गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सवइन्जिनियर किशोरकुमार मोक्तानविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ ।

निर्माणाधीन आयोजनाको बिल भुक्तानीका लागि सेवाग्राहीसँग डेढ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।

जैसी र मोक्तानलाई डेढ लाख बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) अनुसार मुद्दा चलाइएको उनले बताए।

काठमाडाैं उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउन सिफारिस

काठमाडौं । काठमाडाैं उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउन सिफारिस भएकाे छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका केही पदाधिकारी र उपत्यकाका मेयरहरुबीच भएको बैठकले काठमाडौं, भक्तपुर र ललितपुरमा थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेको हाे ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा मंगलबार भएको बैठकले एक साता निषेधाज्ञा थप्न सिफारिस गरेको हो ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यकाका मेयरहरुसँग अहिलको अवस्थाबारे छलफल भएको बताए ।

बैठकमा सहभागी एक अधिकारीका अनुसार छलफलमा मेयरहरुले एक साता निषेधाज्ञा राखे आइसोलेसन सेन्टर बढाउन सकिने र प्रभावकारी ढंगले संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्न सकिने बताएका छन् । उपत्यकाका सीडीओहरुले ३ भदौको मध्यरातिबाट लागू हुने गरी एक साताको निषेधाज्ञा लागू गरेका थिए । जुन बुधबार सकिँदैछ ।

आन्तरिक उडान खोल्ने सरकारकाे तयारी

काठमाडौं । सरकारले आन्तरिक उडान सुरु गर्ने तयारी थालेको छ । नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै सरकारले आन्तरिक उडान सुरु गर्ने तयारी थालेको हाे। यद्यपी पहिलो चरणमा आन्तरिक उडान भने काठमाडौंबाट हिमाली र पहाडी भेगका विमानस्थलमा मात्र हुने भएको छ ।

सो प्रयोजनका लागि निजी क्षेत्रका वायुसेवा कम्पनीसँग छलफल थालिएको मंगलबार मन्त्रालयमा आयोजित वार्षिक प्रगति सार्वजनिक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।

उनले भने,’चाडबाड आएका छन्, उडान त खोल्नु परिहाल्छ तर तराईमा तत्काल खुल्दैन ।’तराईका जिल्लामा बढ्दो कोरोना भाइरसको संक्रमणका कारण ती क्षेत्रमा रहेका विमानस्थलको उडान भने अहिले खुल्ने छैन । उडान खुल्ने या नखुल्ने सन्दर्भमा समेत मन्त्रालय आफैंले पनि निर्णय गर्न सक्दैन ।सोहीकारण पहाड र हिमाली भेगका विमानस्थलमा उडान खोल्ने गरी आफूले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने जानकारी उनले दिएका छन् । अन्तर्राष्ट्रिय उडान भने १६ भदौबाट खुल्नेछ ।

यस अगाडि मन्त्रालयले केही गन्तब्यमा चार्टर्ड उडानको तालिका सार्वजनिक गर्दैछ । नियमित उडानका लागि यसअघि नेपाल नागरिक उडड्यन प्राधिकरणमा उडानका लागि निवेदन दिएका १३ वटा कम्पनीलाई नै पहिलो चरणमा अनुमति मिल्नेछ ।

सरकारले पीसीआर परीक्षण सहज हुने मुलुकमा मात्र पहिलो चरणमा उडानको अनुमति दिनेछ । अन्य मुलुकमा भने चार्टर्ड जहाज पठाएर नेपालीको उद्धार हुनेछ । १५ भदौपछि अधिकतम् प्रतिदिन ५ सय जनाले नेपाल आउने अनुमति पाउनेछन् ।

परिस्थिति सामान्य बन्दै गएपछि यो संख्या क्रमशः बढाइने मन्त्री भट्टराई जानकारी दिए । ठूलो माग र दवाव आएको छ, संख्या बढाउन, तर परिस्थिति हेरेर मात्र यसमा अर्को निर्णय हुन्छ, उनले भने । नेपालमा १० चैतबाट सबै प्रकारका व्यवसायिक उडान बन्द छन् ।

स्वास्थ्यकर्मीको मनोवल गिर्ने काम नगर्न डाक्टर कार्कीकाे आग्रह 

काठमाडौं । नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार नगर्न आग्रह गरेका छन् । निषेधाज्ञा तथा लकडाउनको समयमा सबै व्यक्तिहरु घरमै रहेको अवस्थामा चिकित्सक तथा स्वास्थ्यकर्मी घरपरिवारसमेत छाडेर बिरामीको स्वास्थ्य उपचारमा खटिएको भन्दै उनले चिकित्सकमाथि कुनैपनि किसिमको दुर्व्यवहार नर्गन आग्रह गरेका हुन् ।

डा. कार्कीले कोरोनाविरुद्धको लडाइँ चिकित्सककै प्रयासले मात्र जित्न नसकिने भन्दै यसमा सबैले साथ र सहयोग दिन पनि आग्रह गरे । काठमाडौं लगायतका शहरी क्षेत्रमा नै समाज तथा घरबेटीले गर्ने दुर्व्यवहारले गर्दा चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोवल कमजोर हुने पनि डा. कार्कीले बताए ।

उनले आगामी दिनमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारको घटना नहुने समते अपेक्षा गरे । डा. कार्कीले नेपालमा कोरोना संक्रमण र मृत्युदर बढ्दै गएको पनि बताए । उनले जनस्वास्थ्यको मापदण्ड अपनाएमा कोरोना संक्रमण नसर्ने पनि बताए । उनले कोरोना संक्रमणबाट बच्न जनस्वास्थ्यको मापदण्ड पालना गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

घरमै सुरक्षित रुपमा होम आइसोलेसनमा रहेका संक्रमितसँग जनस्वास्थ्यको सुरक्षा अपनाउँदा डराउन नपर्ने उनको भनाइ छ । घर तथा समाजमा रहेका कोरोना संक्रमितलाई हेला र दुर्व्यवहार गर्न नहुने पनि उनले बताए । उनले कोरोना संक्रमण जो सुकैलाई पनि हुनसक्ने र रोल लागेपछि स्वास्थ्यकर्मीले नै हेरचाह गर्नुपर्ने भएकाले स्वास्थ्यकर्मीको मनोबल बढाउन पनि आग्रह गरे ।

काठमाडौं उपत्यकामा थपिए २३२ कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा आज थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जना गरी २३२ जना संक्रमित थपिएका छन् ।

यस्तै नेपालमा आज मंगलबार थप ८५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या साढे ३३ हजार नाघ्याे

काठमाडौं। पछिल्लो २४ घन्टामा नेपालमा थप ८५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३३ हजार ५३३ जना पुगेको छ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २३२ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा थप ३१३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १९ हजार ११९ उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म १६४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

नेपालमा थपिए एकैदिन ८५५ काेराेना संक्रमित

काठमाडौं । नेपालमा आज मंगलबार थप ८५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा पछिल्लाे २४ घण्टामा २७१ महिला र ५८४ पुरूष गरी थप ८५५ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा थप ३१३ जना कोरोना संक्रमण मुक्त भएका छन् । याेसँगै कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १९ हजार ११९  पुगेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट १६४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेकाे छ ।

आज काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २३२ जना कोरोना संक्रमित थपिएका छन्।

काठमाडौंमा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ८६ पुगेको छ।

 

सुदूरपश्चिममा निको भए चार हजार कोरोना संक्रमित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस ९कोभिड–१९० का चार हजारभन्दा बढी सङ्क्रमित निको भएका छन् । प्रदेशका नौ वटै जिल्लामा कोरोना भाइरसका चार हजार ४०० सङ्क्रमित निको भइसकेका छन् । अहिलेसम्म यो प्रदेशमा पाँच हजार ४०६ सङक्रमित रहेको र तीमध्ये ९ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अहिलेसम्म सबैभन्दा बढी कैलालीका एक हजार ३०१ जना सङ्क्रमित उपचारपछि निको भएर घर फिर्किएका छन् । त्यस्तै अछामका ७१३, कञ्चनपुरका ५८१, बाजुराका ४४२, बैतडीका ३२२, डडेल्धुराका २९९, बझाङका ११०, दार्चुलाका ४१ तथा डोटीका ५७६ सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सुदूरपश्चिममा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ९२९ रहेका छन् । सङ्क्रमण पुष्टि भएका र लक्षण देखिएका ६३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य निर्देशक गणराज अवस्थीले बताउनुभयो । उहाँका अनुसार हाल कञ्चनपुरको महाकाली अस्पतालमा २३, कैलालीको सेती प्रादेशिक अस्पतालमा १४, टीकापुर अस्पतालमा ११, जिल्ला अस्पताल अछाममा १०, जिल्ला अस्पताल डोटी र डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा दुई÷दुई र मालाखेती अस्पतालमा एक जना सङ्क्रमितको उपचार भइरहेको छ । अन्य सङ्क्रमित भने स्थानीय तहको आइसोलेसन र घरमै रहेको बताइएको छ ।

पछिल्लो समय भारतबाट नेपाली आउने क्रम रोकिएको छ । यहाँका विभिन्न जिल्लाका स्थानीय तहमा प्रयाप्त मात्रामा आइसोलेसन वेड नभएका कारण कोरोना सङ्क्रमितलाई निकै समस्या भइरहेको बताइएको छ । कोरोना सङ्क्रमित तथा उनीहरुका परिवारलाई गाउँमा हेर्ने दृष्टिकोण नै फरक वा सकारात्मक नहुने भएका कारण पनि अहिले उनीहरु झनै समस्या परेको शिखर नगरपालिका–१ कपल्लेकीका खडकबहादुर बोगटीले जानकारी दिए

सुदूरपश्चिममा पहिलो पटक गत चैत १४ गते धनगढी उपमहानगरपालिका–५ का ३४ वर्षीय एक युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । रोजगारीको सिलसिलामा दुवईबाट आएका ती युवक सेती प्रादेशिक अस्पतालमा ३० दिनको उपचारपछि निको भएर घर फर्किएका थिए ।

सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघेको छ । पछिल्लो समय भारतबाट रोजगारी गरी फर्किएका नागरिकसँगै उनीहरुका परिवारमा पनि कोरोना सङ्क्रमण देखिन थालेको स्वास्थ्यकर्मीहरु बताउँछन् । सङ्क्रमित भन्दापनि उपचारपछि निको हुने दर बढ्दै गएकाले यसबाट त्रसित वा अत्तिइ हाल्नुपर्ने अवस्था नरहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।

सुदूरपश्चिममा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारीलगायतमा पनि कोरोना सङ्क्रमण देखिएको छ । कोरोनो नियन्त्रणका लागि प्रदेश सरकारसहित यहाँका सबै स्थानीय तहले सावधानी अपनाएका कारण सोचेजस्तो समुदायमा फैलिन नपाएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरको दाबी छ । रासस

होटेलमा ल्याएर १६ वर्षीया किशोरीमाथि बलात्कार गर्ने एकजना पक्राउ

सुनसरी । सुनसरीमा होटेलमा ल्याएर १६ वर्षीया किशोरीमाथि बलात्कार गर्ने एक जना पक्राउ परेका छन्।

धरान उपमहानगरपालिका–१८ को बुद्धचोकस्थित कान्तिपुर होटेलमा १६ वर्षीया किशोरीलाई जबरजस्ती गरेको आरोपमा सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–४ स्थायी घर भएका हाल सुनसरी जिल्लाको रामधुनी नगरपालिका–७ झुम्का घर भएका ४६ वर्षीय मोहमद इर्साद आलम रहेकोएछन् ।

धरानका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले आलमले मोरङ घर भएकी १६ वर्षीया किशोरीलाई गत साउन २६ गते ललाइफकाई होटेलमा ल्याइ जबरजस्तीकरणी गरेको भनी पीडितकी आमाले इलाका प्रहरी कार्यालय धरानमा भदौ ७ गते जाहेरी दिएको बताए ।

इलाका प्रहरी कार्यालय पकलीसँग धरान प्रहरीले सहकार्य गरी आलमलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान भइरहेको बस्नेतले बताए ।