कोरोनाबाट रुपन्देही र बारामा एक/एक जनाकाे मृत्यु

काठमाडाैं । रुपन्देहीमा कोरोना भाइरसकाे संक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्लाकाे देवदह नगरपालिकाका एक व्यक्तिको बुधबार कोरोना पोजिटिभ नतिजा आएको र बिहीबार मृत्यु भएको देवदह नगरपालिकाका प्रमुख हिरा केसीले जानकारी दिए ।

नगरपालिकाको वडा नम्बर ३ निवासी ७० वर्षीय पुरुष पहिलेबाट नै अन्य रोगको बिरामी रहेकाले परिवारले उपचार गराइरहेको थियो । गत शनिबार पुन: व्यथाले च्यांपेपछि उनलाई देवदह मेडिकल कलेजमा लगिएको थियो । आईसियुमै राखेर उपचार गरिएका उनको मंगलबार स्वाब परीक्षणका लागि पठाइएको र बुधबार रिपोर्ट पोजिटिभ आएको प्रमुख केसीले जनाए ।

मृतकमा उच्च रक्तचाप, पक्षघात र मधुमेहको समस्या समेत रहेको थियो । केही दिन अघि भैरहवाको युनिभर्सल मेडिकल कलेजमा उपचार गराएका उनको देवदह मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

यस्तै बाराकाे कलैया उपमहानगरपालिका–१० मटिअर्वा बस्ने ५९ वर्षीय पुरुषको पनि कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु भएको छ । बुधबार राति ११ बजेतिर अचानक श्वास प्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा पुर्‍याएलगत्तै उनको मृत्यु भएको नारायणी अस्पतालका चिकित्सक डा. उदय नारायण सिंहले जानकारी दिए ।

आजराति १२ बजेदेखि रामेछापमा निषेधाज्ञा

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले आजराति १२ बजेदेखि लागू हुने गरी भदौ १३ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । कोभिड–१९ को संक्रमण बढेको भन्दै रामेछापमा दोस्रो पटक निषेधाज्ञा जारी गरिएकाे प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन ।

यसअघि चैतदेखि जेठसम्म जिल्लाभर निषेधाज्ञा लगाइएको थियो । असारदेखि हालसम्म बजार र आन्तरिक सार्वजनिक सवारी सञ्चालन थिए । शर्माद्वारा जारी सूचनामा निषेधाज्ञाको अवधिमा अत्वाश्यक सेवा बाहेक अरु सेवा प्रभावित हुने जनाइएको छ ।

खाद्य, दूध, तरकारी र फलफूलका पसलहरु हरेक दिन बिहान ५ बजेदेखि ९ बजेसम्म सञ्चालन हुन दिने र अत्यावश्यक सेवाका सवारी सञ्चालन बाहेकका अन्य कार्य उक्त अवधिमा हुन पाउने छैनन् । सूचनामा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म पैदल यात्रा समेतलाई निषेध गरिएको जनाइएको छ ।

बिहीबार कुन जिल्लामा कति संक्रमित भेटिए?

काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार नाघेको छ। गत २४ घण्टामा ७ सय ७ जना थपिएसँगै कोरोना संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

५२ जिल्लाका १ सय ९२ महिला र ५ सय १५ महिला गरी ७ सय ७ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। यसअघि बुधबार ३९ जिल्लामा मात्र कोरोना संक्रमित भेटिएका थिए।

प्रदेश १ को ६ जिल्लामा ३७ जना संक्रमित भेटिएका छन्। उदयपुरमा ४, झापामा १, तेह्रथुममा ९, धनकुटामा १, मोरङमा ९ र सुनसरीमा १३ जना संक्रमित भेटिएका छन्।

प्रदेश २ को ८ जिल्लामा २ सय ४८ संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ। धनुषामा ३१, पर्सामा ५५, बारामा ८, महोत्तरीमा १५, रौतहटमा ६, सप्तरीमा १९, सर्लाहीमा ९३ र सिरहामा २१ जना संक्रमित भेटिएका छन्।

बागमती प्रदेशमा कोरोना संक्रमित पुष्टि हुनेको संख्या २ सय ३६ पुगेको छ। गत २४ घण्टामा ११ जिल्लाका गरी २ सय ३६ जनामा कोरोना भेटिएको हो। काठमाडौंमा मात्र १ सय ७४ जना संक्रमित भेटिएका छन्। काभ्रे र चितवनमा १/१, दोलखा र धादिङमा २/२, नुवाकोटमा ३, भक्तपुरमा ८, मकवानपुरमा २५, ललितपुरमा १८, सिन्धुपाल्चोक र सिन्धुलीमा १/१ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।

यस्तै गण्डकी प्रदेशको ६ जिल्लाका ३४ जनामा कोरोना पुष्टि भएको छ। कास्कीका १९, गोरखाका १, तनहुँका २, नवलपरासी पूर्वका ३, बागलुङका ८ र स्याङजाका १ जनामा कोरोना पुष्टि भएको हो।

गत २४ घण्टामा प्रदेश ५ मा आठ जिल्लाका ७५ जनामा कोरोना पाएको छ। कपिलवस्तुमा ३०, गुल्मीमा ३, दाङमा ४, प्युठानमा १, बर्दियामा २, बाँकेमा १६, रुपन्देहीमा १८ र रोल्पामा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशको ६ जिल्लामा पनि कोरोना संक्रमित फेला परेका छन्। गत २४ घण्टामा मात्र कर्णाली प्रदेशमा २४ जना संक्रमित फेला परेको प्रवक्ता गौतमले जानकारी दिए। उनका अनुसार कालिकोट, रुकुम पश्चिम, सल्यान, सुर्खेत र जाजरकोटमा १/१, दैलेखमा १९ जना संक्रमित भेटिएका छन्।

यस्तै, सुदूरपश्चिमको सात जिल्लामा ५३ जनामा कोरोना पुष्टि भएको छ। अछाममा ३१, कैलाली, दार्चुला, बझाङ र बैतडीमा १/१, डडेल्धुरामा २ र डोटीमा १६ जनामा कोरोना पुष्टि भएको हो।

कोरोनाको आशंकामा गत २४ घण्टामा ११ हजार ६ सय २७ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या ५ लाख ६६ हजार १५ जना पुगेको छ।

कुल संक्रमितमध्ये हाल ११ हजार ५ सय ५५ सक्रिय संक्रमित छन्। क्वारेन्टाइनमा रहने व्यक्तिको संख्या ११ हजार ७ सय ६८ पुगेको मन्त्रालयले जनाएको छ।

काठमाडौंमा मात्रै करिब १२ सय संक्रमित, यी हुन पाँच कोरोना हटस्पट

काठमाडौं । बिहीवार काठमाडौं उपत्यकामा थप २०० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २०० जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

प्रवक्ता गौतमका अनुसार उपत्यकामा आज थपिएका नयाँ संक्रमित काठमाडौंका १७४ जना, ललितपुरका १८ जना र भक्तपुरका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौं महानगरपालिकामा कोरोनाभाइरस संक्रमण दर बढ्दै गएको छ। बिहीबारसम्म महानगरमा १ हजार १ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ६ जनाको ज्यान गइसकेको छ।

उपत्यकाको कोटेश्वर क्षेत्र सबैभन्दा बढी जोखिममा देखिएको छ। त्यसपछि बल्खु, कलंकी, बालाजु, महाराजगञ्ज तथा असन क्षेत्रमा ५० भन्दा बढी संक्रमण देखिएका छन।

कोटेश्वर
काठमाडौंको वडा नम्बर ३२ स्थित कोटेश्वर क्षेत्र कोरोनाको हटस्पट देखिएको छ। त्यहाँ ९१ जना कोरोना संक्रमित भेटिइसकेका छन्।

वडामा बुधबारमात्रै ११ जना संक्रमित थपिएका छन्। उनीहरुको कन्ट्याक्ट ट्रेसिङ जारी छ। त्यसक्रममा संक्रमितहरु थप हुनसक्छन्। कोटेश्वर प्रहरी बिटपछाडिको असर्फी गल्लीमा मात्रै ३९ जनामा संक्रमण भेटिएका छन्।

एसओएस क्षेत्रमा एउटै घरको चारजना परिवार संक्रमण पुष्टि भएको छ। चारवर्षका दुई र एक ६ वर्षको बालकलाई पनि कोरोना पुष्टि भएको छ। यस्तै कोटेश्वरमा व्यापारी, स्वास्थ्यकर्मी, कामदार लगायतमा कोरोना पुष्टि भएको छ।

यस क्षेत्रमा ३९ जना होम आइसोलसनमा छन। उनीहरुसँग वडाले नियमित सम्पर्क राखिरहेको छ। अस्पताल लैजानुपर्ने बिरामीका लागि समयमै एम्बुलेन्स नआइदिने तथा अस्पतालमा बेड नपाउने समस्या रहेको गुनासो छ।

यस्तै संक्रमितहरुले गलत नम्बर र ठेगाना दिएका कारण उनीहरुलाई समयमै अलग्याउन समस्या भएको छ।

कुलेश्वर–बल्खु क्षेत्र
महानगरको वडानम्बर १४ स्थित बल्खु, कलंकी क्षेत्र पनि जोखिमयुक्त देखिएको छ। यस वडामा ६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ।

बल्खु, कुलेश्वर क्षेत्रमा ठूलो तरकारी तथा फलफूल बजार छ। त्यस्तै, तराईका जिल्लाबाट हालै आएका व्यापारी तथा कामदारहरुहरुसँग त्यहाँका मानिसहरुको घुलमिल हुने कारणले बढी जोखिम देखिएको वडाअध्यक्ष शोभा सापकोटाले बताइन्।

एक व्यवसायीसँगै तरकारी किन्न गएका स्थानीय, एकै घरका धेरै जना र बालबालिकामा पनि कोरोना पुष्टि भएकाले समुदायमै संक्रमण गएको हो कि भन्ने आशंका उनको छ। समुदायस्तरमै कोरोना पुगेको आशंकामा साउन २७ गतेदेखि वडा सिल गरिएको थियो।

बालाजु क्षेत्र
महानगरको वडा नम्बर १६ स्थित गोंगबु बसपार्कसँगै औद्योगिक क्षेत्र पनि रहेको बालाजु काठमाडौंमा संक्रमण बढी भएको अर्को स्थान हो। वडा सदस्य पुष्प महजर्नका अनुसार यहाँ ६४ जनामा कोरोना संक्रमण देखिइसकेको छ।

९ जना निको भइसकेका छन् भने १२ जना होम आइसोलेसनमा छन्। बालाजु चोकमा मात्रै १६ जनामा संक्रमण पुष्टि भएको छ। औद्योगिक क्षेत्रको एउटै मैदा मिलमा ८ सहित १३ जनामा संक्रमित पुष्टि भएको छ।

यस वडामा एउटै घरमा चार जना संक्रमित भएका छन्।

असन, महाबौद्ध क्षेत्र
महानगरका कोभिड फोकल पर्सन ज्ञानबहादुर ओलीका अनुसार वडानम्बर २७ को असन, महाबौद्ध क्षेत्रमा ५० जना कोरोना संक्रमित भेटिसकेका छन्।

तीमध्ये भोटाहिटीबाट वीर अस्पताल जाने गल्लीमा सबैभन्दा बढी संक्रमित भेटिएको वडा सदस्य नरेशमान महर्जनले जानकारी दिए। महाबौद्धमा सुरुमा भारतबाट आएर पसल गरी बसेका एक व्यवसायीको परिवारमा संक्रमण देखिएपछि उक्त क्षेत्र सिल गरिएको थियो।

महाराजगञ्ज
वडानम्बर ३ स्थित महाराजगञ्ज क्षेत्रमा पनि संक्रमितको संख्या उच्च देखिएको छ। वडाध्यक्ष दीपक केसीका अनुसार वडामा ७४ जना संक्रमित देखिएको छ। जसमध्ये ५ जना निको भइसकेका तथा १३ जना होम आइसोलेसनमा छन्।

अधिकांश संक्रमित यस वडामा त्रिवि शिक्षण अस्पताल, गंगालाल अस्पताल, प्रहरी अस्पताल जस्ता ठूला अस्पतालमा भर्ना भएका व्यक्ति हुन्। अस्पतालमा भएका संक्रमितलाई छाड्ने हो भने वडा अहिलेसम्म सुरक्षित देखिएको केसीले बताए।

सरकारकाे पछिल्लाे नियुक्तिप्रति प्रचण्डकाे असन्तुष्टि

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका पछिल्ला नियुक्तिप्रति असन्तुष्टि जनाएका छन् । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटेमा प्रचण्डले नेकपा विवाद समाधानका लागि कार्यदल गठन भएयता सरकारले गरेका नियुक्तिप्रति असन्तुष्टि जनाएका हुन् । भेटमा प्रचण्डले पछिल्ला नियुक्ति खारेज गर्न ओलीसँग माग पनि गरेका छन् ।

प्रचण्ड निकट स्रोतले भन्यो ‘अध्यक्ष कमरेडले आजको भेटमा पछिल्लो पटक जे जस्ता राजनीतिक नियक्तिहरु भएका छन् । ति सबै खारेज गर्नुस् भन्नुभएको जानकारी पाएको छु । विशेषगरी अध्यक्षले सोमबारको मन्त्रिपरिषद्को निर्णयप्रति असन्तुष्टि जनाउनु भएको हो’,।

तर, प्रधानमन्त्री ओलीले भने कार्यदल गठनअघि नै ती नियुक्तिहरु प्रक्रियामा रहेका र निर्णयहरु गरिएको जवाफ दिएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा कल्याण रोका र प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको थियो। यद्यपि भण्डारीलाई कार्यवाहक अध्यक्षका रुपमा काम नगराउन सर्वोच्च अदालतले आदेश दिइसकेको छ । त्यस्तै सरकालले तीन देशका राजदुत पनि नियुक्त गरेको थियो। यिनै नियुक्तिमा दाहालले असन्तुष्टि जनाएका हुन् ।

गृह मन्त्रालयले फेरि दियाे यस्ताे निर्देशन

काठमाडौं। बैंकका कर्मचारीलाई नरोक्न गृह मन्त्रालयले निर्देशन दिएको छ । गृह मन्त्रालयले उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएर बैंकका कर्मचारीलाई नरोक्न निर्देशन दिएको हो।

विहीबार प्रहरीले उपत्यकामा बैंकका कर्मचारीलाई बाटोमै रोकेपछि बैंकर्स संघले सवै बैंकका शाखा बन्द गर्ने निर्णय गरेको थियो । अत्यावश्यक सेवाभित्र पर्ने बैंकलाई संचालनका लागि सहजता प्रदान गर्न बैंकर्स संघले आव्हान गरेसँगै गृहको उक्त निर्देशन आएको हो ।

गृहले उपत्यकाका तीनवटै जिल्ला प्रशासनलाई पत्र पठाएर अत्यावश्यक सेवाभित्र रहेको बैङ्किङ प्रणाली संचालनमा ल्याउन कर्मचारीलाई कार्यालय आउजाउ गर्न दिने वातावरण बनाउन निर्देशन दिएको हो।

काठमाडौंसहित ६ जिल्लामा पाँच सयबढी संक्रमित

काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७०७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २९ हजार ६४५ पुगेकाे स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार काठमाडौंमा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार पाँच सयबढी संक्रमित रहेका जिल्ला ६ वटा रहेका छन् । ती जिल्लाहरुमा मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र काठमाडौं हुन् । त्यस्तै चारवटा जिल्लाहरु भोजपुर, मनाङ, मुस्ताङ र हुम्लामा संक्रमित शून्य रहेको मन्त्रालयले जनाएकाे छ ।

एसिड प्रहार गर्ने दुई आरोपी पुर्पक्षका लागि थुनामा, उपचारमा २ लाख क्षतिपूर्ति प्रदान गर्न आदेश 

काठमाडौं । गएको साउन ८ गते काठमाडौँको सीतापाइलामा युवतीलाई एसिड प्रहार गर्ने दुई ब्यक्तिलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । बिहीबार मुद्दाको सुनुवाइ गर्दै जिल्ला अदालत काठमाडौंका न्यायाधीश कृष्णजंग शाहले बिहीबारपवित्रा कार्कीमाथि एसिड प्रहार गर्ने मोहम्मद आलम र भारतीय नागरिक मुन्ना मोहम्मदलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

अदालतले एसिड प्रहारमा परेकी कार्कीको उपचारका लागि राहतकोषबाट २ लाख रुपैयाँ तुरुन्त उपलब्ध गराउन आदेश दिएको छ । यसअघि एसिड प्रहार गर्नेहरुलाई अदालतले पुर्पक्षमा पठाउँथ्यो । क्षतिपूर्ति दिए पनि मुद्दा फैसलापछि मात्र दिने नजीर थियो । तर यो पटक प्रारम्भिक सुनुवाइमै अदालतले पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको छ । प्रारम्भिक सुनुवाइमै राहतकोषबाट रकम दिने आदेशले पीडितलाई उपचारमा सहयोग पुगेको छ भने न्याय पाएको अनुभूति पनि भएको अधिवक्ता राधिका खतिवडाले बताइन् ।

आजको थुनछेक बहसमा पीडित कार्कीको तर्फबाट १ सय जना कानुन ब्यवसायीले वकालतनामा पेश गरे पनि राधिका खतिवडा, नानीबाबु बुढाथोकी, शान्तिराम खतिवडा, कुमार घिमिरे, दीपबहादुर कार्की, भुवन निरौला लगायत १० जनाले बहस गरेका थिए । सरकारी वकिल चपला पोखरेलले पनि बहस गरेकी थिइन् ।   

एसिड प्रहार गर्ने आलम र मुन्नालाई महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले घटना भएकै दिन पक्राउ गर्न सफल भएको थियो । 
डेराबाट दही किन्न भनेर निस्किएकी ओखलढुङ्गाकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको थियो । 

नेपालमा काेराेना संक्रमितको संख्या ३० हजार नजिक

काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप ७०७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २९ हजार ६४५ जना पुगेको छ। काठमाडौं उपतयकामा मात्र आज २०० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

काठमाडौंमा १७४, भक्तपुरमा ८ र ललितपुरमा १८ जनामा कोरोना संक्रमण देखिएको हो। पछिल्लो २४ घण्टामा थप २६४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १७ हजार ९६४ उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म १२२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

काठमाडौं उपत्यकामा आज कति थपिए काेराेना संक्रमित?

काठमाडौं- बिहीबार काठमाडौं उपत्यकामा २०० संक्रमित थपिएका छन्। काठमाडौंमा १७४ , ललितपुरमा १८ र भक्तपुरमा ८ संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ९९ पुगेको छ।

हालसम्म काठमाडौंमा २ हजार १५२, ललितपुरको ३६८ र भक्तपुरमा १७९ संक्रमित पुगेका छन्। पछिल्लो २४ घन्टामा देशभरमा थप ७०७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २९ हजार ६४५ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा थप २६४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १७ हजार ९६४ उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म १२६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।