उपत्यकाभित्र निषेधाज्ञा कार्यान्वयनमा कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यकामा बुधबार राति १२ बजेबाट जारी ‘निषेधाज्ञा’ कडाइका साथ पालना गर्ने र गराउने निर्णय कार्यान्वयनमा प्रशासनले सम्पूर्ण ध्यान केन्द्रित गरेको छ । उपत्यकाको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीबीच निषेधाज्ञा कडाइका साथ पालना गर्नेरगराउने निर्णय भएको हो ।

कोरोना सङ्क्रमण महामारी रोकथाम तथा नियन्त्रण कार्यका लागि बुधबार रातिबाट एक हप्ता भदौ १० गते बुधबार रातिसम्मका लागि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द भएका छन् । सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाट बाहिर नजान आग्रह गरिएको छ । निषेधाज्ञा पालना गराउन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

अत्यावश्यक यातायात सेवाहरू दमकल, बिरामी बोकेका एम्बुलेन्स, शव वाहन, ढुवानीजन्य खाद्य, इन्धन, दुग्धजन्य पदार्थ, तरकारी, फलफूल, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी सवार सवारी साधन बाहेकलाई उपत्यकाबाट बाहिरिन र भित्रिन रोक लगाइएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले औषधि र खाद्यवस्तु तथा अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको काममा बाहेक सर्वसाधारणलाई घरबाहिर ननिस्कन आग्रह गरे । उनले अटेर गर्नेलाई कारबाहीको समेत चेतावनी दिए ।

उपत्यकाभित्र मालवाहक ढुवानीका सवारी साधन तथा विद्युत्, दूरसञ्चार, भन्सार, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पतालमा जाने बिरामी, मृत्यु संस्कारका लागि हिँडेका सवारी साधन, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सवार साधनमा रोक लगाइएको छैन ।

कोभिड–१९ नियन्त्रणमा खटिएका राष्ट्रसेवक कर्मचारी, नियमित सेवा प्रदान गर्न अनिवार्य गरिएका कार्यालयका कर्मचारीको हकमा भने बिहान ९ बजेदेखि १०.३० बजेसम्म र साँझ ३ बजेदेखि ५.३० बजेको समय निर्धारण गरिएको छ । यसका लागि ती कार्यालयहरूले न्यूनतम कर्मचारीको सङ्ख्या निर्धारण गर्नुका साथै कार्यालयबाट जारी फोटोसहितको परिचयपत्र अनिवार्य गरिएको छ ।

निषेधाज्ञामा मन्त्रालय लगायत कतिपय सरकारी कार्यालय भने खुला हुनेछन् । सञ्चार गृह तथा सञ्चारकर्मीहरूका लागि भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागबाट यसअघि उपलब्ध सवारी पासलाई नै मान्यता दिने जनाइएको छ । विभागले प्रेस विज्ञप्ति जारी गरी उक्त पास प्रयोग गर्दा आफू कार्यरत सञ्चार गृहबाट जारी फोटोसहितको परिचयपत्र देखाए पुग्ने जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् ।

मुलुकका अधिकांश विश्वविद्यालयको अवस्था लथालिंग

काठमाडौं । बर्सेनि अर्बौं रकम लगानी भइरहेका मुलुकका अधिकांश विश्वविद्यालय लथालिंग हालतमा छन्। सरकारले पदाधिकारी नियुक्त नगर्दा विश्वविद्यालयहरू चलायमान बन्न सकेका छैनन् । जसका कारण लगानीको सदुपयोग हुन सकेको छैन ।

चितवनस्थित कृषि तथा वन विज्ञान, नेपाल संस्कृत र पोखरा विश्वविद्यालय एक वर्षदेखि नेतृत्वविहीन छन् । यी विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रार, डिन, क्याम्पस प्रमुखलगायत पदाधिकारीहरू नियुक्त हुन सकेका छैनन् । मूल नेतृत्व भएका अन्य विश्वविद्यालयमा पनि तालाबन्दी र आन्दोलनका कारण नतिजामुखी काम हुन सकेको छैन। त्यसमाथि कोभिड– १९ संक्रमण त्रासका कारण लकडाउन गरिएपछि समस्या भएको छ । कोरोना प्रभाव र पदाधिकारी अभावको पीडा विश्वविद्यालयले भोगिरहेका छन् ।

सत्ताधारी दल नेकपाका दुई अध्यक्षबीच भागबन्डा नमिल्दा विश्वविद्यालयको नियुक्ति रोकिएको हो। त्यसमाथि विपक्षी कांग्रेसले पनि भाग खोजेपछि समस्या थप जटिल बनेको छ। यसले सबै विश्वविद्यालयका शैक्षिक, प्रशासनिक तथा आर्थिक गतिविधि प्रभावित भएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सूर्यप्रसाद पाण्डेले लेखेका छन् ।

आज भाद्र ४ गते बिहिबारको राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । सामाजिक र धर्मकर्मको क्षेत्रमा मन लाग्नेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ । चिताएको कामले तीव्रता लिनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योगपनि छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धार्मिक कार्यको चर्चा चल्नेछ । स्वादिष्ट खनेकुराको परिकार खान पाईनेछ । प्रविधि मार्फत टाढा रहेका आफन्तसंग भेटघाट हुनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज पारिवारिक सहयोगको छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरूमा झमेला हुन सक्छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज परिवारजनको साथले नयाँ आशा पलाउनेछ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ, तर यात्रा नगरेकै राम्रो हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) ज्ञान र अध्यात्मको भावना जाग्न सक्छ । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । साझेदारीको काममा सहयोग मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) स्वास्थ्यप्रति सजक रहनु होला । दबाब र तनाव बढेको महसुस हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) दबाब र तनाव बढेको महसुस हुनेछ । कार्य सम्पादनमा समस्या आउला । जिद्दीपनाले गर्दा काम बिग्रने डर र नोक्सानी बेहोर्नु पर्ला ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । – ज्यो.प. नारायणप्रसाद दुलाल

पटकपटक करणी पछि किशोरीलाई वेचबिखन, एकजना पक्राउ

काठमाडौं । प्रहरीले १७ वर्षीया किशोरीलाई वेचबिखन गरेको आरोपमा एक जनालाई पक्राउ गरेकाे छ । काठमाडाैंकाे तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली बस्ने नुवाकोट तादी गाउँपालिका ३ खरानिटार घर भएका अर्पण तामाङ भनिने २२ वर्षीय राजु तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

किशोरीले आफू वेचबिखनमा परेको भन्ने जानकारी गराएपश्चात तामाङलाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ । ती किशोरीलाई तामाङले सधैभरि माया गर्ने, विवाह गर्ने भन्दै प्रलोभन देखाई प्रेमजालमा फसाएर शुरूमा काठमाडौं गोंगबुस्थित गेष्टहाउसमा लगि पटकपटक जबरजस्ती यौन सम्बन्ध राखेको समेत खुलेको छ ।

यौन सम्बन्ध राखीसकेपछि आफ्नो साथीको जिम्मा लगाएको र उनको साथीले किशोरीलाई गोंगबुबाट ट्याक्सीमा चितवन हुँदै काकडभिट्टा सिमा नाकाबाट अपरिचित भारतीय पुरुषको जिम्मा लगाएका थिए । साथै भारतीय पुरुषले किशोरीलाई विभिन्न डरत्रास देखाइ शारीरिक तथा मानसिक पीडा दिँदै रोजगार लगाईदिने बहानामा भारतको विभिन्न ठाँउमा लैजाने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको ब्युरोले जनाएको छ ।

काेराेनाले सञ्चार क्षेत्रमा परेको समस्या समाधानका लागि सरकार तयार

काठमाडौं । अर्थ सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले काेराेना भाइरसबाट नेपाली मिडियामा परेको समस्या समाधानका लागि सरकार तयार रहेको बताएका छन् ।

‘काेराेना भाइरसले नेपालको पत्रकारितामा पारेको प्रभाव’ सम्बन्धमा नेपाल प्रेस इन्स्टिच्युटले तयार पारेको प्रतिवेदन बुझ्दै मन्त्री खतिवडाले महामारी र विपदको अवस्थामा अग्रपंतिमा बसेर काम गर्ने पत्रकारहरुको समस्याको समाधानका लागि सरकार तत्पर रहेको बताएका हुन् ।

सबै किसिमको पेशा व्यवसायमा असर परेको र पत्रकारिता क्षेत्र पनि अग्रपंक्तिमा रहने भएकाले त्यसमा परेको असर सम्बन्धमा सरकारले पनि अध्ययन अनुसन्धान गरेको र त्यसको आधारबाट समस्याको साधान गरिने उनले बताए । सरकारका प्रवक्ता समेत रहेका मन्त्री खतिवडाले कोभिडका कारण सञ्चार क्षेत्रमा विभिन्न समस्या देखा परेको उल्लेख गर्दै त्यसको समाधानका लागि सरकार तत्पर रहेको बताए ।

कैलालीमा फेरि १० दिन लकडाउन

धनगढी। कोरोना संक्रमण बढ्दै गएपछि कैलालीमा विहीबार राति १२ बजेदेखि पुनः लकडाउन गर्ने निर्णय गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीको बुधबार बसेको बैठकले बिहीबार राती १२ बजे देखि लागु हुनेगरी १० दिनसम्मका लागि लकडाउन गर्ने निर्णय गरिएको हो ।

लकडाउनमा जिल्लामा अत्यावश्यक सेवा तथा वस्तु बाहेकका सबै प्रकारका उद्योग, व्यापार व्यवसाय बन्द हुने कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकरी दिए ।

बुधबार कुन जिल्लामा कति संक्रमित भेटिए?

काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार ९ सय ३८ जना पुगेको छ। गत २४ घण्टामा मात्र ६ सय ८१ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

३१ वटा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३९ जिल्लाका ६ सय ८१ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

प्रदेश १ को पाँच वटा जिल्लामा १ सय २३ जना संक्रमित भेटिएका छन्। ओखलढुंगामा १, झापामा १६, पाँचथरमा १, मोरङमा ६९ र सुनसरीमा ३६ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को ८ जिल्लामा गरी २ सय ८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। संक्रमित भेटिने जिल्लामा धनुषाका २८, पर्साका १ सय ८, बाराका १५, महोत्तरीका १२, रौतहटका ४, सप्तरीका १३, सर्लाीका १९ र सिरहाका ९ जना छन्।

बागमती प्रदेशमा १ सय ८४ जना संक्रमित भेटिएका छन्। गत २४ घण्टामा पाँच जिल्लामा संक्रमित भेटिएका हुन्। काठमाडौंमा १ सय ३४, चितवनमा २४, धादिङमा १, भक्तपुरमा ८ र ललितपुरमा १७ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।

यस्तै, गण्डकी प्रदेशको पाँच जिल्लामा २७ जना संक्रमित फेला परेका छन्। कास्कीमा ५, गोरखामा ३, तनहुँमा ४, नवलपरासी पूर्वमा १२ र लमजुङमा ३ जना संक्रमित भेटिएका छन्।

गत २४ घण्टामा गरिएको परीक्षणमा प्रदेश ५ को आठ वटा जिल्लामा संक्रमित भेटिएका छन्। मन्त्रालयका अनुसार प्रदेश ५ मा मात्र ८५ जनामा कोरोना पुष्टि भएको छ। कपिलवस्तुमा ६, दाङमा ३, नवलपरासी पश्चिम र पाल्पामा १/१, प्युठान र बर्दियामा २/२, बाँकेमा १८ र रुपन्देहीमा ५२ जनामा कोरोना भेटिएको छ।

कर्णाली प्रदेशमा ४४ जनामा संक्रमण भेटिएको छ। संक्रमण भेटिनेमा जुम्लामा ९, डोल्पामा १, दैलेखमा ४, सल्यानमा १७ र सुर्खेतमा १३ जना छन्।

सुदूरपश्चिम प्रदेशको तीन वटा जिल्लामा गरी १० जना संक्रमित भेटिएको मन्त्रालयको तथ्यांक छ। अछाम र कैलालीमा ३/३ र डोटीमा ४ जना संक्रमित भेटिएका छन्।

६ सय ८१ संक्रमितमध्ये २ सय १६ जना महिला छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा ११ हजार ५ सय २२ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या ५ लाख ५४ हजार ३ सय ८८ पुगेको छ।

कुल संक्रमितमध्ये ११ हजार १ सय १८ जना सक्रिय संक्रमित छन्। जसमध्ये ७ हजार ९ सय ८७ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। हाल १३ हजार ५ सय ७१ जना क्वारेन्टाइनमा छन्।

सावधानी अपनाए कोरोना संक्रमित छिमेकमै भएपनि सर्दैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उचित सावधानी अपनाए कोरोना संक्रमित टोल वा छिमेकमा भए पनि अन्य व्यक्तिलाई नसर्ने जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमितको नजिक गएमात्र कोरोना सर्ने तर संक्रमित टोल वा छिमेकमा रहँदैमा भेन नसर्ने बताएका हुन् ।

‘कोरोना संक्रमित आफ्नो टोल छिमेकमा हुँदैमा कोरोना हाम्रो घरमा पनि आउँछ र सर्छ भन्ने भ्रम हो । हामी सबैले स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाएमा कोरोना संक्रमणबाट बच्न सकिन्छ । कोरोना संक्रमित व्यक्तिलाई टाढाबाट हेर्दा, टोल छिमेकमै रहँदा हामी डराउनु पर्दैन ।’ डा गौतमले भने, ‘यदि कोरोना संक्रमित आफ्नो कोठामा छुट्टै बसेको घरमा आईसोलेशनमा बस्दा पालना गर्नुपर्ने मापदण्डहरु पालना गरेमा संक्रमण सर्ने सम्भावना हुँदैन ।’

डा गौतमले कोरोना संक्रमित व्यक्तिबाट दुई मिटरभन्दा नजिक बस्दा, खोक्दा वा हाछिंयू गर्दा निस्कने छिटाहरुबाट र उनीहरुले प्रयोग गरेका सामान साटासाट गरेमा मात्र कोरोना सर्ने बताए । उनले संक्रमित व्यक्तिलाई कुनै लक्षण देखिएको छैन भने घरमा आइसोलेसन बस्न पाउने प्रावधान सरकारले गरेको पनि बताए । उनले कोरोना संक्रमित घरमा बस्दैमा अपहेलना नगर्न पनि आग्रह गरे ।

प्रेमजालमा फसाएर सत्र वर्षीया किशाेरीलाई बलात्कार गरी भारतमा बेचबिखन

काठमाडौँ । बालिकालाई दलालले प्रेम जालमा फसाएर बलात्कार गरी बेचबिखन गरेको खुल्न आएको छ । सत्र वर्षीया बालिकालाई विवाह गर्ने भनी प्रलोभन देखाई प्रेम जालमा फसाई बलात्कार गरेर बेचबिखन गरेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ ।

उक्त मुद्दामा प्रहरीले नुवाकोट जिल्ला तादी गाउँपालिका– ३ खरानीटार स्थायी घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका– २ बस्ने अर्पण भनिने राजु तामाङलाई पक्राउ गरेको छ ।

 शुरुमा प्रलोभनमा पारेर बालिकालाई काठमाडौँको गोङ्गबुस्थित फेसबुक गेष्ट हाउसमा लगी पटकपटक जबर्जस्ती करणी गरेको खुल्न आएको ब्युरोका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

त्यति गरेर मात्रै उनले चित्त बुझाएनन्, आफ्नो साथीमार्फत ट्याक्सी चढाई चितवन हुँदै काँकडभिट्टाबाट सीमा कटाए । उनका सहयोगी भारतको एक नचिनेको पुरुषलाई बालिका जिम्मा लगाएर फर्किएका थिए ।

भारतीय व्यक्तिले निज बालिकालाई अश्लिल भिडियो देखाई मानसिक यातना दिने गरेको र रकम तिरेर किनेको भन्दै त्रासमा राखेर चरम यातना दिएको खुलेको छ । उनले बेलाबेलामा शारीरिक र मानसिक यातना दिँदै रोजगारी लगाइदिने बहानामा भारतका विभिन्न ठाउँमा लग्ने गरेको पीडित बालिकाले बताएकी छिन् ।

त्यही सिलसिलामा बालिका पीडकको आँखा छलेर भाग्न सफल भई अपरिचित नेपालीको सम्पर्कमा पुगेको र ती नेपालीमार्फत कैलालीस्थित प्रहरीको सम्पर्कमा पुगेकी थिइन् ।

एक संस्थाको संरक्षण केन्द्रमा राखी मनोपरामर्श सेवा प्रदान गरेपश्चात् बालिकालाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । एक वर्षअघि उक्त घटना भएको थियो । त्यसपछि उनी फरार हुँदै आएका थिए । उनका सहयोगी भने फरार छन् । उनको खोजी जारी रहेको जनाइएको छ । अभियुक्त तामाङविरुद्ध साउन २९ मा नै ब्युरोमा कारवाही गरी पाउँ भनी जाहेरी परेको थियो ।

तामाङलाई ब्युरोको टोलीले यही भदौ १ गते पक्राउ गरी काठमाडाैँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्युरोले आज विज्ञप्तिमार्फत जनाएको छ ।

कोरोनाका लागि २० प्रतिशत बेड नछुट्याउने अस्पतालको पीसीआर अनुमति खारेज : स्वास्थ्य मन्त्रालय

काठमाडाैं । निजी अस्पतालहरुले कोरोना भाइरस संक्रमितका उपचारका लागि २० प्रतिशत बेड नछुट्याए पीसीआर परीक्षणका लागि दिइएको अनुमति खारेज गरिने सरकारले चेतावनी दिएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बुधबार आयोजित कोभिड १९ नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मेडिकल कलेजले एक तिहाइ बेड कोरोनाको उपचारका लागि छुट्याए उनीहरुले पीसीआर परीक्षणका लागि अनुमति पाउने पनि जानकारी गराए ।

केही समयअघि मन्त्रालयले कोभिड उपचारका लागि हरेक अस्पतालले २० प्रतिशत बेड र मेडिकल कलेजले एक तिहाइ आइसोलेसन बेड छुट्याउन निर्देशन दिएको थियो । प्रवक्ता गौतमले निजी अस्पतालहरुले कोरोना संक्रमितको उपचार गर्दिनँ भन्न नपाउने बताए । उनले भने, ‘आउने एक दुई वर्षमा कुनै पनि उपचार गर्ने अस्पतालले कोभिड बाहेकको मात्र उपचार गर्ने सम्भव छैन । जचाउन आउने ननकोभिड बिरामी पनि कोभिड संक्रमित हुन सक्छन् । त्यतिबेला अस्पतालले तुरुन्त रिफर गर्न सम्भावना कम हुन्छ ।’

डा गौतमका अनुसार अब सरकारी अस्पताल भरिभराउ हुने सम्भवाना छ । निजीले उपचार गर्दिनँ भन्न मिल्दैन । यो उनीहरुको जिम्मेवारी तथा बाध्यता हो । संक्रमण फैलिन्छ भन्ने कुरा छ तर अब अस्पताल नै बन्द गर्ने त ? उनले हब अस्पताल पनि भर्दा कोरोनाको बिरामी आफैं उपचार गर्नुपर्ने बताए ।