कर्फ्यु

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय चितवनले माडी नगरपालिका बाहेक पाँच वटा पालिकामा आइतबार रातिदेखि लागू हुने गरी निषेधाज्ञा(कर्फ्यु) जारी गरेको छ । भरतपुर महानगरपालिकामा भने गएकाे शुक्रबारदेखि नै निषेधाज्ञा जारी गरिएको छ । भरतपुरलगायत छ वटा पालिकामा निषेधाज्ञाको अवधि भदौ ५ गतेसम्मको लागि तोकिएको छ ।

रत्ननगर, खैरहनी, राप्ती,कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । यी पाँच पालिका प्रमुखसँग आइतबार दिउँसो बैठक बसी निषेधाज्ञा जारी गरिएको हो । चितवनमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि स्थानीय प्रशासन निषेधाज्ञा जारी गर्न बाध्य भएको हो ।

बिहान ५ बजेदेखि ८ बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्म अत्यावश्यकीय सामान खरिद गर्न पाइने समय तोकिएको छ । मालवाहक ढुवानीका साधन, दमकल, एम्बुलेन्स, शव वाहन, तरकारी, फलफुल, दूध ढुवानी र पशुपंक्षीको दाना बाेक्ने सवारी साधन गुड्न पाउने छन् । निषेधाज्ञाको उल्लङ्घन गरेमा प्रचलित कानुनअनुसार कारबाही हुने प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।

दाङमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

दाङ । दाङमा भएकाे मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ । गएराति लमहीदेखि गढवाका लागि छुटेकाे लु ५७ प ११०० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गढवा गाउँपालिका-७ का २६ वर्षीय सुरजनारायण चौधरी र २७ वर्षीय मनोज चौधरीको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

उनीहरु सवार मोटरसाइकल बलामपुर नजिक सानो राप्ती नदीको पुलमा ठोक्किएर नदीमा खसेको थियाे । उनीहरुको शवलाई पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १०४ पुग्याे

काठमाडाैं । नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट थप दुई जनाको मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १०४ पुगकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमले दिएका्र जानकारी अनुसार पर्सा जिल्लाका एक पुरुष र मोरङ जिल्लाकी एक महिलाको मृत्यु भएको हाे । हालसम्म मृत्यु हुनेमा ८१ जना पुरुष र २३ जना महिला रहेका पनि मन्त्रालयले जानकारी दिएकाे छ ।

काठमाडौं उपत्यकामा थपिए १७२ कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा थप १७२ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १२६ जना, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै नेपालमा पछिल्लाे २४ घण्टामा थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमण हुनेकाे संख्या २६ हजार ६६० पुगेकाे मन्त्रालयले जनाएकाे छ ।

थप ६४१ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितको संख्या २६ हजार ६६० पुग्याे

काठमाडौं । नेपालमा आज आइतबार थप ६४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा पछिल्लाे २४ घण्टामा थप ६४१ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा थप  १३४ जना कोरोना संक्रमण मुक्त भएका छन् । याेसँगै कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १७ हजार ३३५ पुगेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट १०४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेकाे छ ।