चिकित्सकको लाइसेन्स परीक्षा फेरि स्थगित

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरुको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा फेरि स्थगित गरेको छ । भदौ ७ गतेदेखि लिने भनिएको दर्ता प्रमाणपत्र परीक्षा स्थगित गरेको काउन्सिलले बुधबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

कोरोना संक्रमित बढ्दै जाँदा काठमाडौं उपत्यकालगायत विभिन्न ठाउँमा गरिएको निषेधाज्ञा तथा बन्दाबन्दीका कारण परीक्षण स्थगित गरिएको काउन्सिलले जनाएको छ । उक्त परीक्षा कोरोना संक्रमणको अवस्था कम भएपछि मात्र हुने काउन्सिलले प्रष्ट पारेको छ । त्यसका लागि परीक्षा मिति र परीक्षा केन्द्र पछि नै तोकिने बताइएको छ ।

यसअघि गत चैत ८ देखि शुरू हुने भनिएको चिकित्सकहरुको लाइसेन्स परीक्षा कोरोनाकै कारण स्थगित भएको थियो । साउन ६ गते लकडाउन खुलेसँगै काउन्सिलले चिकित्सकको लाइसेन्स परीक्षा लिने तयारी गरेको थियो । काउन्सिलले एमबीबीएस र बीडीएस उत्तिर्णहरूको लाइसेन्स परीक्षा लिदै आएको छ ।

थप ६ जनाको मृत्यु, काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या १२० पुग्यो

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा काठमाडौं र बर्दियाका १/१ पुरुषहरु साथै मोरङ, भक्तपुर, सुनसरी र चितवनमा १/१ जना महिला रहेको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

यही २४ घण्टाकै बीचमा थप ६८१ जना नयाँ संक्रमित पनि फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । कुल संक्रमित भने २८ हजार ९३८ पुग्दा सक्रिय संक्रमित भने ११ हजार ११८ जना मात्र रहेको मन्त्रालयले जनाएकाे छ ।

राष्ट्र बैंक सबै बैंकहरुलाई दियाे यस्ताे कडा निर्देशन

काठमाडौं । निषेधाज्ञाको समयमा सर्वसाधारणलाई प्रभावकारी बैंकिङ सेवा दिन सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले निर्देशन दिएको छ ।

राष्ट्र बैंकले  निर्देशनमार्फत् एटीएम बुथमा पर्याप्त नगद राख्‍न र ग्राहकलाई विद्युतीय कारोबारको लागि सूचित गर्न भनेको छ । यस्तै अत्यावश्यक वस्तुको आपूर्ति सुनिश्चित गर्न ड्राफ्ट, टीटी, प्रतितपत्र, ग्यारेन्टी लगायतका कारोबार सञ्चालन हुने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

सम्बन्धित प्रशासनसँग समन्वय गरेर सम्भव भएसम्म निश्चित समयको लागि आलोपालो मिलाएर न्यूनतम कर्मचारीबाट न्यूनतम शाखा खोलेर कारोबार गर्न पनि राष्ट्र बैंकले भनेको छ ।

खुल्ने शाखाको विवरण तथा सम्बन्धित व्यक्तिको नाम वेबसाइटमा राख्न र शाखाको मूल ढोकामा खुल्ने वैकल्पिक शाखाको विवरण टाँस गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ

प्रेस काउन्लिस कार्यवहाक अध्यक्ष परिवर्तन गर्नेनिर्णय कार्यान्वयन नगर्न सर्वाेच्चको अन्तरिम आदेश

काठमाडाैं । सर्वोच्च अदालतले प्रेस काउन्लिसमा कार्यवहाक अध्यक्ष परिवर्तन गर्ने सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले प्रेस काउन्सिलको नियमावली परिवर्तन गर्दै कार्यवहाक अध्यक्ष परिवर्तन गर्ने निर्णयको कार्यान्वयन रोक्न अन्तरिम आदेश जारी गरेको हो।

गत सोमबारको मन्त्रिपरिषदको बैठकले काउन्सिलका कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठलाई हटाई दुर्गा भण्डारीलाई नियुक्त गरेको थियो। सरकारकाे निर्णयले प्रेस स्वतन्त्रता कमजोर भएको भन्दै चेतनाथ धमलाले सोमबार नै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

काठमाडौं उपत्यकामा थपिए १५९ कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौंमा १३७, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैबीच देशभर पछिल्लो २४ घण्टामा ६८१ कोरोना संक्रमित थपिएका छन् ।

थप ६८१ जनामा काेराेना संक्रमण पुष्टि, १२० जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६८१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज ६८१ जनामा सङ्क्रमित फेला परेको जानकारी दिए । विभिन्न प्रयोगशालामा ११ हजार ५२२ जनाको गरिएको पिसीआर परीक्षणमा ६८१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यसअघि मंगलबार एकै दिन सबैभन्दा बढी एक हजार १६ जनामा सङ्क्रमण देखिएको थियो । आज देखिएका सङ्क्रमितसँगै नेपालमा कूल सङ्क्रमितको संख्या २८ हजार ९३८ जना पुगेको छ । मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार सक्रिय सङ्क्रमित ११ हजार ११८ जना रहेका छन् ।

यसैगरी आज १२० जना सङ्क्रमित जितेर घर फर्किएका छन् । अहिलेसम्म १७ हजार ७०० जना सङ्क्रमित निको भई घर फर्किसकेको उनले बताए । मुलुकभरि क्वारेन्टिनमा १३ हजार ५७१ जना रहेका छन् । यसैगरी पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म १२० जना सङ्क्रमणबाट मृत्यु भएका छन् ।

आज काठमाडौं उपत्यकामा कति भेटिए काेराेना संक्रमित?

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार १ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा उपत्यकामा १ सय ५९ जनामा कोरोना पुष्टि भएको जानकारी दिए।

संक्रमितमध्ये काठमाडौंमा १३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जना छन्। मंगलबार काठमाडौं उपत्यकामा २ सय ५ जनामा कोरोना पुष्टि भएको थियो।

नेपालमा थप ६८१ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ६८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो हालसम्मकै सबैभन्दा धेरै हो।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २८ हजार ९३८ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १२० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १७ हजार ७०० उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म ११८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

अन्तत: नेकपा एमाले नामक पार्टी दर्ता, काे भए अध्यक्ष?

काठमाडौं । निर्वाचन आयोगले नेपालको १३२ औं पार्टीकाे रूपमा नेकपा एमाले नामक पार्टी दर्ता गरेकाे छ ।

नवगठित नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी र महासचिव मनिषकुमार उपाध्याय रहेका आयोगले जनाएकाे छ ।

एमालेको चुनाव चिन्ह उदाउँदो सूर्य रहेको छ । गत १२ असारमा दल दर्ताका लागि आवेदन परेको थियो । निवेदन परेको झण्डै दुई महिनापछि आयोगले दल दर्ता गरेको हो ।

स्वास्थ्य संस्थाविरुद्ध अदालत जाने सरकारको तयारी

काठमाडाैँ । प्रदेश सरकारले कोरोना महामारी नियन्त्रणमा असहयोग गर्ने निजी स्वास्थ्य संस्था एव मेडिकल कलेजहरुविरुद्ध अदालत जाने तयारी थालेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्गलबार सम्पन्न प्रदेश सङ्कट व्यवस्थापन केन्द्र (पिसिएमसी)को बैठकले कोरोना महामारी नियन्त्रणमा असहयोग गर्ने प्रदेशस्थित मेडिकल कलेजसहित निजी स्वास्थ्य संस्थाविरुद्ध अदालत जाने तयारी थाल्ने निर्णय गरेको हो।

बैठकले समाजिक विकासमन्त्रीको संयोजकत्वमा सुरक्षा निकायका प्रमुखसमेत रहने गरी समन्वय समिति गठन गर्दै उक्त समितिले मेडिकल कलेजसहितका निजी स्वास्थ्य संस्थासँग कोरोना व्यवस्थापनको विषयमा पहिलो चरणमा छलफल गर्ने, मेडिकल कलेज तथा निजी अस्पताललाई सङ्घीय सरकारले तोकेको दर उपलब्ध गराई कोभिड उपचारका लागि प्रयोग गर्ने निर्णय गरेको छ ।

त्यसपछि पनि मेडिकल कलेज तथा निजी अस्पतालले कोभिड उपचारमा सहयोग नगरे कारवाही तथा दर्ता खारेजका लागि सङ्घीय सरकारमा लेखी पठाउने तथा कानूनबमोजिम कारवाहीका लागि मुद्दा प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ। बैठकले प्रदेशमा समुदायस्तरमै फैलिँदै गएको कोरोना महामारी नियन्त्रणमा रहेका अप्ठ्यारा एवं सरकारले गर्नुपर्ने कामबारे जिल्लास्तरबाटै जानकारी लिन प्रदेशको चार स्थानमा दुई÷दुई जिल्ला समेटिने गरी बैठक गर्ने निर्णयसमेत गरेको छ । साथै प्रदेश सरकार र पिसिएमसीले विगतमा गरेका निर्णयहरु अविलम्ब कार्यान्वयन गर्न सरोकारवालालाई निर्देशनसमेत दिएको छ।

बैठकमा मुख्यमन्त्री लालबाबु राउतले कोरोनाको अति दुःखदायी तथा असहज परिस्थितिमा सबै नागरिकलाई बचाउने पहिलो जिम्मेवारी भएको हुनाले प्रदेश सरकार कठोरभन्दा कठोर कदम चाल्न बाध्य रहेको उल्लेख गरे । उनले यस विषम परिस्थितिमा सबै पक्षलाई आ–आफनो स्तरबाट सहयोग गर्न अपिलसमेत गरे।

यसअघि नै निर्णय भएको वीरगञ्ज, जनकपुर र राजविराजमा थप पिसीआर मेशिन जडान एवं गौरमा नयाँ ल्याब सञ्चालनकार्य अविलम्ब पूरा गर्नुका साथै महोत्तरीको जलेश्वरमा समेत नयाँ पिसीआर ल्याब सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । बैठकले कोरोना महामारी नियन्त्रणमा देखिएको जनशक्ति अभावलाई अविलम्ब करार सेवामार्फत परिपूर्ति गर्नसमेत समाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ। यसका साथै बैठकले कोरोना महामारी नियन्त्रणमा उत्कृष्ट भूमिका निर्वाह गर्ने चिकित्सक, स्वाथ्यकर्मी एवं सुरक्षाकर्मीलाई प्रोत्साहनस्वरुप पुरस्कृत गर्ने निर्णयसमेत गरेको छ।