महोत्तरीमा भदौ १० सम्म निषेधाज्ञा

महोत्तरी । कोभिड–१९ सङ्क्रमण ह्वात्तै बढेपछि महोत्तरीमा १० दिनसम्मलाई कफ्र्यू (निषेधाज्ञा) आदेश जारी भएको छ । सोमबार (भदौ १) मध्यरातदेखि लागू हुने गरि जिल्ला प्रशासन कार्यालय महोत्तरीले यस्तो आदेश जारी गरेको हो ।

यसअघि जिल्ला प्रशासन कार्यालयले जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकाकोे मुख्य बजारक्षेत्र र छिमेकको महोत्तरी गाउँपालिकाका वडा नं ३ र ५ मा मात्र गत साउन २१ गतेदेखि पटकपटक गरी निषेधाज्ञा जारी गर्दै आएको थियो । पछिल्ला केही दिनयता जिल्लाका सबैजसो भेगमा सङ्क्रमण निकै बढेको हुँदा यसलाई रोकथामका लागि आवागमन रोक्न जिल्लाभरि नै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले सोमबार साँझ जारी गरेकाे आदेशमा उल्लेख छ ।

जिल्लास्थित कोभिड–१९ सङ्क्रमण व्यवस्थापन समितिको बैठकको निर्णयानुसार जिल्लाभर निषेधाज्ञा जारी गरिएको हो । अत्यावश्यक काम र निर्माणकार्यलाई अवरोध नपुग्ने गरी भदौ १० मध्यरातसम्मलाई निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी दिए। यसक्रममा हिँडडुल, सवारीसाधन, हाटबजार र मेलाजात्रा सबै बन्द गरिएको आदेशमा उल्लेख छ । औषधि पसल र अस्पतालबाहेक अन्य सबै पसल बन्द रहनेछन् । निषेधाज्ञाको उल्लङ्घन गर्नेलाई तत्काल कारवाही गरिने प्रजिअ कटुवालको भनाइ छ ।

यसअघि स्थानीय प्रशासन (जिल्ला प्रशासन) ले सीमित क्षेत्रमा निषेधाज्ञा जारी गरेको भए पनि जिल्लाका स्थानीय तह र उद्योग वाणिज्य सङ्घको समन्वयमा बर्दिवास, भङ्गाहा, गौशाला, औरही, लोहारपट्टी र बलवासहितका नगरपालिका क्षेत्रमा साप्ताहिक हाटबजार साउन २१ यता बन्द गराउँदै आएका थिए । ती प्रयत्न प्रभावकारी नभएपछि जिल्लाभरि नै निषेधाज्ञा लागू गर्न स्थानीय प्रशासनलाई दबाब बढेको थियो ।

महोत्तरीमा कोभिड–१९ सङ्क्रमणबाट हालसम्म दुई जनाको मृत्यु भइसकेको छ । जिल्लामा सोमबार साँझसम्म एक हजार ८८ मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । यसमध्ये १२ जनामा सोमबार सङ्क्रमण पुष्टि भएको कार्यालयका कोभिड–१९ रोकथाम अभियानका स्रोत व्यक्तिसमेत रहनुभएका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले जानकारी दिए । जिल्लाका सङ्क्रमितमध्ये ३७० जना उपचारपछि निको भएर घर फर्केका कार्यालयले जनाएको छ ।

सशस्त्र प्रहरीका ४२ जनामा कोरोना सङ्क्रमण

काठमाडाैँ । राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी वाग्मती प्रदेशका ४२ प्रहरीमा एकै साथ कोरोना सङ्क्रमण देखिएको छ । उनीहरुमध्ये दुई महिला र ४० पुरुष रहेको भरतपुर कोभिड–१९ प्रयोगशालाले जानकारी दिएको छ ।

यसअघि सोही बाहिनीका आठ जनामा कोरोना सङ्क्रमण देखिएपछि अन्यको परीक्षण गरिएको बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले जानकारी दिए। साठ्ठी जनाको नमूना सङ्कलन गरी पठाइएकामा ४२ जनामा सङ्क्रमण देखिएको जानकारी आफूले प्राप्त गरेको उनले बताए ।

नौ जनालाई ज्वरो आएकामा निको हुँदै गएर सोमबार साँझ एक जनालाई मात्र ज्वरो बाँकी रहेको उनले जानकारी दिए । बाहिनीमा ३०० भन्दा बढी सशस्त्र प्रहरी रहेका छन् । यो बाहिनीले वाग्मती प्रदेशको राजधानीका तीन जिल्लाबाहेकका जिल्ला हेर्ने गर्दछ ।

दुई दिनअघि पूर्वी चितवनका नगरप्रमुखहरुको बैठकले सो बाहिनी उच्च जोखिममा रहेको भन्दै त्यहीँ आइसोलेसन निर्माण गर्न वाग्मती प्रदेशलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

राप्ती नगरप्रमुख प्रभा बरालले सङ्क्रमण देखिएपछि सशस्त्र प्रहरी सबै बाहिनीभित्रै रहेकाले बाहिर सङ्क्रमण फैलन नपाएको अनुमान गरिएको बताए । सङ्क्रमण देखिएका प्रहरीलाई त्यहीँभित्र आइसोलेसन तयार गरी उपचार गरिने उनले जानकारी दिए । सोमबार राति अबेर कोभिड–१९ प्रयोगशालामा आएको नतिजाअनुसार ५० सङ्क्रमितमध्ये ४६ चितवनका हुन् ।

बहुराष्ट्रिय कम्पनी धमाधम भारत आउँदै, चीनलाई लाग्याे ठुलाे झट्का!

एजेन्सी । भारत र चीनबीचको व्यापार युद्धमा चीनलाई घाटा भइरहेको देखिएको छ । अब चीनबाट आफ्नो व्यवसाय विस्तार गर्न चाहने २४ मो बाइल कम्पनीहरूले भारतमा आफ्नो उत्पादन कारखाना स्थापना गर्न तयारी गरिरहेका छन् ।

अमेरिका र चीन र कोरोना भाइरस तनावका बीच बढ्दो व्यापार घाटा कम गर्न व्यापारमा श्रृंखला विविधीकरण गर्न चाहिरहेका छन । यो कारण हो कि यी कम्पनीहरूले चीनभन्दा बाहिर आपूर्तिको सञ्जालको विकल्प खोजिरहेका छन् ।

ब्लूमबर्गका अनुसार सामसुंग र एप्पल जस्ता ठूला कम्पनीका धेरै भारत आउन चाहन्छन् । यी कम्पनीहरूले भारतमा मोबाइल फोन कारखाना स्थापना गर्न १.५ अर्ब डलर लगानी गर्ने भारतलाई आवश्वासन दिएका छन् ।

यसभन्दा पहिले चीनबाट आफ्नो व्यवसाय विस्तार गर्न लागेका कम्पनीहरूले भियतनाम, कम्बोडिया, म्यानमार, बंगलादेश र थाइल्याण्ड जाने सोचमा थिए । तर भारतले अब ती कम्पनीहरूलाई भारत आउन प्रोत्साहित गरेको छ ।

भारत सरकारले प्रडक्ट इन्सेन्टिभ स्किम (पीएलआई) ले देशमा १५३ अर्ब डलरको इलेक्ट्रोनिक सामान उत्पादन गर्न सक्छ र १० लाख मानिसलाई प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी पाउन सक्छन्। यसैबीचमा अमेरिकी आटी कम्पनी एप्पलले भारतमा आफ्नो उत्पादन युनिट विस्तार गर्दै छ । एप्पलको सप्लायर्स फक्सकँनले पनि भारतमा १ अर्ब डलरको लगानी गर्ने योजना बनाएको छ ।

कोरोना प्रभावितलाई पुनर्कर्जाः कुन-कुन क्षेत्रका व्यवसायीले पाउछन् ऋण ?

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) प्रभावितलाई सहुलियत ब्याजदरमा पुनर्कर्जाको अवसर उपलब्ध गराएको छ । सरकारले कोरोना महामारीबाट अति प्रभावित र मध्यम प्रभावित क्षेत्रलाई मात्र यस्तो अवसर प्रदान गर्नेछ ।यस्तो कर्जाको अवसरमा सहभागी हुनेहरूका लागि नेपाल राष्ट्र बैंकले सोमबार सूचना जारी गरी आवेदन दिन आह्वान गरेको छ । राष्ट्र बैंकले सोमबारदेखि आगामी १४ असोजसम्म पुनर्कर्जाका लागि आवेदन दिन सकिने बताएको छ ।

यसअघि पर्यटन व्यवसायी, लघु, घरेलु तथा साना उद्योग व्यवसायी र अन्य सेवामूलक संस्था तथा उत्पादनमूलक उद्योगीले कोरोना महामारीबाट आफूहरू निकै मारमा परेको भन्दै सहुलियत पुनर्कर्जाको व्यवस्था मिलाइदिन माग गरेअनुसार अहिले राष्ट्र बैंकले कोरोना महामारीबाट अति प्रभावित र मध्यम प्रभावित क्षेत्रलाई पुनर्कर्जाका लागि यस्तो अवसर उपलब्ध गराइदिएको हो ।

कोरोना प्रभावले थला परेको विभिन्न क्षेत्रका व्यवसायलाई निरन्तरता दिलाउन एकमुस्ट रूपमा प्रदान हुने लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, साधारण पुनर्कर्जा तथा विशेष पुनर्कर्जाका लागि आवेदन दिन सकिने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले कोरोना प्रभावितले यसअघि सरकारसँग गरेको मागबमोजिम कार्यविधि तयार पारेपछि राष्ट्र बैंकले पुनर्कर्जा उपलब्ध गराउन पहिलो पटक यस्तो प्रस्ताव आह्वान गरेको बताए । उनले कोरोनाका कारण आफ्नो व्यवसाय सञ्चालन गर्न नसक्नेहरूका लागि यो निकै राम्रो अवसर भएको बताए ।

यस्ता क्षेत्रले पाउँछन् पुनर्कर्जा
अति प्रभावित क्षेत्र
१. पर्यटन
(क) ट्रेकिङ, ट्राभल एजेन्सी, पर्वतारोहण, ¥याफ्टिङ, क्याम्पिङ, टुर अपरेटर, हिलिङ सेन्टर, क्यासिनो, मसाज स्पा आदि ।
(ख) होटल, पर्यटक आवास, मोटेल, ग्रामीण पर्यटन, होम स्टे, रिसोर्ट तथा रेस्टुरा, पर्यावरणीय पर्यटन, वन्यजन्तु आरक्ष ।
(ग) साहसिक पर्यटन स्किइङ, ग्लाइडिङ, वाटर ¥याफ्टिङ, हट एयर ब्यालुनिङ, क्यानोइब, प्यारासेलिङ, घोडचढी, हात्तीचढी, बन्जी जम्पिङ, हिमाल आरोहरण र अवलोकनलगायत ।
(घ) गल्फ कोर्स, पोलो, पोनी ट्रेकिङ, पदयात्रा, माउन्टेन फ्लाइट सञ्चालन, केवलकार

२. हवाई तथा पर्यटकीय यातायात

३. मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसनसम्बन्धी व्यवसाय, पार्टी प्यालेसस

४. चलचित्र उत्पादन, वितरण, सिनेमा हल

५. रोजगारी गुमेका वा समस्यामा परेका श्रमिक, कामदार वा कर्मचारी (स्वदेशमा वा विदेशमा)

६. मूलभूत रूपमा सडेर गलेर जाने वस्तु, जस्तै ः तरकारी, फलफूल, पुष्प, माछा मासु, दाना, दूध तथा दुधजन्य उत्पादन, अन्डा आदि उत्पादन तथा बिक्री वितरण

७. कुखुरापालन व्यवसाय

८. पशुपन्छी, मौरी तथा मत्स्यपालन व्यवसाय

९. तयारी पोसाक, हस्तकला तथा सीपमुलक व्यवसाय

१०. वैदेशिक रोजगार सेवा प्रदायक, शैक्षिक परामर्श सेवा प्रदायक

मध्यम प्रभावित क्षेत्र
१. खप्ने सामान जस्तै प्लास्टिक, फलाम र स्टिल, टायर, छाला, धातुका उत्पादन, घरायसी उपकरण आदि उत्पादन तथा बिक्री वितरणसँग सम्बन्धित उद्योग व्यवसाय
२. निजी तथा आवासीय विद्यालय, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय, कलेज तथा विश्व विद्यालय, प्राविधिक शिक्षालय, प्रि–स्कुल, चाइल्ड केयर
३. यात्रुवाहक स्थल यातायात
४. ब्युटी पार्लर, सैलुन, कस्मेटिक सर्जरीलगायतका सामाजिक तथा व्यक्तिगत सेवाका क्रियाकलाप
५. कानुनी, लेखा, इन्जिनियरिङलगायतका परामर्श सेवा वा व्यवसाय
६. अस्पताल, क्लिनिक, नर्सिङहोम, डायग्नोस्टिक सेन्टर
७. हेल्थ सेन्टर वा फिट्नेस सेन्टर
८. भण्डारण गर्न सकिने वस्तु (खाद्यान्नबाहेक) उत्पादन, प्रशोधन तथा बिक्री वितरण
९. वन तथा खनिज जन्य उद्योग
१०. निर्माण व्यवसाय
११. औषधि उत्पादन
१२. छपाइ, प्रकाशन तथा सञ्चार गृह
१३. निर्माणाधीन जलविद्युत् तथा नवीकरणीय ऊर्जा
१४. पत्थर, माटो तथा सिसाका उत्पादनसम्बन्धी व्यवसाय
राजधानी दैनिकबाट सभार

विदेशबाट हुने चार्टर्ड उडान स्थगित

काठमाडौं ।  कोभिड– १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले विदेशबाट हुने चार्टर्ड उडान रोक्न सरकारलाई आग्रह गरेको छ।  केन्द्रले सोमबार संस्कृति, पर्यटन तथा नागरिक उडडयन र परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्दै रोक्न आग्रह गरेको हो।

होटल क्वारेन्टाइन तयार भइनसकेकाले उडान स्थगन गर्नुपर्ने केन्द्रको पत्रमा उल्लेख छ। केन्द्रको निर्णयअनुसार यसअघि तयारी अवस्थामा रहेका चार्टर्ड उडान अनिश्चितकाल स्थगित भएका छन्।

पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले केन्द्रको पत्रअनुसार नागरिक उड्डयन प्राधिकरणमार्फत अनुमति पाएका उडान रोक्न निर्देशन दिइएको जानकारी दिए। केन्द्रले साउन २९ मा परराष्ट्र र पर्यटन मन्त्रालयलाई पत्राचार गरी विदेशबाट फर्किने श्रमिक एक सातासम्म काठमाडौंका होटलमा बस्नुपर्ने भनेको थियो। सोमबार भने क्वारेन्टाइनका लागि होटल व्यवस्था भएको जानकारी प्राप्त नभएको भन्दै उडान रोक्न भनेको हो।

पछिल्लो समय कोरोना संक्रमण बढ्नुका साथै कतिपय स्थानीय तहले निषेधित क्षेत्र घोषणा गरेकाले उडान रोक्ने व्यवस्था गर्न सहसचिव विष्णुराज ढकालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ। होटल क्वारेन्टाइन सुनिश्चित भएपछि मात्रै उडान स्वीकृति दिने भनिएको छ।आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट

आज भाद्र २ मंगलवारको राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शत्रु पराजित हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आर्थिक कारोवारमा सफलता पाइएला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज यात्रामा मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । चोटपटकको भयछ सचेत रहनुहोला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) छोटो दुरीको लाभदायक यात्रा रहला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहनेछ । नयाँ व्यक्तिसंग भेटघाट हुनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । स्वास्थ्यमा समस्या आउनेछ । सरकारी निकाएको भयपनि रहनेछ, तर आफनतले सहयोग गर्नेछन् ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । नयाँ ज्ञान र सीप सिक्ने मौका मिल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्ला । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । साथीभाईसंग समय बित्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । शुभकार्यको चर्चापनि चल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । कला, साहित्य र संस्कृतिमा रुचि बढ्नेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज महत्त्वपूर्ण कामको थालनी हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । समाजसेवामा मन लाग्ला । शिक्षामा सफलता मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सजिलै अरूको मन जित्न सकिनेछ । व्यवसायका लागि नयाँ योजना बन्नेछ छ । दैनिक कार्यमा प्रगति हुँदै जानेछ । प्रेम जीवनपनि सुखद् रहनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

एसईई २०७६: कति जनाकाे परीक्षफल प्रकाशित भएन?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। विद्यालय आफैँले मूल्यांकन गरेर पठाएको विद्यार्थीको नतिजालाई रुजु गरेर बोर्डले सार्वजनिक गरेको थियो। परीक्षामा सहभागी हुन ४ लाख ८२ हजार ९ सय ८६ जनाले फाराम भरेकोमा ४ लाख ७२ हजार ७८ जनाको नतिजा मात्रै प्रमाणिकरण गरिएको छ।

बोर्डले नतिजा प्रकाशनसँग सम्बन्धित सम्पूर्ण काम साउन १९ गते नै सम्पन्न गरेको थियो। एसईईका परीक्षा नियन्त्रक रामराजा खकुरेलले नतिजाको काम सकेर बोर्डमा जानकारी गराएका थिए। तर त्यतिखेर नतिजा सार्वजनिक गरेपछि कार्यालयमा सेवाग्राहीको चहलपहल बढ्ने र कोभिड १९ को संक्रमण फैलने त्रासले नतिजा रोकिएको थियो।

तर नतिजाको काम सकेपनि सार्वजनिक गर्न ढिलो भएको भन्दै गुनासो बढेपछि शिक्षा मन्त्रालयको सहमतिमा सोमबार सार्वजनिक गरिएको हो। बोर्डले शुरुमा चैत ६ गतेको लागि परीक्षाको तालिका सार्वजनिक गरेको थियो। तर कोभिड १९ को संक्रमण बढ्न लागेको भन्दै अघिल्लो दिन मात्रै सरकारले परीक्षा स्थगित गरेको थियो।

परीक्षा सञ्चालनको मिति कुर्दाकुर्दै अवस्था सहज नहुने देखिएपछि सरकारले यो पटक सम्बन्धित विद्यालय आफैले विद्यार्थीको मूल्यांकन गरेर नतिजा दिने तर त्यो नतिजालाई बोर्डले प्रमाणिकरण गरेर सार्वजनिक गर्न पाउने निर्णय गरेको थियो। परीक्षा सम्बन्धि अन्य विवरण राष्ट्रिय परीक्षा बोर्डको वेभसाइटमा राखिने बोर्डले जनाएको छ।

एसईईको परीक्षफल प्रकाशित (यसरी हेर्नुहाेस् नतिजा)

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले बिसं २०७६ सालको एसईईको नतिजा भर्खरै प्रकाशित भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय (एसईई)ले करिब एक साता अघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको थियो । सोही आधारमा बोर्डले शिक्षामन्त्री गिरिराजमणी पोखरेलसंग सहमति लिएर परीक्षफल प्रकाशित गर्ने निर्णय गरेको हो ।

बोर्डको बैठकले केहीबेर अघि बिद्यार्थीको परीक्षाफल प्रमाणित गरेको छ ।बोर्डका एक सदस्यका अनुसार बैठक जारी भएकोले भर्खरै परीक्षाफल प्रकाशित भएको जानकारी दिए ।

नतिजा नेपाल टेलिकमका ग्राहकले १६०० मा डायल गरी प्राप्त निर्देशन अनुसार जानकारी लिन सक्नेछन् ।

टेलिकम तथा एनसेलको मोबाइल प्रयोगकर्ताले १६०० मा म्यासेज गरेर पनि नतिजाबारे जानकारी लिन सक्नेछन् । परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट http://see.gov.np बाट पनि नतिजा हेर्न सकिनेछ ।

नेपाल टेलिकमको वेबसाइट http://see.ntc.net.np/ र राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट http://www.neb.gov.np/results बाट पनि नतिजा हेर्न सकिनेछ ।

विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि ३५००१ मा एसएमएस गरेर एसईईको उक्त नतिजा हेर्न सकिनेछ ।

एसईईको नतिजा सार्वजनिक भए लगत्तै स्प्यारो एसएमएसको नम्बर ३५००१ मा एसएमएस गरेर सजिलै आफ्नो परीक्षाफल थाहा पाउन सकिनेछ । यसका लागि अंग्रेजीमा एसईई (SEE) टाइप गरेर एक स्पेस दिदैं आफ्नो सिम्बोल नम्बर टाइप गरेर ३५००१ मा पठाउनुपर्नेछ ।

थप ५८१ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या २७ हजार २४१ पुग्याे

काठमाडौं । नेपालमा आज साेमबार थप ५८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा पछिल्लाे २४ घण्टामा थप ५८१ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा थप १६० जना कोरोना संक्रमण मुक्त भएका छन् । याेसँगै कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १७ हजार ४९५ पुगेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट १०७  जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेकाे छ ।

नेपाली युवतीलाई बिहे गर्ने प्रलोभन देखाई ठगी गर्ने विदेशी नागरिक पक्राउ

काठमाडौँ । प्रहरीले नक्कली मुद्रा कारोवार गर्ने र अनलाइन ठगी गर्ने विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जालमा एक महिलालाई आफू लण्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर रहेको र नेपाल आएपछि बिहे गर्ने भनी रु ४८ लाख ५४ हजार ४२० ठगी गर्ने रिपब्लिका दि एङ्गोलाका ४८ वर्षीय सिल्भा एन्टोनियो दा कोस्टालाई पक्राउ गरेको हो ।

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक ईश्वर कार्कीले पीडित महिलालाई नयाँ वर्षको अवसरमा हिराको औँठी, घडी, सुनको सिक्री र नगद रु दुई लाख ३० हजार पाउण्ड पठाएको र सामानको भन्सार र एक्सचेञ्ज चार्ज बुझाउन प¥यो भनी उक्त रकम ठगी गर्ने विदेशी नागरिक कोस्टालाई शुक्रबार सोल्टी होटलबाट पक्राउ गरिएको जानकारी दिनुभयो । “पक्राउ कोस्टाले भन्सार छुटाउनका लागि आवश्यक पीडित महिलासँग थप रु २० लाख मागेपछि प्रहरीको टोलीले शुक्रबार सोल्टी होटलबाट नियन्त्रणमा लिएको हो”, प्रवक्ता कार्कीले भन्नुभयो । पक्राउ व्यक्तिले सोहीदिन अर्की युवतीबाट पनि रु ३७ हजार ठगी गरेको अनुसन्धानमा खुलेको छ ।

पक्राउ परेकै दिन प्रहरीले कोष्टाको ठमेलस्थित कोठामा समेत खानतलासी गरेको छ । खानतलासीका क्रममा कोष्टाको कोठाबाट नक्कली नोट बनाउन प्रयोग हुने केमिकल र कागजसमेत प्रहरीले बरामद गरेको प्रवक्ता कार्कीले बताउनुभयो । पक्राउ व्यक्ति विसं २०७६ फागुनमा नेपाल आएको प्रहरीले जनाएको छ । पक्राउ व्यक्तिसँग नेपाली रु तीन लाख १५ हजार ७४५, अमेरिकन डलर ९००, एटिएम कार्ड, ल्यापटप एक थान, नक्कली नेपाली एक हजारका नोट तीन थान, नोट आकारको कालो कागजको बण्डल, ए फोर पेपरलगायतका सामग्री प्रहरीले बरामद गरेको छ । पक्राउ व्यक्तिलाई जिल्ला अदालतको पाँच दिनको म्याद थप गरी अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ । रासस