निषेधाज्ञा अटेरी गरे कस्ताे सजाय हुन्छ?

संक्रमण भयावह हुने देखिएपछि उपत्यकाका तीनै जिल्लामा बुधबार मध्यरातिदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरको संयुक्त जिल्ला सुरक्षा समिति बैठकले अत्यावाश्यक सेवा बाहेक सबैमा राेक लगाएकाे छ।

निषेधाज्ञा अवधिभर औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु/सेवा खरिदको काममा बाहेक कोही पनि व्यक्ति घरबाट बाहिर निस्कन पाउने छैनन् । अत्यावश्यक सेवा दिनेबाहेक सबै व्यापार/व्यवसाय, निजी तथा सार्वजनिक र सरकारी कार्यालय सञ्चालन गर्न पाइने छैन ।

अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयले भने न्यूनतम कर्मचारी संख्या निर्धारण गरी फोटोसहितको परिचयपत्रका आधारमा बिहान ९ बजेदेखि १०ः३० भित्र कार्यालय पुग्ने र दिउँसो ३ बजेदेखि ५ः३० भित्र फिर्ता भइसक्नुपर्ने व्यवस्था मिलाउनुपर्नेछ ।

अटेर गरे १ महिना कैद र ५ सय जरिवाना हुने प्रशासनले जनाएकाे छ।

कुन- कुन जिल्लामा छ निषेधाज्ञा र सेवा बन्द(नामसहित)

काठमाडाैँ । कोरोना संक्रमणको दर बढेपछि देशभरका ४० जिल्लामा कतै विशेष क्षेत्र र कतै जिल्लाभर निषेधाज्ञा र निश्चित सेवा सञ्चालनमा रोक लगाइएको छ । गृह मन्त्रालयका अनुसार २९ जिल्लामा निषेधाज्ञा, ७ जिल्लामा लकडाउन र २/२ जिल्लामा सिल र सेवा बन्द गरिएका छन् ।

२१ जिल्लामा पूर्ण र १९ जिल्लामा आंशिक बन्द तथा निषेधाज्ञा जारी गरिएको छ । यी सबै निर्णय स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) ले दिएको अधिकारअन्तर्गत लिइएको हो ।

कास्की, अर्घाखाँची, लमजुङ, गोरखा, बागलुङ, सिन्धुपाल्चोक, पश्चिम नवलपरासी, दोलखा, चितवन, रामेछाप, पाल्पा, सुर्खेत, उदयपुर, तनहुँ, धनकुटा, रुकुम पश्चिम, धादिङ, कपिलवस्तु, मकवानपुर, रूपन्देही, रौतहट, उपत्यकाका तीनवटै जिल्ला, झापा, दार्चुला, मोरङ, बर्दिया, जुम्ला, सिरहा, स्याङ्जा, सर्लाही, सुनसरी, महोत्तरी, बारा, पर्सा, बाँके, नुवाकोट, सप्तरी र धनुषामा कतै पूरै र कतै आंशिक निषेधाज्ञा जारी गरिएको छ  ।

आज राति १२ बजेबाट उपत्यकामा निषेधाज्ञा हुँदै, के गर्न पाइन्छ, के पाइँदैन ?

काठमाडौं । बुधबार राति (भदौ ३ गते) १२ बजेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुने भएको छ। उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखको बैठकले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि यस्तो निर्णय गरेका हुन्।

मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ जनकराज दाहाल, नारायणप्रसाद भट्ट र हुमकला पाण्डेसहित सुरक्षा प्रमुखबीच छलफलपछि एक साताका लागि निषेधाज्ञाको निर्णय गरेको हो।

निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेकका सेवा ठप्प रहनेछन्। यो निर्णयसँगै जिल्लाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक गाडी चलाउन नपाइने।

आज भाद्र ३ बुधबारको राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । चिताएको कामले तीव्रता लिनेछ । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज उन्नति प्रगतिको वातावरण बन्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा फाइदा पुग्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रोकिएका काम पुनः सुरु हुन सक्छन् । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । जग्गाजमिनको कारोबारबाट राम्रो फाईदा हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । धार्मिक/सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । छोटो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । दबाब र तनाव बढेको महसुस हुनेछ । सन्तानपक्षको मायामा कमी आउनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा रुचि र उपलब्धि पनि राम्रै पाइनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

अन्तत: काठमाडाैँ उपत्यकामा निषेधाज्ञा जारी हुने, कहिले सम्म हुन्छ निषेधाज्ञा ?

काठमाडौँ । अन्तत: काठमाडौं उपत्यकामा बुधबार मध्यरातिदेखि निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको छ ।

राजधानीमा कोभिड १९ को संक्रमण बढिरहेका बेला उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र तीनै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको काठमाडौं जिल्ला प्रशासन कार्यालयमा भर्खरै सकिएको बैठकले बुधबार राति १२ बजेबाट लागू हुनेगरि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

बैठकपछि महानगरिय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले भदौ १० गतेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय भएकाे बताए। अत्यावश्यक सेवाका बाहेक कुनै पनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय तथा सवारी संचालन गर्न पाइने छैन ।

खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा बाहेकका सवारी संचालन गर्न पाइने छैन । सर्वसाधारणको आवतजावतलाई पनि निषेध गरिनेछ । मंगलबारमात्रै राजधानीमा २ सय ५ जनामा कोरोना संक्रमण देखिएपछि सुरक्षा निकायले सतर्कता अपनाएका हुन्।

ईयू, जर्मनी र पाकिस्तानका लागि राजदूत नियुक्त(नामसहित)

काठमाडौं । सरकारले युरोपियन युनियन (ईयू) सहित केही देशमा राजदूत नियुक्त गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ईयूका लागि नेपाली राजदूतमा गेहेन्द्र राजभण्डारीलाई नियुक्त गरिएको हो। सरकारका प्रवक्ता डा. युवराज खतिवडाका अनुसार बेल्जियम र ईयूका लागि भण्डारीलाई नेपाली राजदूतमा नियुक्त गरिएको हो।

त्यसैगरी सरकारले पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि नेपाली राजदूतमा रामकाजी खड्कालाई नियुक्त गरिएको छ। प्रवक्ता खतिवडाले नयाँ राजदूत नियुक्त भएका भण्डारी, अधिकारी र खड्का परराष्ट्र मन्त्रालयका कर्मचारी हुन्।

आज काठमाडौं उपत्यकामा कति जनामा थपिए कोरोना संक्रमित?

काठमाडौं- काठमाडौं उपत्यकामा मंगलबार २०५ जना कोरोना संक्रमित थपिएका छन्।पछिल्लो २४ घण्टामा काठमाडौंमा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

हाल देशभर होम आइसोलेसनमा २ हजार ८८७ जना छन्। पछिल्लो २४ घन्टामा नेपालमा थप १०१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो हालसम्मकै सबैभन्दा धेरै हो।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २८ हजार २५७ जना पुगेको छ।

चीनकाे जासुसी गरेको आरोपमा अमेरिकी पूर्वगुप्तचर पक्राउ

एजेन्सी । अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सीआईएका एक भूतपूर्व अधिकारीलाई एक नातेदारसँग मिलेर चीनका लागि जासुसी गरेको आरोपमा पक्राउ गरिएको छ। ती नातेदार पनि सीआईएका कर्मचारी थिए ।

सतसट्ठी वर्षीय एलेक्ज्यान्डर युक चिङ मालाई गत शुक्रवार पक्राउ गरिएको र अभियोग लगाइएको अमेरिकी न्याय मन्त्रालयले एउटा विज्ञप्तिमा उल्लेख गरेको छ ।

उनले राष्ट्रिय सुरक्षासम्बन्धी वर्गीकृत सूचना चिनियाँ गुप्तचर अधिकारीहरूलाई दिएको आरोप लगाइएको छ । चीन र अमेरिकाबीच तनाव चुलिएको बेला जासुसीका आरोपमा पक्राउ परेका उनी सबैभन्दा महत्त्वपूर्ण व्यक्ति हुन् ।

मालाई मङ्गलवार अदालतमा पेस गरिन लागेको छ । दोषी ठहर भएमा उनलाई आजीवन कारावास सजाय हुनसक्छ । माको जन्म हङ्‌कङमा भएको थियो । तर उनी अमेरिकाका अङ्गीकृत नागरिक हुन् ।

उनले सन् १९८२ मा सीआईएमा काम गर्न थालेका थिए । अभियोजनकर्ताहरूका अनुसार सात वर्षपछि सीआईए छोडेर उनी अर्कै काम गर्न चीनको शाङ्घाई गए र २००१ मा फर्किए ।

मार्च २००१ मा हङ्‍कङमा भेटघाटहरू भएपछि मा र उनका नातेदारले एक दशक चीनका लागि जासुसी गरेको आरोप छ । ती दुईले “सीआईएका कर्मचारी, गतिविधि र सञ्चार गोप्य राख्ने उपायहरू” बारे चिनियाँ पक्षलाई जानकारी दिएको बताइएको छ ।

हङ्‌कङमा भएको एउटा भेटमा गोप्य सूचना दिएबापत माले ५०,००० डलर लिएको भिडिओ प्रमाण उपलब्ध भएको अमेरिकाको दाबी छ । अदातलमा पेस गरिएको कागतपत्रमा हवाईमा बस्दा माले चीनका लागि सूचना सङ्कलन गर्ने उद्देश्यले एफबीआईमा काम गर्न खोजेको उल्लेख छ ।

उनलाई एफबीआईको होनोलुलुस्थित कार्यालयले सन् २००४ मा करारमा भाषाविद्को जागिर दिएको थियो। उनले त्यहाँबाट गोप्य कागजपत्र चोरेको आरोप छ । तर उनलाई किन पक्राउ गरिएको थिएन भन्ने स्पष्ट छैन । माको षड्यन्त्रमा संलग्न उनका नातेदारको नाम उल्लेख गरिएको छैन ।

तर उनी ८५ वर्षका भएको र अमेरिकाका अङ्गीकृत नागरिक भएको अभियोजनकर्ताहरूको भनाइ छ । उनी शाङ्घाईमा जन्मिएका थिए। स्वास्थ्यस्थिति कमजोर भएकाले ती वृद्धलाई पक्राउ गर्न खोजिएको छैन ।

अमेरिकी सहायक महाधिवक्ताले चीनले लामो समयदेखि जासुसी गरेको र अमेरिका पूर्वगुप्तचरहरू पनि संलग्न भएको बताएका छन् । नोभेम्बर महिनामा चीनका लागि जासुसी गरेको ठहर भएका जेरी चुन शिङ लीलाई १९ वर्ष कैद सुनाइएको थियो ।

लीले उपलब्ध गराएको जानकारीका आधारमा चीनले सन् २०१० देखि २०१२ सम्म सूचनादाताको एउटा सञ्जाललाई ध्वस्त बनाइदिएको थियो । सीआईएका अर्का गुप्तचर केभिन मेलोरीलाई गत वर्ष मे महिनामा २० वर्षको सजाय सुनाइयो ।

त्यसैगरी दोषी ठहर भएका रोन रक्वेल ह्यान्सनले सेप्टेम्बर महिनामा १० वर्षको सजाय पाए ।

वरीयता आधारमा परराष्ट्रबाट ३ जना राजदूतमा सिफारिस

काठमाडौँ । मन्त्रिपरिषद्को सोमबार अपरान्ह बसेको बैठकले जर्मनी, बेल्जियम र पाकिस्तानका लागि परराष्ट्र कोटाअन्तर्गत राजदूत सिफारिस गरेको छ । परराष्ट्र स्रोतका अनुसार, परराष्ट्र मन्त्रालयमा कार्यरत वरिष्ठतम सहसचिवबाट क्रमशः गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्का राजदूत सिफारिसमा परेका हुन् ।

सिफारिसमा पर्नेमध्ये सहसचिव राजभण्डारी हाल प्रमुख शिष्टाचार महापाल, अधिकारी दक्षिण पूर्वी एसिया प्रमुख र खड्का राहदानी महाशाखामा महानिर्देशक छन् । प्रावधानअनुसार, राजदूत पद रिक्त हुनुभन्दा ३ महिनाअघि सिफारिस गर्न सकिने भएकाले मन्त्रालयले वरीयता आधारमा नाम पठाएको हो ।

हाल पाकिस्तानको इस्लामाबादमा परराष्ट्रकै सेवा लम्साल, जर्मनीमा रमेशप्रसाद खनाल र बेल्जियममा लोकबहादुर थापा कार्यरत छन् । तीनमध्ये लम्साल र खनालको ४ वर्षे पदावधि भदौ मसान्तमा पूरा हुँदैछ भने थापा कात्तिक तेस्रो साता मन्त्रालय फर्कनेछन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राजदूत नियुक्तिसम्बन्धी व्यवस्थामा परराष्ट सेवा र बाहिरबाट गरेर ५०–५० प्रतिशतको अनुपातमा नाम सिफारिस गरिने भने पनि राजनीतिक नियुिक्तका बारेमा जानकारी दिइएको छैन । अब ३ महिनामा रिक्त हुनेबाहेक २ वर्षयता दक्षिण कोरिया, श्रीलंका, दक्षिण अफ्रिकालगायतका मुलुकमा राजदूत रिक्त रहेका छन् । अमेरिकाको वासिङ्टन डीसीमा कार्यरत राजदूत अर्जुन कार्कीको ४ वर्षे कार्यकाल झण्डै १ वर्षअघि पूरा भए पनि ‘अर्को व्यवस्था नभएसम्म’ भन्दै कार्कीलाई राजदूत पदमा निरन्तर राखिएको छ ।

अबको ३ महिनाभित्रमा बेलायत, इजिप्ट, ब्राजिल, रुस, अष्ट्रियासहितका मुलुकमा राजदूत पद रिक्त हुँदैछ । असोज तेस्रो सातामा उमेर आधारमा अवकाश पाउन लागेका परराष्ट्र सचिव शंकर वैरागी पनि लण्डन वा वासिङ्टनमा राजदूत भएर जान सक्ने स्रोतको दाबी छ । तर, सचिव वैरागी राजनीतिक तालमेल र सहमति जुटेमा मुख्यसचिव बन्न सक्ने सम्भावना पनि छँदैछ। परराष्ट्र कोटाबाहेक राजनीतिक तहमा पनि राजदूत सिफारिस गर्ने अन्तिम तयारी भए पनि सत्तारुढ नेकपा दलभित्रकै विवाद र असमझदारीले नामको अन्तिम टुंगो नभइसकेको नेकपाका एक नेताले बताए । कान्तिपुर दैनिकबाट

पहिरोले म्याग्दीको हिलबाङ खोला थुनियो: तल्लो क्षेत्रका गाउँ जोखिममा

म्याग्दीको। मङ्गला गाउँपालिका–५ अर्मनमा पहिरो जाँदा हिलबाङ गाउँ हुँदै बग्ने ठाडो खोला थुनिएको छ । अर्मनको पाखु सामुदायिक वनबाट सोमबार दिउँसो ४ः३० बजे पहिरो खस्दा ठाडो खोला थुनिएपछि खानिवास, कुर्सिला र खारापानी क्षेत्रमा जोखिम बढेकोले स्थानीयवासीलाई सतर्क रहन अनुरोध गरिएको मङ्गला–५ का वडाअध्यक्ष भुपेन्द्रबहादुर खत्रीले बताए।

“माथि डाँडाबाट खसेको पहिरो खोलामा गएर थुप्रिएको छ, पहिरोले थुनिएको खोला एकैचोटि बग्न थाल्यो भने तल्लो क्षेत्रका गाउँहरुमा क्षति पुर्याउन सक्छ”, वडाअध्यक्ष खत्रीले भने । यसैबीच पहिरोले थुनिएको हिलाबाङ खोलाको अवस्था बुझ्न स्थानीय जनप्रतिनिधिसहितको एक टोली पहिरो स्थलतर्फ गएको छ । वडाअध्यक्ष खत्रीको नेतृत्वमा गएको टोलीले वनबाट खसेको पहिरोले थुनिएको खोलामा ठूलो पोखरी बनेकाले तल्लो क्षेत्रमा जोखिम बढेको जनाएको छ ।

पहिरो स्थलमा बाबियाचौरबाट प्रहरीको टोलीसमेत प्रस्थान गरेको छ । खोला थुनिएपछि कुर्सिला र खारापानीका स्थानीय बासिन्दाहरु त्रसित भएका छन् । साविकको अवस्थामा पानी नबगेसम्म तल्लो तटीय क्षेत्रका बासिन्दाहरुलाई जोखिम रहेकाले सजग रहन अनुरोध गरिएको छ ।