निजी मेडिकल कलेजहरूले पनि प्रयोगशाला सञ्चालन गर्न पाउने

काठमाडौं । अब निजी मेडिकल कलेजहरूले पनि पीसीआर परीक्षण गर्न प्रयोगशाला संचालन गर्न पाउने भएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बुधबार निजी मेडिकल कलेजहरुलाई पनि प्रयोगशाला सञ्चालन गर्न अनुमति दिएसँगै निजी मेडिकल कलेजहरूले पनि प्रयाेगशाला सञ्चालन गर्न पाउने भएका हुन ।

कोभिड (१९) का संक्रमित बिरामीलाई उपचार गर्दै आएका निजी मेडिकल कलेजहरूले प्रयोगशाला स्थापना गर्न पाउनुपर्ने माग गर्दै आएका थिए ।

पीसीआर परीक्षण गर्ने अनुमतिका लागि निजी मेडिकल कलेजहरुले एक तिहाई बेड कोभिड (१९) का बिरामीलाई छुट्याउनुपर्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका डा. मुकुन्दा शर्माले बताए । पीसीआर परीक्षण गर्ने अनुुमतिका लागि निजी मेडिकल कलेजले कम्तीमा बीस प्रतिशत बेड कोभिडका बिरामीलाई छुट्याउनपर्ने शर्त सरकारको छ ।

अन्तिम चरणमा माथिल्लो दोर्दी ‘ए’

काठमाडाैँ । पहाडी जिल्ला लमजुङमा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ आयोजना अन्तिम चरणमा पुगेको छ । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन आयोजना निर्माण ९८ प्रतिशत सम्पन्न भइसकेको छ ।

पच्चीस मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना निर्माण अधिकाशं सम्पन्न भइसकेको र केही प्रतिशत मात्र बाँकी रहेको आयोजनाले जनाएको छ । यतिबेला केही टनेलको काम, बाढीले बगाएको सामान, स्टलेशनको काम भइरहेको प्रवद्र्धक राजेन्द्र वस्तीले बताए ।

विसं २०७१ बाट निर्माण थालनी हुँदै आएको छ । विसं २०७४ मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइए पनि विनाशकारी भूकम्पपछिको अघोषित नाकाबन्दी र गत भदौमा आएको बाढीका कारण निर्धारित समयमा निर्माण सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ । सम्झौताअनुसार आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने गत चैत ३० गतेसम्म रहेको थियो । सो मितिभित्रै निर्माण सम्पन्न गर्न नसकेपछि आगामी असोजसम्म आयोजनाको निर्माण सक्ने लक्ष्य रहेको प्रवद्र्धक वस्तीले बताए।

आयोजनाको निर्माण अवधि थपिँदा लागत पनि रु ६७ करोड ६० लाख बढी लाग्ने अनुमान आयोजनाको रहेको छ । आयोजना निर्माणका क्रममा रु तीन अर्ब ९६ करोड लगानीमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि बढेर हाल रु चार अर्ब ६३ करोड ६० लाख लाग्ने आयोजनाले जनाएको छ । आयोजनाको लागत प्रतिमेगावाट रु १८ करोड ५४ लाख लाग्ने कम्पनीको अनुमान छ । आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ । आयोजनाको बाँधस्थल लोदो खोलाबाट दुई हजार ७०० मिटर लामो भूमिगत सुरुङ र दुई हजार ७०० मिटर लामो पेनस्टक पाइपमार्फत दोर्दीखोलाको पानीलाई विद्युत्गृहमा झारिने आयोजनाले जनाएको छ ।

यस आयोजनामा १२ दशमलव ५ का दुईवटा गरी २५ मेगावाटको बिजुली उत्पादन हुने भएको छ । आयोजनाको बिजुली हिउँदको समयमा आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसा हुने गरी प्रवद्र्धक कम्पनी लिवर्टी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएको छ । जिल्लामा यस आयोजनासहित दोर्दी करिडोरमा मात्र पाँचवटा आयोजना निर्माणाधीन अवस्थामा छन् । ती अधिकांश आयोजनाले यस आर्थिक वर्षभित्रै विद्युत् उत्पादन गर्ने तयारी भइरहेको छ ।

यी सबै आयोजनाको निर्माणपश्चात वार्षिक करोडौँको बिजुली उत्पादन हुने भएको छ । जिल्लामा यसअघि आधा दर्जन जलविद्युत् केन्द्रबाट बिजुली उत्पादन भई राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको छ । त्यस्तै जिल्लामा एक दर्जनभन्दा बढी आयोजना निर्माणाधीन छन् ।

पाटन अस्पतालमा काठमाडौंका कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पाटन अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार पाटन अस्पतालमा काठमाडौंका ५४ वर्षीय पुरुषको गएराति ९ बजेर ३० मिनेटमा मृत्यु जनाएको छ ।

गाेली प्रहार गरी लागुऔषध कारोवारी पक्राउ

रुकुम। कुमपश्चिममा दुई लागुऔषध कारोवारी पक्राउ परेका छन् । जिल्लाको मुसीकोट नगरपालिका–४ ठाराढुङ्गाबाट प्रहरीले गोली प्रहार गरी दुई जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट खटिएको प्रहरी निरीक्षक दिनेश गुरुङ नेतृत्वको टोलीले पक्राउ गर्न खोज्दा कारोवारी भाग्न खोजेपछि गोली प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ ।

गोली प्रहारबाट एक घाइते भएका छन् भने उनीसँगै अर्का एक जना पक्राउ परेका छन् । एक जना भने भागेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । गोली लागेर घाइते हुनेमा रुकुमपश्चिमको मुसीकोट नगरपालिका–११ भलाक्चाका २५ वर्षीय निर्मल पुन रहेका छन् । उनको तिघ्रामा गोली लागेको र थप उपचारका लागि नेपालगञ्ज सिफारिस गरिएको छ ।

उनीसँगै रहेका मुसीकोट–११ कै ३५ वर्षीय लक्ष्मी पुन पक्राउ परेका छन् । जयप्रकाश घर्ती भने फरार भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।

केही दिनअघि रुकुमपूर्वमा लागुऔषध अफिमसहित केही व्यक्ति पक्राउ परेका थिए । घटनाको अनुसन्धान गर्दा उनीहरुले दिएको सूचनाका आधारमा रुकुमपूर्व र रुकुमपश्चिमको प्रहरीले ‘कन्ट्रोल डेलिभरी अपरेसन’ चलाएको र सोहीअनुसार मङ्गलबार दुई व्यक्ति पक्राउ परेका हुन् । उनीहरुबाट लागुऔषध के कति मात्रामा बरामद भयो भन्ने बारेमा भने खुलाइएको छैन ।

विवादास्पद कोइरालालाई वाणिज्य बैंकको अध्यक्ष बनाइँदै

काठमाडौं । सरकारले मध्यपश्चिम विश्वविद्यालयका निवर्तमान उपकुलपति उपेन्द्र कोइरालालाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति अध्यक्षमा नियुक्ति गर्ने तयारी गरेको छ । यसका लागि अर्थमन्त्री युवराज खतिवडाले कोइरालालाई सञ्चालक समितिको सदस्यमा नियुक्त गरेका छन् ।

सञ्चालक समितिको बुधबार बस्ने बैठकले कोइरालालाई अध्यक्षमा चुन्ने निश्चित छ । सञ्चालक समितिमा सरकारले नियुक्त गरेका पदेन सदस्यहरूको बाहुल्य छ । अध्यक्षको कार्यकाल चार वर्षको हुन्छ ।

वाणिज्य बैंकका अध्यक्ष निर्मलहरि अधिकारीलाई सरकारले राजस्व बोर्ड सदस्यमा नियुक्त गरेपछि खाली पदका लागि कोइरालालाई ल्याइएको हो । कोइराला यसअघि आधा दर्जन निकायमा राजनीतिक नियुक्ति पाएर विवादमा मुछिएका थिए । उनको हरेक कार्यकाल कुनै न कुनै रूपमा विवादित छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी भएकाले तत्कालीन एमाले र अहिले नेकपा सत्तामा पुग्दा राजनीतिक लाभको पद पाउने गरेको टिप्पणी हुने गरेको छ । अहिलेको नियुक्तिलाई लिएर सामाजिक सञ्जालमा कोइरालाका साथै रक्षामन्त्री पोखरेलको पनि चर्को आलोचना भएको छ ।

कोइरालानिकटहरू उनलाई शक्तिकेन्द्रको पहुँचका आधारमा पद हत्याउने व्यक्तिका रूपमा लिन्छन् । ‘ईश्वर पोखरेल त सम्धी नै हुनुभयो, प्रधानमन्त्री केपी ओली मेरो भिनाजु हो भन्नुहुन्थ्यो, अर्थमन्त्री युवराज खतिवडासँग दोस्ती छ र शिक्षामन्त्री गिरिराजमणि पोखरेल गाउँको भाइ हो भनेर शक्तिको फुर्तीफार्ती गर्नुहुन्थ्यो,’ मध्यपश्चिम विश्वविद्यालयका एक पदाधिकारीले भने, ‘राजनीतिक पहुँचकै आधारमा पद त पाउनुभयो, तर कहींकतै सफल हुनुभएको छैन ।’ उनले राष्ट्रपति विद्यादेवी भण्डारी पनि सहपाठी भएको बताउने गरेका छन् । बुधबार हुने नियुक्ति र यसअघिका विवादास्पद कार्यकालबारे प्रतिक्रिया लिन खोज्दा कोइराला कान्तिपुरको सम्पर्कमा आउन चाहेनन् ।

तत्कालीन एमालेको अल्पमतको सरकार ०५१ सालमा बनेसँगै कोइरालाले पनि राजनीतिक नियुक्तिका लागि पाइला चाले । उनी ०५१ माघ ५ देखि ०५२ मंसिर ३ गतेसम्म खाद्य संस्थानको महाप्रबन्धक बने । हाल रूपान्तरण भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका एक कर्मचारीका अनुसार उनले खाद्य संस्थानलाई नजिकका मानिस र कार्यकर्ता नियुक्त गर्ने भर्तीकेन्द्र बनाएका थिए ।

तत्कालीन एमालेको ९ महिने शासनकालमा उनले लाभ लिएका बेला डिपो आवश्यक नपर्ने ठाउँमा पनि कर्मचारी नियुक्त गर्दै पठाए । ‘त्यतिबेला राजनीतिक आस्थाका आधारमा कर्मचारी चलाउने, यताका उता पठाउने र गिजोल्ने काम भयो,’ ती कर्मचारी भने, ‘०५१ सालसम्म राम्रो अवस्थामा रहेको संस्थान ओरालो लाग्न थाल्यो । बैंकबाट ऋण लिनुपर्ने अवस्थासमेत भयो ।’ झन्डै एक वर्ष मात्रै उनले खाद्य संस्थानमा बिताए ।

विराटनगर घर भएका उनी त्यसपछि स्नातकोत्तर क्याम्पसको प्राध्यापक संघको अध्यक्ष चुनिए । ०५५ सालमा महेन्द्र मोरङ क्याम्पसको प्रमुख बने ।

क्याम्पस प्रमुख हुँदा उनलाई आर्थिक अनियमिततामा संलग्न भएको आरोप लाग्यो । त्रिभुवन विश्वविद्यालयको उच्च शिक्षा परियोजनाको बजेट घोटाला गरेको आरोपमा विश्वविद्यालयले उनीमाथि छानबिन गरेको थियो । त्यो परियोजनाको क्लस्टर कार्यक्रमका लागि निकासा भएको बजेटमा अनियमितता गरेको आरोप उनीमाथि थियो । सूर्यमणि अधिकारीको नेतृत्वमा बनेको छानबिन समितिले उनलाई तत्काल निलम्बन गर्न र पदबाट हटाउन सिफारिस गर्‍यो । प्रतिवेदन कार्यान्वयन त टाढाको कुरा, राजनीतिक पहुँच प्रयोग गर्दै उनी काठमाडौं सरुवा भएर आए ।

त्यो घटनामा ०५९ फागुन २० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितता भएको निष्कर्ष निकाल्दै कारबाहीका लागि त्रिभुवन विश्वविद्यालयलाई पत्र लेख्यो । अधिकारीको प्रतिवेदनसमेत कार्यान्वयन गर्नु भनी अख्तियारले दिएको निर्देशन वर्षौंसम्म कार्यान्वयन भएको थिएन । अख्तियारले २१ र २२ औं प्रतिवेदनमा यो विषय उल्लेख गरेको छ ।

तत्कालीन एमाले शाही सरकारमा गएपछि ईश्वर पोखरेल आपूर्तिमन्त्री बने । ‘काठमाडौं गएपछि झन् उहाँको नेताहरूसँग उठबस बढ्न थाल्यो,’ महेन्द्र मोरङ क्याम्पसका एक सहप्राध्यापकले भने, ‘आयल निगममा नियुक्ति पाउनुभयो ।’ उनी आयल निगमको कार्यकारी अध्यक्ष नियुक्त भए ।

उनले इन्धन भण्डारणको काम गर्न नसकेपछि ६ महिना परीक्षणकाल पूरा नहुँदै फागुनमा पदबाट हटाइएको पदाधिकारीहरू बताउँछन् । कोइराला ०६१ भदौ २ देखि ०६१ फागुन १ गतेसम्म निगमको कार्यकारी अध्यक्ष बनेका थिए । आयल निगममै हुँदा गैरकानुनी लाभ लिएर २३ जना कर्मचारीलाई कामु जिम्मेवारी दिएर निगमलाई नोक्सानी पुर्‍याएको आरोपमा उजुरी पर्‍यो । निगम स्रोतका अनुसार, कोइरालाको स्वार्थमा मातहतका कर्मचारीलाई जिम्मेवारी दिने निर्णय गरेका थिए । निगमको कर्मचारी प्रशासन विनियमावलीमा कार्यकारी अध्यक्षले कुनै पनि कर्मचारीलाई एक तहभन्दा माथिको पदमा कामु जिम्मेवारी दिन पाउने व्यवस्था थिएन । अख्तियारले ०६४ माघ १३ गते कोइरालाको निर्देशन पालना गर्ने निर्देशकहरू बच्चुकुमार काफ्ले र बेनुविक्रम पन्तलाई विभागीय कारबाहीका लागि पठायो । त्यतिञ्जेल कोइरालाले निगमबाट हिँडेर उच्च माध्यमिक शिक्षा परिषद्मा अर्को नियुक्ति मात्रै लिएनन्, त्यसमा विवादित भएर पनि राजीनामा गरिसकेका थिए ।

राजनीतिक सम्बन्ध जोडेर पद हत्याउन माहिर कोइरालाले ०६३ मा फेरि उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्षको जिम्मेवारी पाए । त्यहाँ पनि चारवर्षे कार्यकाल पूरा गर्न सकेनन् । ‘परीक्षा केन्द्रहरूमा आवश्यकभन्दा थोरै उत्तरपुस्तिका पठाउने गरेको भेटियो,’ हालको राष्ट्रिय परीक्षा बोर्डका एक कर्मचारीले भने, ‘शिक्षा मन्त्रालयले छानबिन थालेपछि उहाँ कार्यकाल पूरा नहुँदै राजीनामा दिएर हिँड्नुभयो ।’

कक्षा ११ र १२ को परीक्षा सञ्चालनका क्रममा आवश्यक पर्ने उत्तरपुस्तिकाभन्दा कम छपाएर मातहतका केन्द्रहरूमा पठाई बढी देखाएको भन्दै उजुरी परेको थियो । यो विषयमा संसद्को सार्वजनिक लेखा समिति र अख्तियारले छानबिन गर्दा कोइराला प्रत्यक्ष रूपमा मुछिएका थिए । सार्वजनिक लेखा समितिको निर्देशनपछि शिक्षा मन्त्रालयले सहसचिव हरि बरालको संयोजकत्वमा छानबिन समिति बतायो । समितिले अनियमितता भएको भनी प्रतिवेदन दियो । तत्कालीन उपाध्यक्ष र सदस्य सचिवले ०६७ असोजमा राजीनामा दिएपछि कसैलाई पनि कारबाही भएन । पछि चलखेल गरेर उनलाई जोगाइयो ।

उक्त विषयमा अख्तियारले गुणस्तर परीक्षण नभएको, उत्तरपुस्तिका गणना नै नगरी भर्पाइ बुझेको भन्दै त्यसलाई मानवीय कमजोरी भनी उल्लेख गर्‍यो । अख्तियारले उक्त प्रकरणमा परिषद्का प्रशासन महाशाखा प्रमुख ढालबहादुर खड्का, लेखा नियन्त्रक कामेश्वर मण्डललगायतलाई परिषद्कै नियमावलीअनुसार कारबाही गर्नू भनी ०६८ पुस २७ गतेको निर्णयबाट पत्र पठायो । त्यसबेला राजीनामा दिइसकेकाले कोइराला जोगिए ।

परिषद् छाडेपछि कोइरालाले उपकुलपति बन्ने योजना बुन्न थालेको उनलाई नजिकबाट चिन्ने प्राध्यापकहरू बताउँछन् । त्रिवि व्यवस्थापन संकायमा कार्यरत उनी ०७२ मा पोखरा विश्वविद्यालयको उपकुलपति बन्ने दौडमा थिए । कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री रहँदा तत्कालीन एमालेको भागमा पोखरा र मध्यपश्चिम विश्वविद्यालय पर्‍यो । उनले मध्यपश्चिममा नियुक्ति पाए ।

राष्ट्रिय वाणिज्य बैंकमा नियुक्त हुनुअघि कोइराला मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति थिए । विश्वविद्यालयले ०७४ साउन २९ गते भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजसँग नाम जुधाएर खडा गरिएको नेपाल इन्जिनियरिङ कलेज प्रालिलाई इन्जिनियरिङ शिक्षाका लागि सम्बन्धन दियो । त्यसका लागि सामाजिक संस्थाको खाताबाट ७ लाख ५० हजार रुपैयाँ निकासा गरी ०७४ असार १८ गते विश्वविद्यालयको खातामा जम्मा गरिएको थियो । विश्वविद्यालयले आफ्नो इन्जिनियरिङ संकायअन्तर्गत स्नातकोत्तर तहको पाठ्यक्रम र कार्यक्रम नहुँदै निजी कलेजलाई सम्बन्धन दिएको थियो । त्यतिबेला इन्जिनियरिङ संकायका डिन ललितविक्रम राणाले त्यो सम्बन्धन दिन नहुने अडान लिए । पछि भने ०७४ साउन २९ गतेको कार्यकारी परिषद् बैठकले नेपाल इन्जिनियरिङ कलेज प्रालिबाट सञ्चालित शिक्षण संस्थालाई सम्बन्धन दिने निर्णय गर्‍यो । त्यतिबेला कम्पनीको कुनै पूर्वाधार थिएन तर विश्वविद्यालयले कुनै कागजात र स्थलगत अध्ययन नगरी सम्बन्धनको निर्णय गरेको थियो ।

विश्वविद्यालयको सभाबाट निर्णय नगराई कार्यकारी परिषद्ले विवादास्पद रूपमा सम्बन्धन दिने निर्णय गरेको थियो । शंकास्पद र गैरकानुनी रूपमा भएको काममाथि कसैले छानबिन गरेन । उक्त निर्णयमा विश्वविद्यालयका उपकुलपति उपेन्द्र कोइराला र रजिस्ट्रार महेन्द्र मल्ल जोडिएका थिए । इन्जिनियरिङ कलेज स्रोतले भन्यो, ‘सम्बन्धन फिर्ताको पहल गर्न जाँदा उपकुलपति कोइराला र रजिस्ट्रार मल्लले सम्बन्धनका लागि विश्वविद्यालयको निकै ठूलो खर्च भइसकेको बताए । कलेजले सम्बन्धन लिनैपर्ने, नत्र कानुनी कारबाही हुने चेतावनी दिए ।’ त्यतिबेला उपकुलपति कोइरालाले पत्रकार सम्मेलन गरेरै सडकमा आन्दोलन गर्नेबित्तिकै विश्वविद्यालय आफ्नो नियमित कामबाट पछाडि हट्दैन भनी प्रतिक्रिया दिएका थिए । यही प्रकरणमा मुछिएका कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपाने अख्तियारका आयुक्त राजनारायण पाठकलाई ७८ लाख रुपैयाँ घूस दिएको आरोपमा भ्रष्टाचार मुद्दामा परेका छन् । प्रालि जोडिएको कलेजबारे अहिले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।

उनी उपकुलपति हुँदा अख्तियारले छानबिन गर्ने त टाढाको कुरा, लुकाएर उजुरीको व्यहोरा चुहाउँथ्यो । ०७४ असार २५ गते अख्तियारको सुर्खेत कार्यालयमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पदाधिकारीहरूविरुद्ध उजुरी पर्‍यो । प्रमाणसहित उजुरी दिँदासमेत अख्तियारले कागजात नियन्त्रणमा लिएन । उल्टै गोप्य उजुरीबारे अख्तियारका कर्मचारीले सूचना ‘लिक’ गरिदिए । उजुरी परेपछि बिल–भौचरलगायत लेखासँग सम्बन्धित कागजात विश्वविद्यालयका कर्मचारीहरूले ‘रातारात मिलाउने’ मौका पाए । त्यसको अघिल्लो दिन असार २४ गते अख्तियारमै अर्को उजुरी परेको थियो । न्यूनतम योग्यता पनि नपुगेकालाई इन्जिनियरिङ संकायमा सहायक डिन नियुक्त गरिएको विषय थियो । इन्जिनियरिङ संकायका विद्यार्थीले दिएको उजुरीमा अयोग्यलाई नियुक्त गरी पदीय हैसियत दुरुपयोग गरेको भन्दै उपकुलपति कोइराला, रजिस्ट्रार मल्ललाई कारबाही माग गरिएको थियो । कानुन मिचेर शिक्षक, कर्मचारी नियुक्ति गरिएको विषयमा परेको उजुरीमाथि पनि अख्तियारले सिन्को भाँचेन ।

मध्यपश्चिमका पदाधिकारीविरुद्ध धमाधम उजुरी पर्न थालेपछि अख्तियारको मुख्यालयले आफूले अनुसन्धान गर्ने भन्दै फाइल झिकायो । सबै उजुरीको सुर्खेतमा नै अनुसन्धान भएकामा विश्वविद्यालयसँग सम्बन्धित फाइलहरू एकपछि अर्को गर्दै अख्तियारको टंगालस्थित केन्द्रीय कार्यालय पुर्‍याइयो । उपकुलपति कोइरालाले पटक–पटक उजुरीकर्ता विद्यार्थीलाई ‘तपाईंहरूले उजुरी हाले पनि केही फरक नपर्ने’ भन्दै चेतावनीपूर्ण भाषा बोल्ने गरेका थिए । आफ्ना साढुभाइ नवीन घिमिरे अख्तियारमा रहेकाले कोइरालाले अनियमितताविरुद्ध परेको उजुरीको परवाह गरेनन् । अहिलेसम्म पनि अख्तियारले मध्यपश्चिम विश्वविद्यालयको फाइल हेरेको छैन ।

मध्यपश्चिम विश्वविद्यालयमा रजिस्ट्रार मल्ललाई पदबाट हटाउन खोजेपछि करिब ६ महिना प्राध्यापक, विद्यार्थी आन्दोलित बनेका थिए । रजिस्ट्रार मल्ल काठमाडौं आएका बेला कोइरालाले आफूनिकट ५ जनालाई विभिन्न पदमा नियुक्ति बाँडेका थिए । विवाद चल्दाचल्दै रजिस्ट्रार मल्लको कार्यकाल सकियो । कोइरालामा प्रशासनिक कौशलको पनि कमी रहेको प्राध्यापकहरू बताउँछन् । उपकुलपति हुँदा कोइरालामाथि कार्यक्षेत्रभन्दा काजमा बढी काठमाडौं बसेको आरोप थियो । मध्यपश्चिम विश्वविद्यालयको कार्यकाल ०७६ असोजमा सकिन लाग्दा उनी त्रिविको उपकुलपति बन्ने दौडधुपमा लागेका थिए । तर सर्च कमिटीले कोइरालाको नाम नै सिफारिस गरेन । आजको कान्तिपुर दैनिकबाट

उपत्यकामा निषेधाज्ञा लम्ब्याउने तयारी

काठमाडौं । कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा जारी राख्ने तयारी भएको छ । काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच मङ्गलबार भएको छलफलमा निषेधाज्ञा एक साता लम्ब्याउनेबारे छलफल भएको हो ।

यद्यपि निर्णय भने भइसकेको छैन । काठमाडौँ जिल्ला प्रशासन कार्यालयका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेलले थप एक साता निषेधाज्ञा जारी राख्ने विषयमा छलफल भएको तर निर्णय बुधबार मात्र हुने जानकारी दिए ।

उपत्यकास्थित नगरका प्रमुखहरू, जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र सुरक्षा अधिकारी सम्मिलित बैठकले यसअघि नै काठमाडौँ, भक्तपुर र ललितपुरमा थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेको थियो ।

“कोरोना सङ्क्रमणको महामारी दिन प्रतिदिन भयावह बन्दै गएकाले अहिलेको अवस्थामा एक सातासम्म जारी राख्नुपर्ने देखियो,” उहाँले भन्नुभयो– यसअघिको निर्णयको समयावधि १० गते रातिसम्म भएकाले आज मङ्गलबार निर्णय हुन सकेन ।

कोरोना सङ्क्रमण महामारी नियन्त्रण तथा रोकथामका लागि यही ३ गते बुधबार राति १२ बजेबाट जारी निषेधाज्ञा १० गते बुधबार मध्यरातबाट सकिँदैछ । काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमण भयावह बन्दै गएको भन्दै निषेधाज्ञा थप कडा पारिएको छ ।

निषेधाज्ञा थपिएसँगै सङ्क्रमितहरूका लागि आइसोलेसन सेन्टर बढाउन र प्रभावकारी ढङ्गले सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्न सकिने बताइएको छ । मर्निङवाक गर्नेदेखि दैनिक उपभोग्य वस्तु खरिदमा भीडभाड गर्नेलाई कारबाही सुरु गरिएको छ । त्यस्तै निषेधाज्ञा उल्लङ्घन गर्नेहरूमाथि सडक कारबाही पनि कडा पारिएको छ । महानगरीय प्रहरी कार्यालयका अनुसार तोकिएको अवधिभन्दा बढी समय पसल खोल्नेदेखि आफूखुसी सवारी चलाउने एक हजारभन्दा बढीलाई कारबाही गरिएको छ । आजको गोरखापत्र दैनिकबाट

आन्तरिक उडानमा विदेशीले तिर्ने डलर भाडा हटाउने तयारी

काठमाडौं । आन्तरिक उडानको हवाई भाडामा नेपाली र विदेशीका निम्ति एकरूपता कायम गर्ने उद्देश्यले सरकारले डलर फेयर प्रावधान हटाउने तयारी गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक नरेन्द्र थापा संयोजकत्वको हवाई भाडा पुनरवलोकन समितिले पाँच क्षेत्रबाहेक सबैमा लागू रहेको डलर फेयर हटाउन सरकारलाई सिफारिश गरेपछि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उक्त प्रावधान हटाउने तयारी गरेको हो ।

उक्त समितिमा निजी वायुसेवा संघका उपाध्यक्ष यती एयरका प्रमुख कार्यकारी अधिकृत अनोज रिमाल र संघका महासचिव एवम् समिट एयरका प्रबन्धक मनोज कार्की पनि सदस्यका रूपमा थिए ।

तर, नेपाली वायुसेवा सञ्चालकहरूले भने सरकारले आन्तरिक उडानमा स्वदेशी र विदेशीलाई एउटै भाडा दर कायम गरे अहिलेको भाडादरभन्दा कैयौं गुणा महँगो हुन सक्ने भन्दै विरोध गरेका छन् । निजी वायु सेवाहरूले आन्तरिक उडानमा विदेशीका निम्ति डरलमा भाडा लिँदै आएका छन् ।

समितिले चितवनको भरतपुर, मुस्ताङको जोमसोम, कास्कीको पोखरा, सोलुखुम्बुको लुक्ला र संखुवासभाको तुम्लिङटार विमानस्थलमा हुने उडानमा मात्र विदेशीसँग डलरमा हवाई भाडा लिन पाइने सिफारिश गरेको छ ।

मंगलवार मन्त्रालयमा गत आर्थिक वर्षको वार्षिक प्रगति पुस्तिका सार्वजनिक कार्यक्रममा पर्यटनमन्त्री योगेश भट्टराईले समेत डलर फेयर हटाउने विषयमा काम भइरहेको बताएका थिए ।

तर, हवाई सेवा सञ्चालकहरूले भने डलर फेयर हटाउँदा विमान सेवा कम्पनीहरू बन्द हुने अवस्था आउन सक्ने भन्दै उक्त निर्णयको विरोध गरेका छन् । आन्तरिक उडानमा स्वदेशी र विदेशीका निम्ति समान भाडा दरको प्रावधान कार्यान्वयन गरे सरकारलाई तालाचाबी बुझाउन बाध्य हुने वायुसेवा कम्पनीहरूले चेतावनी दिएका छन् ।

विदेशीसँग डलर फेयर लिएकै कारण सोही आधारमा नेपाली यात्रुलाई सहुलियत दरमा सेवा प्रदान गरिएको वायुसेवा सञ्चालक संघले बताएको छ ।

संघ पदाधिकारीका अनुसार सरकारले डलर फेयर प्रावधान हटाए आन्तरिक हवाई भाडा अहिले तिर्दै आएभन्दा करीब तीन गुणा बढी हुनेछ । यस्तो भाडा नेपाली हवाई यात्रुले थेग्नै नसक्ने संघको दाबी छ ।

भाडामा स्वदेशी–विदेशीलाई समानता गरिए निजीक्षेत्रका आन्तरिक हवाई सेवा बन्द गर्नुपर्ने अवस्था आउन सक्ने वायुसेवा सञ्चालकहरूको टिप्पणी छ । मन्त्री भट्टराईले भने यस विषयमा वायुसेवा सञ्चालकसँग परामर्श गरेरै निर्णयमा पुगिने जानकारी दिए । आर्थिक अभियान दैनिकबाट

आज भाद्र १० गते बुधवार को राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । स्वादिष्ट भोजनपनि पाईनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसंसा गर्नेछन् । धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्नेछन् ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । आकस्मिक धन लाभपनि हुनेछ । महिला वा मित्रबाट विशेष साथ र सहयोग मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ । पारिवारिक साथ, प्रेम, सद्भाव र स्नेह बढ्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आत्मिक सन्तुष्टि मिल्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । तिर्थाटनको योगपनि छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज अकस्मात् धन सम्पत्ति हात पर्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । शुभकार्यको चर्चापनि चल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । रमणीय र सुखद् यात्राको योजना बन्ला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । पारिवारिक साथ र सहयोग मिल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) गरेको काममा ढिलासुस्ती हुनेछ दबाब र तनाव बढेको महसुस हुनेछ । पारिवारिक समस्या आइपर्ला । विचार गरेर निर्णय लिनु उचित होला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । घरमा अतिथीको आगमन हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आजको दिन प्रतिकूल समयछ, संयम रहनु होला । बोलीको विपरीत अर्थ लाग्न सक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने र प्रेममा मनमुटाव आउला । – ज्यो.प. नारायणप्रसाद दुलाल

नोबेल मेडिकल कलेजका ५५ स्वास्थ्यकर्मीद्वारा राजीनामा

काठमाडाैं । विराटनगरकाे नोबेल मेडिकल कलेजमा कार्यरत ५५ स्वास्थ्यकर्मीले सामूहिक राजीनामा दिएका छन् । कलेजका कर्मचारीले समयमा नै पारिश्रमिक नपाएकाे, पारिश्रमिक नियमित पाउनु पर्ने र महामारीमा काम गर्दा अतिरिक्त जोखिम भत्ता पाउनुपर्ने माग राखेका उनीहरूले मंगलबार सामूहिक राजीनामा दिएका हुन ।

तर व्यवस्थापनले माग पूरा नगर्ने बताएपछि सामूहिक राजीनामा दिएका हुन । नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले कर्मचारीले राजीनामा बुझाएको पुष्टि गरे । कर्मचारीले पाँच हजार तलब वृद्धि गर्न माग गरेको तर व्यवस्थापनले चार हजार मात्र वृद्धि गर्न सक्ने बताएको थियाे ।

साेमबार मृत्यु भएकी ७१ वर्षीया वृद्धामा कोरोना पुष्टि

काठमाडौं । सोमबार मृत्यु भएकी ७१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडाैं चावहिलको दीर्घायु गुरु अस्पतालमा भर्ना भएकी उनको सोमबारै मृत्यु भएको थियो ।

मंगलबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।