सिंहदरबार कोरोना पसेपछि ९० प्रतिशत कर्मचारी घरबाटै काम गर्दै

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक निकायका रूपमा रहेको सिंहदरबारभित्र पनि कोरोना संक्रमण दर बढेपछि ९० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ । सिंहदरबारमा सुरक्षाकर्मीबाट सुरु भएको कोरोना संक्रमणले मन्त्री, सचिव तथा उच्चपदस्थलाई झस्काउन थालेको छ ।

सिंहदरबारभित्रै कर्मचारी तथा सुरक्षाकर्मीमा कोरोना संक्रमण हुने क्रम बढेपछि मन्त्रालयका सचिव तथा सहसचिवसमेत कोरोना सन्त्रासका कारण मन्त्रालय आउनै छाडेका छन् । मन्त्रीहरू पनि केही समय कार्यालयमा आएर छिटोछिटो फर्कन थालेका छन् ।

सिंहदरबारमा कोरोना सन्त्रास फैलिएसँगै कतिपय मन्त्रालयका महत्वपूर्ण नीतिगत निर्णयहरू गर्ने कार्यसमेत प्रभावित भएको छ । सिंहदरबार प्रवेशद्वार र मन्त्रालयमा कडा सुरक्षा मापदण्ड अपनाइएको भए पनि कोरोनाबाट संक्रमण हुने क्रम बढेको हो ।

सरकारले तल्लो तहका कर्मचारीलाई घरबाटै काम गर्ने गरी ९वर्क फ्रम होम० व्यवस्था मिलाएको भए पनि कोरोना संक्रमण बढेसँगै उपल्लो तहका कर्मचारीहरू पनि घरमै बस्न थालेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हालसम्म सिंहदरबारभित्र सुरक्षाकर्मी, कार्यालय सहयोगी, चालक तथा अधिकृत समेत गरी झन्डै १५ जना संक्रमित भेटिएका छन् । प्रधानमन्त्री कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले काठमाडौंमा निषेधाज्ञ भएलगत्तै सिंहदरबारका ५० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाइएको बताए ।

‘अहिले त सिंहदरबारलाई समेत कोरोनाले घेरिसकेकाले धेरै कर्मचारी आउन छाडिसकेका छन्,’ प्रवक्ता पौडेलले भने । प्रधानमन्त्री कार्यालयका अनुसार शुक्रबार सिंहदरबारमा कार्यरतमध्ये झन्डै १० प्रतिशत कर्मचारी मात्रै कार्यालयमा उपस्थित भएका थिए । शुक्रबार सिंहदरबार पूर्ण रूपमा सुनसान बन्न पुगेको थियो ।

प्रधानमन्त्री कार्यालयको विश्लेषणअनुसार विभिन्न तराईका जिल्लाबाट सरुवा भएर आएका कर्मचारी तथा सिंहदरबारमा कार्यरत तराई क्षेत्रका कर्मचारी र उनका परिवारका सदस्यका कारण पनि सिंहदरबारमा कोरोना संक्रमण बढ्न थालेको हो ।

बाहिर फिल्डमा गएर फर्कने चालकका कारण पनि सिंहदरबारभित्र कोरोना संक्रमण फैलिन पुगेको प्रधानमन्त्री कार्यालयका अधिकारीहरूले जनाएका छन् । आजको राजधानी दैनिकबाट

आज भाद्र ६ गते शनिबारको राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । रोकिएका घरायसी काममा उन्नति र प्रगतिको वातावरण बन्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रेमीको सहयोग पाईनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । पारिवारिक साथ मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रमाइलो यात्राको योग रहेको छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभ र मंगल कार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । चिताएको कामले तीव्रतापनि लिनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मित्रहरूले दिएको वचन फेरिन सक्छ । फजुल खर्चले चिन्ता बढाउनेछ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यवसायको सन्दर्भमा नयाँ योजना बन्नेछ । सन्तान सुख मिल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । मंगल कार्यको योगछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ कार्यको थालनी हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । रमाइलो यात्राको योग रहेको छ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आदार्श व्यक्तिसङ्ग भेटघाट हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । प्रेमिले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् । – ज्यो.प. नारायणप्रसाद दुलाल

भदौ १६ देखि शर्तसहित नियमित उडान गरिने (मन्त्रिपरिषद् निर्णयसहित)

काठमाडौं । सरकारले भदौं १६ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भदौ १६ गतेदेखि नियमित उडान सुरु गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा.युवराज खतिवडाका अनुसार दैनिक ५०० यात्रु नकट्ने गरी संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्राललयले उडान तालिका बनाउनेछ ।

यस्तै सरकारले पिसिआर परीक्षण सहज नभएका मुलुकबाट नियमित उडाउनमार्फत् यात्रु ल्याउन नपाइने निर्णय गरेको छ। कतार, साउदी अरब र कुवेतलगायत पिसिआर परीक्षण सहज नभएका अन्य मुलुकबाट नियमित उडानमार्फत् यात्रु ल्याउन नपाइने निर्णय भएको मन्त्र खतिवडाले बताए ।

पिसिआर परीक्षण भएका र नभएकालाई एकै उडानमा ल्याउँदा संक्रमण फैलिने जोखिम रहने भन्दै सरकारले उक्त निर्णय गरेको हो। खतिवडाले त्यस्ता मुलुकबाट स्वदेश आउन चाहने यात्रुको हकमा सम्बन्धित नेपाली कूटनीतिक नियोगको सिफारिसमा चार्टर्ड उडान गर्न सकिने जनाए।

त्यस्ता उडानबाट आउने यात्रुले सात दिन होटलमा क्वारेन्टिनमा बस्नुपर्नेछ। स्वास्थ्य परीक्षणपछि होटलबाट गए पनि १४ दिन होम आइसोलेसनमा बस्ने लिखित सम्झौता गर्नुपर्ने जनाइएको छ ।

पीसीआर टेस्टमा सरकारले कति खर्च गर्याे?

काठमाडाैं । सरकारले शुक्रबारसम्म आरटी पीसीआर टेस्टमा मात्रै ३ अर्ब १८ करोड बढी खर्च गरेको छ । शुक्रबारसम्म जम्मा ५ लाख ७९ हजार ८९९ टेस्ट भएकोमा त्यसका लागि ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५०० खर्च भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले एउटा पीसीआर टेस्टका लागि सरकारको ५ हजार ५०० खर्च हुने गरेको भन्दै हालसम्म ५ लाख ७९ हजार ८९९ टेस्ट हुँदा रकम खर्च भएको जानकारी दिए । उनका अनुसार यसमा पीपीई, मास्कलगायतको खर्च जोडिएको छैन ।

गौतमले ३ अर्ब १८ करोड बढी खर्च गरेर हालसम्म ३० हजार ४सय ८३ जनामा पोजेटिभ केस पाइएको भन्दै यस हिसावले एक जना संक्रमित भेट्टाउन सरकारको १ लाख ४ हजार ६ सय ३० रुपैयाँ खर्च भएको पनि जानकारी दिए । यसबाहेक संक्रमित पुष्टि भएपछि पनि उपचारमा ठूलो धनराशी खर्च हुने भन्दै कोरोनाबाट बच्न सरकारले बनाएको मापदण्ड अनिवार्य पालना गर्न अनुरोध गरे ।

‘एउटा केस भेट्दाखेरी हाम्रो राज्यको १ लाख ४ हजार रुपैयाँ खर्च हुन्छ । त्यसपछिको उपचारमा पनि खर्च हुन्छ । एकजना व्यक्तिलाई आईसीयूमा ३० दिन राख्नु पर्यो भने ४ लाख ५० हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । यसरी कोरोनाको जाँच गर्ने, जाँचबाट पोजेटिभ पत्ता लगाउने, उपचार गर्न बहुत खर्चिलो छ’, प्रवक्ता गौतमले भने, ‘यसैले जरुरी काम नपरी घरबाट ननिस्कन अनुरोध छ।’

निषेधाज्ञाको बेला पनि घरबाहिर निस्केको पाइएको भन्दै उनले निस्कनै परे अनिवार्य मास्क लगाउन र एकापसमा २ मिटरको दूरी कायम गर्न अनुरोध गरे । यस्तै तीजमा जथाभावी नाचगान र भेला भएको पाइएको भन्दै त्यसो नगर्न पनि उनले सचेत गराए । एकाघरका परिवारका सदस्यका बीचमा मात्रै चाड मनाउन भन्दै उनले चाडबाड मनाउन आफन्तकहाँ नजान पनि अनुरोध गरे ।

पछिल्लो २४ घण्टामा मात्रै कोरोनाभाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ भने योसँगै शुक्रबारसम्म कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ। मृतकमा मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानका १–१ जना गरी ११ जना रहेका छन् । जसमा १ महिला र १० पुरुष रहेका छन् ।

यस्तै पछिल्लो २४ जनामा थप ८३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म देशभर कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । पछिल्लो २४ घण्टामा २५० जना डिस्चार्ज भएका छन् भने योसँगै निको हुनेको कुल संख्या १८ हजार २१४ पुगेको पनि गौतमले बताए ।

निषेधाज्ञामा पनि काठमाडौंमा बढ्दै काेराेना संक्रमित, आज कति थपिए?

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १८२ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४२ जना नयाँ संक्रमित थपिएका छन् भने ललितपुरमा २५ र भक्तपुरमा १५ जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टामा देशभर ८ सय ३८ जना नयाँ संक्रमित थपिएका छन् भने २ सय ५० जना डिस्चार्ज भएका छन् । यससँगै नेपालमा हालसम्म ३० हजार ४ सय ८३ संक्रमित पुगेका छन् भने ती मध्ये १८ हजार २ सय १४ जना डिस्चार्ज भएका छन् ।

नेपालमा काेराेना संक्रमितकाे संख्या ३० हजार नाघ्याे

काठमाडौं । नेपालमा आज शुक्रबार थप  जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार ४८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा पछिल्लाे २४ घण्टामा २९२ महिला र ५४६ पुरूष गरी थप ८३८ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा थप २५० जना कोरोना संक्रमण मुक्त भएका छन् । याेसँगै कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १८ हजार २१४ पुगेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट १३७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेकाे छ ।

राष्ट्रिय एकता अभियानद्वारा प्रदेश सरकारविरूद्द प्रदर्शन

काठमाडाैँ । राष्ट्रिय एकता अभियानले प्रदेश तथा संघीय सरकारविरूद्द प्रदर्शन गरेकाे छ।

अभियानले जनकपुरमा एक र्याली गरी हिन्दू सन्त तथा अभियंता को सुरक्षा ग्यारेन्टी ग़र !,संत श्रीराम साहको हत्यारालाई अबिलम्ब कार्यवाही ग़र !,सुरक्षा दिन नसकने मुख्यमंत्री राजनामा दे !, हिन्दू माथि को दमन बन्द ग़र !, राष्ट्रीय एकता अभियान जिन्दावाद भन्दै प्रदेश तथा संघीय सरकारविरूद्द प्रदर्शन गरेकाे हाे।

उक्त र्यालीमा संजय यादव, जय यादव, रवि साह एबं मोहन साह लगायत अभियंताकाे सहभागिता रहेकाे थियाे। अभियानका जनकपुर संयोजक मनीष हिन्दूको नेतृत्व उक्त विराेध प्रदर्शन भएकाे हाे। संयोजक मनीषले भने,’ नेपाल धर्म निरपेक्ष राष्ट्र भएदेखि हिन्दु समुदायमाथि विभिन्न काेणबाट दमन भइरहेकाे छ।’

आलोचना र ट्राेलकाे शिकार बनेपछि दुर्गेशले ल्याए ‘आलु जस्तो गायक’

काठमाडौं । पछिल्लाे समय चौतर्फी आलोचना तथा विवादमा तानिएका दुर्गेश थापाले अर्को गीत ‘आलु जस्तो गायक’ सार्वजनिक गरेका छन् । यसअघि दुर्गेशले दुई वटा तिज गीत ल्याएका थिए। जुन विवादमा आए। चौतर्फी आलोचना तथा विवादमा आउन थालेपछि दुर्गेशले आफ्नो भोगाइबारे नै गीत बनाएका हुन् ।

पल शाह, पुष्प खड्का, सारिका केसीसँगै दुर्गेश आफैंको अभिनय रहेको गीतमा उनले आफ्नो आमाले स्कूल नदेखेको र बुवाले गीत नलेखेको कुरा उल्लेख गरेका छन् । बसन्त थापाको शब्द संगीत रहेको गीतको भिडिओलाई शिव विकले निर्देशन तथा कोरियोग्राफी गरेका छन् ।

भिडियाे हेर्नुहाेस

नेपालमा काेराेना संक्रमण मुक्त हुनेकाे संख्या १७ हजार ९६४ पुग्याे

काठमाडौं । नेपालमा आज थप २६४ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना मुक्त हुनेको संख्या १७ हजार ९६४ जना पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । कुल संक्रमित मध्ये ६१ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

संक्रमण मुक्त हुनेहरूमा प्रदेश-१ मा १ हजार १४४ जना, प्रदेश-२ मा ३ हजार ८७७, वाग्मती प्रदेशमा ७२४, गण्डकी प्रदेशमा १ हजार ५७५, प्रदेश-५ मा ४३२८, कर्णाली प्रदेशमा १ हजार ९७० र सुदूरपश्चिम प्रदेशमा ४ हजार ३४६ जना रहेका छन् ।

यसैबीच नेपालमा आज थप ७०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २९ हजार ६४५ पुगेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट १२६ जनाको मृत्यु भएको छ ।

२ जना बलात्कार आरोपी पक्राउ

धनकुटा । जिल्ला प्रहरी धनकुटाले बलात्कार गरेर फरार दुई आरोपीलाई पक्राउ गरेको छ । दुई फरक घटनामा संलग्‍न उनीहरुलाई बिहीबार पक्राउ गरेको प्रहरीले जनाएकाे छ।

गत शनिबार धनकुटा नगरपालिकाको टेकुनालामा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेर फरार भएका युवालाई बिहीबार पक्राउ गरिएको एसपी गोविन्द अधिकारीले बताए । बाख्रा चराउन गएकी बालिकालाई बलात्कार गरेर फरार २२ वर्षीय युवालाई गाउँबाटै पक्राउ गरिएको उनले बताए ।

यस्तै, धनकुटा नगरपालिकाको निगालेमा १५ वर्षीया बालिकालाई गत साउन २७ गते जबरजस्ती करणी गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ परेका छन् । पक्राउ परेका दुवै आरोपीहरुलाई जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दायर गरेर अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।