यूइएफए च्याम्पियन्स लिगको उपाधि बायर्नले पाए

पोर्चुगल । जर्मन क्लब बायर्न म्युनिखले यूइएफए च्याम्पियन्स लिगको यस सिजनको उपाधि हात पार्न सफल भएको छ । याेसहित बायर्नले छैटौं पटक च्याम्पियन्स लिगको उपाधि हात पारेको हो । गएराति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) लाई १–० ले बायर्नले हराउएकाे हाे ।

खेलको सुरुवाततिर दुवै टोलीले गोल गर्ने केही अवसर गुमाएका थिए । १८औं मिनेटमा नेयमारका दुई प्रहारलाई बायर्नका गोलरक्षक म्यानुयल नोएरले रोकेका थिए । २२औं मिनेटमा बायर्नका रोवर्ट लेवान्डोस्कीले प्रहार गरेको बल पिएसजीका गोलरक्षक केलर नाभास बिट भएता पनि पोलमा लागेर फर्किएको थियो ।

३१औं मिनेटमा लेवान्डोस्कीको शक्तिशाली हेडरलाई नाभासले दोस्रो प्रयासमा बचाउ गरे । पहिलो हाफको अन्तिम समयमा केलियन एम्बाप्पेले पाएको सुनौलो अवसरलाई सदुपयोग गर्न सकेनन् । अनमार्क रहेका एम्पाप्पेको प्रहार सिधै नोएरको हातमा पुगेको थियो ।

पोर्चुगलको स्टाडियो डा लुजमा भएको खेलमा निकै प्रतिस्पर्धात्मक बनेको थियो । रोमाञ्चक खेलमा किंग्सले कोमनले ५९औं मिनेटमा गरेको गोल बायर्नको जितका लागि निर्णायक बन्यो ।

माैसम अपडेट: आज बर्षाको उच्च सम्भावना, कहाँ कहाँ हुँदैछ बर्षा?

काठमाडौं। हाल भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदलीको अवस्था रही प्रदेश २, बाग्मती प्रदेश,गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, आजरातीसम्म देशभर सामान्यतया बदली रही केहि स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना कायमै रहने देखिएको छ । आज प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

काेराेना कहर: संक्रमितलाई लगाइने खोपमा कालोबजारी गर्ने स्वास्थ्यकर्मी पक्राउ

वीरगन्ज । कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डेशिभिर नामक इन्जेक्सन (खोप)को कालोबजारी गरेको आरोपमा प्रहरीले एक स्वास्थ्यकर्मी र एक भारतीय नागरिक गरी २ जनालाई पक्राउ गरेको छ।

वीरगन्जका विभिन्न अस्पतालमा काम गर्दै आएका स्वास्थ्यकर्मी ताहिर अन्सारी र भारत रक्सौलका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको हो। कोरोना संक्रमितका परिवारजनलाई रेम्डेशिभिर नामक इन्जेक्सन बढी मुल्यमा बिक्री गरेको सुचनाका आधारमा २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले जानकारी दिए।

अन्सारीलाई शनिबार राति नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले दिएको बयानका आधारमा रक्सौलका एक पुरुषलाई वीरगन्जको इनर्वाबाट आइतबार साँझ नियन्त्रणमा लिएको कुवँरले बताए। उनीहरुको साथबाट ९ भाइल रेम्डेशिभिर इन्जेक्सन पनि बरामद गरिएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

आज भाद्र ८ गते सोमवार को राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्न सक्छन् ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा संगीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्त्व जमाउन सकिनेछ । घरमा अतिथीको आगमन हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) पारिवारिक सद्भाव बढ्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । स्वादिष्ट भोजनपनि पाईनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । अकस्मात धन सम्पत्ति हात पर्नेछ । धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन जाला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज जोश जाँगर र हिम्मत बढ्नेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । तिर्थाटनको योगछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । पारिवारिक सहयोग मिल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) गरेको काममा ढिलासुस्ती हुनेछ । विचार गरेर निर्णय लिनु उचित होला । दबाब र तनाव बढेको महसुस हुनेछ । पारिवारिक समस्या आइपर्ला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आकस्मिक धनलाभ हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोगपनि मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । बोलीको विपरीत अर्थपनि लाग्न सक्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

देशभरि कति जिल्लामा निषेधाज्ञा?(नामसहित)

काठमाडाैं । देशका ४८ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरसकाे संक्रमण फैलिन नदिन देशका ती जिल्लामा निषेधाज्ञा जारी गरिएको हाे।आफ्नो जिल्लामा निशेधाज्ञा जारी गर्ने अधिकार सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई नै दिएपछि जोखिम अनुसारको निर्णय भएका छन्।

गृह मन्त्रालयको आइतबार साँझको तथ्यांक अनुसार उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरसहित अधिकांश जिल्लामा निषेधाज्ञा जारी छ । काठमाडाैं उपत्यकामा भदौ १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

यस्तै काठमाडाैं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको आइतबार आकस्मिक बैठकले बिहान सवा ९ बजेसम्म खाद्यान्न र तरकारी पसलहरु खोल्न दिने निर्णय गरेको छ। कोरोना महामारी नियन्त्रणका लागि देशभर ३५ जिल्लामा पूर्ण र १३ जिल्लामा आंशिक निषेधाज्ञा लागू गरिएको गृह मन्त्रालयले जनाएको हो।

सप्तरी, धनुषा, नुवाकोट, बाँके, पर्सा, बारा, महोत्तरी, सुनसरी, सर्लाही, जुम्ला, ललितपुर, भक्तपुर, काठमाडौं, रौतहट, मकवानपुर, धादिङ, धनकुटा, तनहुँ, उदयपुर, सुर्खेत, चितवन, दोलखा, नवलपरासी पश्चिम, सिन्धुपाल्चोक, बागलुङ, गोरखा, कास्की, सिराहा, मोरङ, दार्चुला, झापा, मोरङ, दार्चुला, रुपन्देही, अर्घाखाँची, स्याङ्जा, पाल्पा, रामेछाप, कैलाली, प्युठान, दैलेख, गुल्मी, कन्चनपुर, डडेलधुरा, कालिकोट, तेह्रथुम, संखुवासभा, बैतडी, जाजरकोट र रुकुम पश्चिममा पूर्ण र आंशिक निषेधाज्ञा रहेको गृह मन्त्रालयले जनाएको छ।

सरकारले गत साउन ६ गतेबाट देशब्यापी लकडाउन हटाए पनि कोरोना संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले आवश्यकता हेरेर निषेधाज्ञा जारी गरेका हुन् । तर सरकारकाे पछिल्लाे तथ्यांकलाइ हेर्दा काेराेना संक्रमण अझै फैलन सक्ने देखिएकाे छ । विज्ञहरूले समेत नेपालमा काेराेना भाइरसकाे संक्रमण फैलन सक्ने चेतावनी दिँदै आएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या कति पुग्याे?

काठमाडौं । नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाका एक ५८ वर्षीय पुरुष, पर्साकी ५६ वर्षीया महिला र सर्लाहीकी ३३ वर्षीया महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो समय नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या बढिरहेको छ । त्यस्तै हिजो नेपालमा कोरोनाको कारण ९ जनाको मृत्यु भएको थियो । कुल संक्रमितको तुलनामा ०.४७ प्रतिशत संक्रमितको निधन भएको प्रवक्ता गौतमले बताए ।

नेपालमा कोरोनाविरुद्धकाे भ्याक्सिन परीक्षण हुँदै: कुन-कुन देशले पाए स्विकृति?

काठमाडौं । कोरोनाविरुद्धका भ्याक्सिन परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्विकृति दिएको छ । चीन, रसिया र बेलायतले निर्माण गरेका र क्लिनिकल परीक्षणका क्रममा रहेका भ्याक्सिन परीक्षणका लागि कम्पनीहरु इच्छुक देखिएपछि मन्त्रालयले स्विकृति दिएको हो ।

नेपाल स्वास्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले मन्त्रालयको स्विकृतिमा भ्याक्सिन परीक्षण, अध्ययन र अनुसन्धानमा नेतृत्व लिएको बताए ।

‘कोरोनाविरुद्धका क्लिनिकल परीक्षणमा रहेका चीन, रसिया र युकेमा बनेका भ्याक्सिन नेपाललमा परीक्षण, अध्यययन र अनुसन्धानका लागि परिषद्ले नेतृत्व लिएको छ,’ उनले भने, ‘कम्पनीहरु इच्छुक देखिएका छन् । त्यसका लागि प्रक्रिया अघि बढाइसकेका छौं ।’

हतियार र लागूऔषध कारोबारका मस्ट वान्टेड पक्राउ

विराटनगर । हतियार र लागूऔषध कारोबारका मस्ट वान्टेडलाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उक्त अवैध कारोबारका नाइके बग्गा बनिने प्रदीप यादव रहेका छन्।

मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले शनिबार दिउँसो साढे ४ बजे घर मिलाउन विराटनगर आएका बग्गालाई प्रहरीले विराटनगर महानगरपालिका–१६ दरैयाबाट लागूऔषधसहित पक्राउ गरेको जानकारी दिए । उनका अनुसार बग्गाकाे साथबाट डाइलेक्स डिसी १५ बोतल, नाईट्रोसन ५० चक्की र नाईट्राभेट ५१ चक्की बरामद भएको भएको छ ।

भारत बिहारको इन्द्रनगर ग्राम पञ्चायत– १० बस्ने ३९ वर्षका बग्गासँग जोडिएको दुई वटा हातहतियार तथा लागूऔषध मुद्धार मोरङमा विचाराधीन छ । प्रहरी नायव उपरीक्षक राईका अनुसार पूर्वी तराईमा हुने अधिकांश लागूऔषध र हतियार कारोबार बग्गाको हात छ । बग्गा पक्राउ परेपछि पूर्व क्षेत्रमा लागूऔषध र हातहतियारको कारोबार आधा घट्ने उनले बताए ।

भारतको अररियाबाट नेपालको पूर्वी तराईका जिल्लामा लागूऔषध र हतियार कारोबार गर्ने गिरोहका नाइके बग्गा प्रहरीको मस्ट वाण्टेड सूचीमा थिए ।

काठमाडाैं उपत्यकामा आज कति थपिए काेराेना संक्रमित?

काठमाडाैं । काठमाडाैं उपत्यकामा पछिल्लाे २४ घण्टामा १६६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाभित्रका काठमाडौंमा १२६, भक्तपुरमा २८ र ललितपुरमा १२ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।

यसैबीच पछिल्लाे २४ घण्टामा नेपालमा थप ८१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा पछिल्लाे २४ घण्टामा २२० महिला र ५९८ पुरूष गरी थप ८१८ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

नेपालमा काेराेना संक्रमितकाे संख्या ३२ हजार नजिक

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कुल ३१ हजार ९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६६ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरु कहाँका हुन् भन्ने खुलाइएको छैन । कोरोना संक्रमण निको भएर १८ हजार ६३१ जना घर फर्किएका छन् । देशभर ३ हजार ९ सय ४३ जना होम आइसोलेसनमा बसेका छन् ।